Logo
Logo

कसैको प्रेम प्रस्ताव स्वीकारेको छैन-दीपा सुहाङ, गायिका


- दृष्टि न्युज/संवाददाता


मोडलभन्दा कम छैनन् उनी । तर, उनको एउटै लक्ष्य छ, ‘कुसल गायिका’ बन्ने । नेपाली सांगीतिक क्षेत्रको उदाउँदो गायिका दीपा सुहाङ भन्छिन्, ‘मोडलिङमा रहर नभएको चाहिँ होइन, तर लक्ष्य गायनमै छ, त्यतातिर ध्यानै दिएकी छैन ।’ करिब ६ वर्षयता गीतसंगीत क्षेत्रमा संर्घषरत दीपाले दुई दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । तर, उनी अझैपनि आफूलाई सिकारु र ‘संघर्षरत गायिका’ मान्छिन् । ‘संगीत सिकेर कहिल्यै नसकिने रैछ’ अनुराग संगीत विद्यालयकी विद्यार्थीसमेत रहेकी दीपाले भनिन्, ‘सुरुका वर्षमा त फ्रस्टेशनको फिल समेत भयो, तर, अहिले बुझ्ने भएपछि केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ ।’ उनी ‘लोकपप शैलीका गीत गाउन रुचाउँछिन् । पाश्र्वगायनमा पनि उनको रुचि छ । ‘मेरो लक्ष्य नै गीतसंगीतमा समर्पित गरेकी छु’ दीपा भन्छिन्, ‘त्यसैले एकदिन पक्कै रहर र रुचिहरु पूरा गर्नेछु भन्ने सोचले अगाडि बढिरहेकी छु ।’ यिनै उदाउँदी गायिका दीपा सुहाङसँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज नयाँ कामे के गर्दै हुनुहुन्छ ?

गीतसंगीतमै व्यस्त छु । कलेक्शन एल्बमहरुमा गाउँदै आएकी छु । त्यसबाहेक संगीत पनि सिकिरहेकी छु ।

कार्यक्रमहरु कतिको गर्दै हुनुहुन्छ ?

अहिले खाशै कार्यक्रमहरु गरेकी छैन । केही समयपछि चाहिँ पुर्वमा चासोक तङनामका कार्यक्रमहरु छन् । त्यसकै तयारी पनि गर्दैछु ।

गीतसंगीत क्षेत्रमा लागेको कति भयो ?

म सानैदेखि गाउँथेँ । तर, गायिका नै बन्छु भनेर निरन्तर गाउन थालेको चाहिँ ६ वर्ष भयो । यो ६ वर्षमा पनि भर्खर सिक्दैछु ।

सानो हुँदा के गाउनुहुन्थ्यो ?

गीत गाउथेँ । अञ्जु पन्त मलाई मनपर्ने गायिका हुन् । म उहाँकै धेरैजसो गीतहरु गाउथेँ । मैले सानैमा गायिका बन्ने रहरसँगै लक्ष्य लिएकी थिएँ । त्यसैले मलाई मन पर्ने गीतहरु गुन्गुनाउँने गर्थेँ ।

गीतसंगीत रहर गरेजस्तै सजिलो छ र ?

नहुने रहेछ । सानोमा गायिका बन्छु भन्ने रहर र इच्छाले गायनमा लागेँ । त्यसपछि केही वर्ष गाह्रो भयो । सायद नबुझेर होला, मलाई एकपटक फ्रस्टेशनको फिलसमेत भयो । तर, अहिले बुझ्ने भएपछि केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ ।

त्यसो भए अहिले सजिलो लागिरहेको छ ?

त्यस्तो सजिलो त छैन । म अझै सिकिरहेकी छु । तर, गीतसंगीत भनेको सिकेर कहिल्यै नसकिने रहेछ । तैपनि केही गर्न सक्छु भन्ने हिम्मत पलाएको छ । म संघर्षरत छु । तर, खुसी छु ।

तपाइँको ‘सिग्नेचर’ गीत कुन हो ?

म लोकगीत गाएर आएकी हुँ । त्यसैले मलाई धेरैले पुर्वेली लोकगीतबाटै चिन्नुहुन्छ । मेरै यही सिग्नेचर गीत भन्नेचाहिँ छैन । आफ्नो समुदायमा भने भाषाभाषीका गीतबाट चिनिन्छु । पछिल्लो समय चर्चामा आएको गीतचाहिँ ‘वरको छायाँले’ हो ।

हिजोआज गायक/गायिकाहरु आफैँ मोडलिङ गर्न थालेका छन् । तपाइँको मोडलिङमा इच्छा छैन ?

रुचि र इच्छा छ । तर, मेरो लक्ष्य गीतसंगीतमै भएकाले त्यतातिर ध्यान दिन भ्याएकी छैन । अरु नभएपनि आफ्नै गीतको भिडियोमा चाहिँ मोडलिङ गर्ने सोच छ । अब चाँडै गर्छु होला ।

तपाइँलाई हेर्दा मोडलभन्दा कम देखिनुहुन्न । अफर आएको छैन ?

अहिलेसम्म मोडलिङकै लागि भनेर अफरचाहिँ आएको छैन । तर, साथीहरुले मोडलिङ गर्नु भनेर सल्लाहचाहिँ दिन्छन् । उहाँहरुकै सल्लाहले गर्दा आफ्नो गीतमा मोडलिङ गर्ने सोच बनाएकी हुँ ।

यहाँसम्म आइपुग्दा गीतसंगीत क्षेत्र कस्तो लागिरहेको छ ?

रमाइलै छ । संघर्षको दौरानमा जति नै गाह्रो भएपनि आफ्नो रहर र रुचि भएकाले रमाइलो नै लाग्दोरहेछ ।

प्रशंग, बदलौँ । यो मंसिर त्यतिकै जाने भयो होइन त ?

हाहा.., जाने नै भयो । म आफै पनि मंसिरमा जन्मेकी हुँ । त्यसैले मलाई मंसिरको त ख्यालै पो हुन्न ।

पालो त आफ्नै हो नि, होइन र ?

हो, दिदीले बिहे गरेपछि अब पालो मेरै हो । तर, त्यो पालोको साइत कहिले जुर्छ भन्ने थाहा छैन । त्यसका लागि समय नै आउनुपर्छ होला ।

प्रेम प्रस्ताव कतिको आउँछ ?

प्रेम प्रस्ताव आउँछ नि । नेपालमा भएकाहरु भन्दा बढी विदेशबाट बढी प्रस्ताव आउँछ । कतिले त तिमीलाई मनप¥यो, बिहे गरौँसम्म भन्छन् । तर, अहिलेसम्म कसैको प्रेम स्वीकारेकी छैन । यो मेरो करिअर बनाउने समय हो । त्यतातिर ध्यानै दिएकी छैन ।

प्रतिक्रिया दिनुहोस्