Logo
Logo

राजधानीमा ‘घरजम’को भव्य प्रिमियर


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १९ मंसिर । चलचित्र ‘घरजम’को भव्य समारोहबीच काठमाडौंमा प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मूभिजमा बिहीबार आयोजित प्रिमियर शोमा दर्शकको उल्लेखनीय उपस्थिति थियो । एकैसाथ दुई वटा पर्दाका गरिएको प्रिमियर शोमा १५ सयभन्दा बढीले चलचित्र हेरेको आयोजकले जनाएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारलगायतको अतिथ्यमा आयोजित प्रिमियर शोमा चलचित्रकर्मी र पत्रकारको पनि बाक्लो उपस्थिति थियो ।
मौसम ईम्बुङ लिम्बुद्वारा निर्र्देशित चलचित्र ‘घरजम’को यसअघि पुर्वका विभिन्न सिनेमा प्रिमियर शो गरिएको थियो । राजधानीमा भने पहिलोपटक शो गरिएको हो । ‘घरजम’ हेरेपछि दर्शकले सकरात्मक प्रतिक्रिया दिएका थिए । ‘चलचित्र धेरै राम्रो बनेको रहेछ’ गायक दिवश पयाँगूले भने, ‘कल्चरल भनिएपनि व्यवसायी चलचित्रभन्दा कम छैन ।’


प्रिमियरपछि व्यवस्थापक तथा चलचित्र प्रदर्शन संयोजक शैलेन्द्र थेबेले राजधानीका दर्शकले पनि ‘घरजम’ रुचाएको बताए । उनले भने, ‘पुर्वमा जसरी चलचित्र रुचाइएको थियो, यहाँ पनि रुचाइएको छ ।’ उनले एकैसाथ दुई वटा हलमा प्रिमियर गर्नु आफैमा सुखद भएको बताए ।


‘घरजम’मा पुर्वी नेपालको लिम्बू सदमुदाय तथा त्यहाँको जनजीवनलाई जस्तको तस्तै समेटिएको छ । चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, शैलेन्द्र थेबे, कुशल थलङ, सुष्मा खेवा लिम्बू, किशोर पन्धाक, सीता तुम्बापो पन्धाक, हेमराज अन्छङ्बो, बबिता फोम्बो, इशिका जबेगु, जीवन भट्टराई, भरतमणि पौडेललगायतको मुख्य अभिनय रहेको छ ।
रोमियो फिल्म्स् प्रालिको ब्यानरमा निर्मित ‘घरजम’मा किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापोको निर्माण तथा तेज मेन्याङबोको सहनिर्माण रहेको छ । चलचित्रमा मुख्य सहायक निर्देशक रवि शेर्मा, कोरियोग्राफर दिनेश माङ्मु, छायाँकन युवराज राई, शृँगार विनोद तामाङ र कास्टिङ डाइरेक्टर सिर्जना सुब्बा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्