Logo
Logo

नेपाल ट्रष्टको कम्प्लेक्समा तस्करको लगानी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ मंसिर । नेपाल ट्रष्टको स्वामित्वमा रहेको नारायणहिटी दरबारअगाडिको १ रोपनी १४ आना जग्गा यती समूहअन्तर्गतको थामसेर्कु प्रालिले ३० बर्षका लागि लिजमा लिएको हो । उक्त जग्गामा भव्य ब्यापारिक कम्प्लेक्स निर्माण भइसकेको छ । उक्त कम्प्लेक्स निर्माण थामसेर्कुले नगरी अवैध हुन्डीको कारोबार गर्ने गोविन्द सरिया, ताहिर शाह र बच्चु पौडेललाई दिएको खुलेको हो । थमसेर्कुले जग्गा लिजमा लिएर कम्प्लेक्स बनाउन सरिया, शाह र पौडेललाई दिएको स्रोत बताउँछ । थामसेर्कुका प्रभावशाली संचालक आङछिरिङ शेर्पाको निधनपछि उनका दाजु लाक्पासोनाम शेर्पाले उक्त कम्प्लेक्स निर्माणको जिम्मा सरियाहरुलाई दिएका हुन् । पौडेलमार्फत् उक्त कम्प्लेक्स निर्माणमा विष्णु खत्रीले पनि लगानी गरेका छन् । कम्प्लेक्सको केही भाग थामसेर्कुले प्रयोग गर्न पाउनेछ । अरु सबै सरिया र पौडेलको समूहले उपयोग गर्नेगरी निर्माण गरिएको बुझिएको छ ।

बच्चु पौडेल तातोपानी नाका सुचारु हुँदा त्यहाँबाट रक्तचन्दनदेखि सुन तस्करी गर्थे । पछिल्लो समयमा उनी गोविन्द सरियासँग मिलेर हुन्डीको कारोबारमा रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार न्यूरोडमा रहेको अनिता लामा अध्यक्ष र पौडेल कोषाध्यक्ष रहेको जयरत्न बचत तथा ऋण सहकारी संस्थामार्फत् हुन्डीको कारोबार हुने गरेको छ । गोविन्द सरिया नेपालमा हुन्डी कारोबारका बादशाह हुन् । उनको नेपाल प्रहरीका उच्चपदस्थहरुसँग कनेक्सन भएकाले उनको कारोबार निर्वाध हुँदैआएको छ । अपराध महाशाखा र काठमाडौं परिसरले सानातिना हुन्डी कारोबारीलाई पक्राउ गरेर काम देखाए पनि सरियालाई छुन समेत सक्दैनन् । नेपाल प्रहरीका पूर्व आइजीपी उपेन्द्रकान्त अर्याल, एआइजी विज्ञानराज शर्मा, देवेन्द्र सुवेदीको पैसा समेत उनले मिटरब्याजमा चलाउने गरेका थिए । ११ बर्षअघि हिमाल अस्पतालअगाडिबाट उनको ५७ लाख रुपैयाँ लुटियो, तर उनले प्रहरीमा जाहेरी दिएनन् । हुन्डीको रकम भएकाले स्रोत खुलाउन नसक्ने भएपछि उनले जाहेरी नै दिएका थिएन् । तिनै सरिया र पौडेल मिलेर सहकारीमार्फत् हुन्डीको कारोबार गर्दैआएका छन् । अपराध अनुसन्धान महाशाखा र काठमाडौं परिसरका प्रहरीलाई थाहा भए पनि लाभ लिएर उनीहरुको हुन्डी कारोबारमा दख्खल नदिई संरक्षण गर्दैआएका छन् ।

बच्चु पौडेल जुन पार्टी सत्तामा आयो, सोही पार्टीको समर्थक हुने गरेका छन् । पछिल्लो समयमा उनी नेकपा निकट भएका छन् । नेपाली कांग्रेस सत्तामा हुँदा विष्णु खत्रीसँग साझेदारीमा ब्यापार गर्दैआएका पौडेलले अहिले उनलाई नेपाल ट्रष्टको जग्गामा निर्मित कम्प्लेक्समा पनि लगानी गर्न लगाएका छन् । आफू भने नेकपाको कार्यकर्ताका रुपमा नेताका घर घर धाउने गरेका छन् । नेकपा निकट अनेरास्ववियुको राजनीति गरेकी अनिता लामालाई उनले सहकारीको अध्यक्ष बनाएका छन् । बानेश्वरमा सञ्चालित एक रेष्टुरेन्टमा पनि उनले लगानी गरेका छन् । जुन रेष्टुरेन्टमा अनेरास्ववियुका केही नेतृसमेत जोडिएका छन् ।

नेपाल ट्रष्टले नारायणहिटी अगाडिको उक्त जग्गा कौडीको मूल्यमा थामसेर्कुलाई ३० बर्षका लागि लिजमा दिएको थियो । महालेखा परीक्षकको ५५औं प्रतिवेदनले यो जग्गा लिज दिंदा कानून मिचिएको र नेपाल सरकारलाई करीब रु. ५ अर्ब नोक्सानीमा पारिएको उल्लेख गरेको छ ।

ट्रष्टका एक सचिव नेतृत्वको आर्थिक प्रस्ताव मूल्यांकन समितिले रु. ६ अर्ब ४५ करोड ६६ लाखमा उक्त जग्गा भाडामा दिन दिएको सुझाव विपरीत थामसेर्कुलाई रु.१ अर्ब ५९ करोड ४० लाखमा २०७४ जेठमा भाडामा दिइएको थियो । जुन बेला नेपाल ट्रष्टका सचिव अर्जुनकुमार कार्की थिए । उनले नै उक्त जग्गा कौडीको मूल्यमा थामसेर्कुलाई दिएका थिए । तर अख्तियारदेखि सबै निकायले यस्तो नांगो अनियमिततामा पनि छानबिन गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्