Logo
Logo

नयाँदिल्लीमा भीषण आगलागी : मृत्यु हुनेको संख्या ४३ पुग्यो


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, २२ मंसिर (एएफपी) । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा भएको आगलागीको घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । आज बिहान एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
सहरका साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो नियन्त्रण गर्न कठिन भएर धेरैतिर फैलिएको बताइएको छ ।
‘घटनास्थलबाट हामीले कम्तीमा ५० जनालाई उद्धार गरेका छौँ’ नयाँदिल्लीका प्रहरी उपप्रमुख सुनिल चौधरीले भने, ‘उद्योगमा काम गर्ने मजदुरहरु सुतिरहेका बेला चार पाँच तले भवनमा आगलागी भएको थियो । खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको छ ।’
नयाँदिल्लीका एक जना बरिष्ठ प्रहरी अधिकारीले आगलागी भएको भवनमा कम्तीमा ५८ जना रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । अग्नि नियन्त्रकहरुले आगलागी नियन्त्रण गर्न निकै कठिनाई भएको बताएका छन् । आगलागी भएको भवनमा स्कुले विद्यार्थीका झोला र प्याकेजिङ गर्ने सामग्री राखिएका थिए ।
उद्धारकर्ताहरुले आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको जनाएका छन् । उद्धार गरिएका सबैलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्