Logo
Logo

ड्रेस टु इम्प्रेस सिजन-८ : एकैसाथ चार जनाले जिते उपाधि



काठमाडौं । आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनका चार विद्यार्थीले उपाधि जितेका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार अबेर सम्पन्न ‘ड्रेस टु इम्प्रेस सिजन–८’मा १३३ जना डिजाइनिङका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

आयोजक आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनले दिएको चार वटा थिममा उनीहरुबीच प्रतिस्पर्धा भएको थियो । जसमा ‘बेष्ट आउट अफ वस्ट’ थिममा अन्जुमान बानो विजेता बनेकी छन् ।

आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनमा ६ महिने कोर्ष पूरा गरेका डिजाइनरबीच भएको उक्त प्रतिस्पर्धामा ‘फाइभ सिजन’ थिममा ममता राई र ‘फाइभ इलिमेन्ट’मा करुणा अर्याल विजेता बनेका छन् ।

अर्को थिम थियो, ‘बोल्ड एक्सेसरिज’, जुन थिममा दमायन्ती अधिकारीले तयार पारेकी थिइन् । उनी पनि विजेता बन्न सफल भएकी छन् । डिजाइनरका विद्यार्थीबीच हुने ‘ड्रेस टु इम्प्रेस’मा सदाझैँ यस पटकमा समूहगत प्रतिस्र्धा भएको थियो । डिजाइनिङ र मोडलिङको कम्बिनेशन गर्न आईआईएफटीले ‘ड्रेस टु इम्प्रेस’ आयोजना गर्दै आएको हो । जसमा डिजाइनर आफैंले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेका छन् ।

बरिष्ठ फोटो पत्रकार एवं गीतकार हरि गोपाल प्रधानको सभापतित्व तथा काठमाडौं युनिभर्सिटीका भ्वाइस चान्सलर डा. भोला थापाको प्रमुख आतिथ्यमा सम्पन्न ‘डे«स टु इम्प्रेस सिजन–८’का लागि कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, निभा श्रेष्ठ, महेश महर्जन, रमिला नेमकुल, रिया महर्जन, निशा श्रेष्ठ, पूर्वमिस नेपाल जेनिशा मोक्तान, कृष्ण तिमल्सिना र रुपेश प्रधान निर्णायक रहेका थिए ।

आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम हो । आईआईएफटीका विद्यार्थीको क्षमता अभिबृद्धिका लागि डिजाइनिङ प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ सुरुवात गरिएको प्रबन्धक निर्देशक शेर्पाले बताए ।

काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरिय कोर्ष अध्यापन गराउँदै आएको छ । अहिलेसम्म आईआईआएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेको शेर्पाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्