Logo
Logo

चार बलात्कारीलाई ठाउँको ठाउँ इन्काउन्टर, पीडितका बाबुले दिए प्रहरीलाई बधाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० मंसिर (एजेन्सी) । भारतको हैदराबादस्थित तेलंगनामा चारजना बलात्कारीलाई ठाउँको ठाउँ गोली ठोकिएर (इक्काउन्टर) गरिएको छ । २७ वर्षे महिला डाक्टरलाई बलात्कारपछि हत्या गरेको मामलाका चारै आरोपीलाई पुलिसले ‘इन्काउन्टर’ गरेको हो । उनीहरुलाई महिला बलात्कार गरेकै ठाउँमा इन्काउन्टर गरिएको छ ।
शमशाबादका डिसीपी प्रकाश रेड्डीका अनुसार पुलिसले आरोपीलाई जुन ठाउँमा महिलालाई सामुहिक बलातकार गरी हत्या गरिएको थियो, त्यहीँ स्थानमा आरोपीमाथि इन्काउन्टर गरिएको छ । बलात्कारीले ती महिलालाई मट्टीतेल छर्केर जलाएका थिए । उनीहरुलाई उक्त स्थानमा लगेर घटना के –कसरी भएको थियो भनेर सोधपुछ गरिएको थियो । सो क्रममा आरोपीले पुलिसको हतियार खोसेर भाग्ने कोसिस गरेपछि आत्मरक्षाका लागि पुलिसले जवाफी फायरिङ गर्दा चारैजना आरोपी मारिएको बताइएको छ ।
साइबराबादका पुलिस कमिश्नर वीसी सज्जनरले चारै आरोपी शुक्रबार बिहानै ३ देखि ६ बजेको बीचमा शादनगरस्थित चतनपल्लीमा इन्काउन्टरमा मारिएको जानकारी दिएका छन् । एक वरिष्ठ पुलिस अधिकारीले घटनामा दुई पुलिसकर्मी पनि घाइते भएको बताए ।
हैदराबादमा २७ नोभेम्बरमा स्कूटरको टायर पंक्चर भएपछि टोल प्लासानजिकै मद्दतको प्रतिक्षा गरिरहेकी २७ वर्षे पशुचिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो । डाक्टरको जलेको शव घटनाको भोलिपल्ट बिहान भेटिएको थियो । पुलिसले यो मामलामा चार आरोपीलाई पक्राउ गरेको थियो । उनीहरुलाई १४औँ दिनमा उक्त स्थानमा सोधपुछका लागि लिएको थियो ।
पक्राउ पर्नेमा मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु थिए । आरिफको उमेर २६ वर्ष थियो भने अन्य आरोपी २० वर्षका थिए । यी सबै ट्रक चालक र सरसफाइकर्मी थिए ।
उनीहरुको इन्काउन्टरपछि पीडितका बुवाले खुसी व्यक्त गर्दै भनेका छन्, ‘तेलंगना सरकार, पुलिस र जो व्यक्तिले मलाई सहयोग गरे, उनीहरुलाई बधाई ।’

प्रतिक्रिया दिनुहोस्