Logo
Logo

‘घरजम’का गोगुने भन्छन्, ‘करैकरले कलाकार भइयो’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ मंसिर । कलाकारिता क्षेत्र पनि अजिब नै छ । यहाँ कुनै रहरले कलाकार बनेका छन् भने कोही करैले । यस्तै, साथीभाई र अग्रजको ‘कर’ले कलाकार बनेका छन्, शैलेन्द्र थेबे । तर, करैकरले भएपनि उनी एकपछि अर्को म्युजिक भिडियो र फिल्ममा देखिन व्यस्त हुन थालेका छन् ।


‘मेरो उद्देश्य त लेक्चर बन्ने थियो’ कलाकारिताबारे प्रशंगमा शैलेन्द्रले भने, ‘म लेक्चर पनि हुँ । तर अहिले अचानक कलाकारितातिर लागियो ।’ मौसम इम्बुङ निर्देशित नेपाली फिल्म ‘घरजम’मा गोगुनेको भूमिका देखिएका शैलेन्द्रले भने, ‘साथीभाई र अग्रजहरुले कर नगरेको भए म यो क्षेत्रमा हुन्न थिएँ ।’
करै करमा उनले दुई दर्जनभन्दा बढी म्युजिक भिडियो र थुपै्र नाटकहरुमा अभिनय गर्न भ्याइसकेका छन् । तर, कतिपय रहर हुनेहरुले समेत काम पाउन सकेका छैनन् । यस सन्दर्भमा शैलेन्द्र भाग्यमानी मानिन्छन् ।


पछिल्लो समय उनी कलाकारिताप्रति केही सकरात्मक देखिन थालेका छन् । यो क्षेत्रमा नआएसम्म उनी ‘कलाकारिता पनि पेसा हुन्छ र ?’ भन्ने धारणा राख्थे । शैलेन्द्रले भने, ‘मलाई त जतिसक्यो, पढ्नुपर्छ भन्नेमात्र लाग्थ्यो । र, कलाकारिताले जीवनयापन हुँदैन भन्ने सोच्थेँ ।’ त्यही सोचकै कारण उनी ‘लेक्चर’सम्म भए । तर, उनी लेक्चर पनि हुन् भन्नेचाहिँ कमैले मात्र थाहा छ । शैलेन्द्रले केही समय राजधानीकै एक कलेजमा लेक्चर गरेका थिए । तर, अहिले उनी लेक्चरको जागिर छाडेर कलाकारितामै व्यस्त हुन थालेका छन् ।
कलाकारिता र मोडलिङका लागि धमाधम प्रस्ताव आउन थालेपछि उनले अभिनयको समेत कोर्ष गरे । यस प्रशंगमा शैलेन्द्रले भने, ‘काम गरेपछि राम्रै गरौँ भनेर सिकेको हुँ ।’ आफ्नो अभिनयप्रति आफैलाई फितलो लागेपछि अभिनय सिकेका शैलेन्द्रले त्यसको फाइदा फिल्म ‘घरजम’बाट लिएका छन् ।


फिल्म ‘घरजम’मा उनको गोगुनेको भूमिका दम्दार छ । उनको अभिनयमा कतै खोट पाइँदैन । फिल्म ‘घरजम’को उनी आर्ट डाइरेक्टर समेत हुन् । साथै, अल नेपाल स्पेशल स्क्रिनिङको संयोजक समेत हुन् ।
पछिल्लो समय उनलाई हिरोका लागि समेत अफर आउन थालेको छ । तर, शैलेन्द्र फिल्ममा भन्दा नाटकमा अभिनय गर्न रुचाउँछन् । यसअघि जति पनि नाटक गरे, त्यसबाट सकरात्मक प्रतिक्रिया पाएका शैलेन्द्र भन्छन्, ‘नाटकमा अभिनय गर्नुको मज्जा बेग्लै हुन्छ । नाटकमा रियालिटी पाइन्छ ।’ अहिलेसम्म गरेका नाटकमध्ये उनलाई ‘तुम्बी बाजे’बाट सन्तुष्ट छन् । उक्त नाटकमा उनले डिएसपीको भूमिका निर्वाह गरेका थिए ।
शैलेन्द्र कलाकारितासँगै सामाजिक सेवामा पनि सक्रिय छन् । उनी ‘याक्थुङ हाक्पारे पालम सयङ’को महासचिव हुन् । उक्त संस्थामार्फत उनी समाजसेवा गर्छन् । उक्त संस्थाले लिम्बू कला, संस्कृति तथा भेषभूषाको प्रवद्र्धन गर्नुका साथै दीघरोगीहरुका लागि उपचारमा सहयोग गर्न आर्थिक संकलनको संयोजत्व गर्दै आएको छ ।
सयङ स्थापना भएपछि लिम्बू समुदायको कला, संस्कृतिको प्रवद्र्धन गर्ने हेतुले ‘वेस्मा लाङ्योक’ (फरक पाइला) नामक वार्षिक कार्यक्रम गर्दै आएको छ । हिजोआज उनी उक्त कार्यक्रमको तेस्रो संस्करण ‘वेस्मा लाङ्योक–३’को तयारीमा समेत जुटेका छन् । उनले यसपटकदेखि यो कार्यक्रम धरानमा हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्