Logo
Logo

चेक रिपब्लिक र स्लोभाकियामा देखाइयो नेपाली लोकसंस्कृति



काठमाडौं । ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालको तर्फबाट प्रस्तुति दिएर फर्किएको छ ।

लामो समयदेखि साँस्कृतिक आदान–प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ले यस पटक चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा प्रस्तुति दिएर फर्किएको हो ।

चेक रिपब्लिकको प्ल्जेनमा जुन ७ देखि ११ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ७ राष्ट्र, स्लोभाकियाको मियावा शहरमा जुन १३ देखि १९ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ८ राष्ट्र सहभागी थिए ।

नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र) को नेतृत्वमा सहभागी टोलीमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका निर्देशक सीतल आचार्यको निर्देशन रहेको थियो । उक्त कार्यक्रमका लागि वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीको नृत्य निर्देशन र संगीत संयोजन रामबहादुर भुजेलको रहेको थियो ।

टोलीले नेपालको परम्परागत लोकसंस्कृति झल्काउँने विभिन्न नृत्य प्रस्तुत गरेको थियो । उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, भैरब काली, धिमाल, कुमारी, लाखे, सोरठीलगायत दर्जनौँ नृत्यहरू प्रस्तुत गरिएको ग्रुपका प्रमुख कोइरालाले बताए ।

मेलामा एभरेष्ट नेपाल कल्चरल गु्रपका प्रमुख कोइराला, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्यतर्फ नृत्य निर्देशक शम्भु शाही, कृष्ण रेउले, उत्तम शर्मा, भवानी कोइराला, चरिया गुरु चन्द्रमान मुनिकार प्रमिला रिजाल, सपना महर्जन, गौरी ढकाल कोइराला, अनिशा श्रेष्ठ, चाहना राना मगर बाद्यवादन तथा गायक गायिकातर्फ वरिष्ठ बाँसुरीबादक रामबहादुर भुजेल, वरिष्ठ वाध्यबादक धनेश्वर तिवारी, वरिष्ठ लोक गायक रामप्रसाद पाण्डे, गायिका रीता बुढाथोकी भुजेल तथा प्रबन्धक डेकप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।

स्लोभाकियामा भएको मेलाको उद्घाटन नेपालको चरिया नृत्य भैरवकालीबाट भएको थियो भने समापन पनि नेपाली चरिया नृत्य कुमारीबाट भएको थियो । सोही अवसरमा समुहका प्रमुख आरसी कोइरालाले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावामा सम्बन्धित नगरपालिकाका प्रमुखहरू, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न सकिने सम्भावना र यस सम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्