Logo
Logo

लुटेरा–प्रहरी मिलेपछि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ मंसिर । ठूला व्यक्तिहरु नै पक्राउ परेपछि पछिल्लो समय देशमा अपराध गर्नेहरु कोही पनि कानूनबाट जोगिन सक्दैनन् भन्न थालिएको छ । तर, सेटिङ मिलाउन सक्नेहरुलाई कुनै समस्या छैन । राजधानीमा लुटपाटको संगठित गिरोह चलाउँदै आएको एक समूह प्रहरी र अदालतमा सेटिङ मिलाएर सहजै छुटेको छ ।

गत १५ कात्तिकमा नेपाल घुम्न आएका भारतीय व्यवसायीहरु लुट्ने समूह महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा सेटिङ मिलाएर छुटेको हो । गिरोहका नाइके दिलबहादुरसहित सात जना ५० हजार धरौटीमा छुटेका छन् । एक सहयोगी आशिष लामालाई भने पुर्पक्षमा पठाइएको छ ।

गत १५ कात्तिकमा ५ जना भारतीय व्यवसायी एक साताका लागि काठमाडौं घुम्न आएका थिए । उनीहरु आफ्नै गाडी लिएर आएका थिए । जसमध्ये तीन जना ‘स्पा’का लागि ठमेल बजारमा निस्किए । राम्रो ठाउँमा लैजाने भन्दै एक समूहले उनीहरुलाई ट्याक्सीमा राखी उत्तरढोकास्थित कोरला रेष्टुरेन्टमा लगेर बन्धक बनाइ लुटपाट गरेको थियो । यसका साथै केही नखाए पनि रेस्टुरेन्टको ३२ हजार बिल तिर्न लगाएका थिए । पाँच घन्टासम्म बन्धक बनाएर डेढ लाख रूपैयाँ नगद, मोबाइल र एटिएम कार्ड लुटेका थिए । कुटपिटबाट एक जना भारतीयको टाउकोमा चोटसमेत लागेको थियो । उनीहरूलाई खुकुरीसमेत देखाएर धम्काइएको थियो ।

लुटेपछि २४ घन्टाभित्र नेपाल नछाडे ज्यान नबच्ने भन्दै धम्काएपछि भोलिपल्टै उनीहरु भागे । दिल्ली पुगेर आफ्ना नेपाली साथी सञ्जीव सिंहलाई त्यसबारे फोन गरेर बताएका थिए । सिंहले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई घटनाबारे जानकारी गराए । सुवेदीले अनुसन्धानमा प्रहरी खटाएपछि उनीहरु पक्राउ परेका हुन् ।

रेस्टुरेन्टको गोप्य कोठामा लगेपछि अर्धनग्न युवतीसँग राख्ने र युवतीलाई बलात्कार प्रयास गरेको भन्दै प्रहरी लगाएर फसाइदिने भनेर समेत उनीहरुले लुटेका थिए । गिरोहकै कतिपय सदस्यले प्रहरीको नाटकसमेत गर्दथे । यही धन्दाबाट सो गिरोहले करोडौं कमाइसकेको खुलेको छ । यो समूहले दर्जनौं पर्यटकलाई यसरी लुटिसकेको छ । जसकारण पर्यटन क्षेत्र नै बदनाम भइसकेको छ ।

तर, प्रहरीले मुद्दा कमजोर बनाइदियो । ७ जना भन्दा धेरै मिलेको भए पनि संगठित अपराध मुद्दा चलाइएन । अपहरण गरेकोमा अपहरण मुद्दा पनि चलेन । प्रमाणहरुसमेत कमजोर बनाइयो । त्यतिमात्र होइन पाँच दिनमै बयान सकेर दुई सातामै उनीहरुको मुद्दा बुझाइएको थियो । डिएसपी सन्तोषसिंह राठौरले नै सो गिरोहसँग गोप्य डिल गरेको स्रोत बताउँछ । राठौर क्षमताा कारण नभई प्रचण्डको पिएसओ बसेका आधारमा सोह्रखुट्टे वृत्तमा इन्चार्ज हुने मौका पाएका थिए ।

गिरोहका नाइके दिल लामा कांग्रेसका महासमिति सदस्य हुन् । यसरी अपराधिक गतिविधिबाट कमाएको पैसा नै खर्च गरेर उनी छुटेका स्रोत बताउँछ । यस्तै पैसा खर्च गरेरै उनी महासमिति सदस्यसमेत बनेका हुन् । छुटेपछि उनले पुरानै धन्दा सुरु गरिसकेका छन् । गिरोहसँग प्रहरी मिल्दा ठमेलमा यस्ता लुटपाटका घटना बढ्ने पर्यटन व्यवसायीको चिन्ता छ ।

प्रहरीमा उजुरी दिनलाई प्लेनको टिकट काटेर दिल्लीबाट काठमाडौं आएका पीडित भारतीयहरु समेत उनीहरु छुटेको थाहा पाएपछि दुःखी भएका छन् । यसअघि यसरी बंगलादेशी पर्यटकहरु ठमेलमा लुटिएकोमा प्रहरीले आरोपीहरुलाई पक्राउ गर्न चासो नै दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्