Logo

प्रधानमन्त्री जोनसनलाई बहुमत, बेलायत इयूबाट बाहिरिने निश्चित


Published On : 13 December, 2019

 

लण्डन, २७ मंसिर (एजेन्सी)  । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गरसँगै युरेपेली संघ (इयु)बाट बेलायत बाहिरने निश्चित भएको छ ।
विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सरकारलाई अर्को महिना बेलायतलाई ईयूबाट बाहिर निकाल्न ‘शक्तिशाली नयाँ जनादेश’ प्राप्त भएकामा खुशी व्यक्त गरे । उनले अब तोकिएकै मिति अर्थात् आगामी जनवरी ३१ मा बेलायत इयूबाट बाहिरिन्छ र कुनै ‘हुन्छ, हुन्न’ भन्ने द्विविधा नभएको बताए ।
प्रधानमन्त्री जोनसनको दल कन्जरभेटिभ्स पार्टीको यस पटकको विजय ऐतिहासिक भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसनलाई चुनावमा विजयी भएकामा बधाई दिँदै बेलायतसँग अमेरिकाले व्यापक स्तरको व्यापार सम्झौता गर्ने बताए ।
बीबीसीका अनुसार हाउस अफ कमन्सका ६५० स्थानमध्ये घोषणा गरिएका ६०० स्थानमा जोनसनको कन्जरभेटिभ्स पार्टीले ३२६ स्थानमा विजय प्राप्त गरिसकेको छ । बिबिसीले मुख्य विपक्षी लेबर पार्टीले ५५ देखि १९७ स्थान गुमाएको छ ।
चुनावपछि गरिएका मतसर्वेक्षणमा सन् १९८० को दशकमा तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरले बहुमत हासिल गरेयता पहिलोपटक कन्जरभेटिभ्सले संसदमा सबैभन्दा ठूलो बहुमत प्राप्त गर्ने प्रक्षेपण सार्वजनिक गरेका थिए ।
चुनावी प्रारम्भिक नतिजासँगै बेलायती मुद्रा पाउण्ड स्टर्टिङको मूल्य डलरको तुलनामा दुई प्रतिशतले बढेको थियो । बेलायतको भविष्यलाई लिएर वर्षौंदेखिको राजनीतिक गतिरोध जोनसनको विजयसँगै अन्त्य हुने आमजनताले अपेक्षा गरेका छन् । धेरै सांसदको समर्थन प्राप्त भइसकेकाले प्रधानमन्त्री जोनसनले ब्रसेल्ससँग ब्रेक्जिट सम्झौताका सन्दर्भमा यसअघि तोकिएको आगामी जनवरी १ को समयावधिभित्रै बेलायत इयूबाट अलग्ग हुनेछ ।
सम्झौताको अनुमोदनले लगभग पाँच दशकको ईयू–बेलायत एकीकरणको औपचारिक रुपमा अन्त्य हुनेछ । यद्यपि दुबै पक्षले अझै पनि नयाँ व्यापार र सुरक्षा सम्झौता गर्नुपर्ने आवश्यकता छ ।
फ्रान्सका युरोपेली मामिला मन्त्री एमेली डी मोन्टचेलिनले बेलायतमा जोनसनको पक्षमा ‘स्पष्ट बहुमत’ प्राप्त भएकामा त्यसलाई स्वागत गरेका छन् । उनी बेलायती नतिजालाई स्वागत गर्ने पहिलो युरोपेली नेता हुन् ।
पश्चिमी लन्डनमा पुनः सांसदको रूपमा छनौट भएपछि बोल्दै जोनसनले यस पटक जनताले ब्रेक्जिटको पक्षमा शक्तिशाली नयाँ जनादेश दिएको बताए । ‘ब्रेक्जिट मात्र होइन, यस देशलाई एकजुट गर्न र देशलाई अगाडि बढाउनेतर्फ यो जनमत लक्षित छ’ उनले भने ।
सांसदका रुपमा १०औँ पटक विजयी भएका मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले चुनावमा हार स्वीकारेका छन् । उनले यो नतिजा असाध्यै निराशाजनक रहेको पनि बताए । उनले आफूले पार्टीको नेता पदबाट चाँडै राजिनामा गर्ने बताउँदै अर्को चुनावमा आफूले पार्टीको नेतृत्व नगर्ने स्पष्ट पारे । बेलायतमा अब अर्को संसदीय निर्वाचन सन् २०२४ मा हुनेछ ।
अर्को ठूलो अप्ठ्यारोमा ब्रेक्जिट विरोधी लिबरल डेमोक्रेट्सका नेता जो स्विन्सनमाथि आइपरेको छ । उनी स्कटिस नेसनल पार्टीका उम्मेदवारसँग पश्चिमी स्कटल्याण्डबाट पराजित भएका छन् । केही हप्ता अघिदेखि नै चुनावी मतसर्वेक्षणमा कन्जरभेटिभ्सहरु अगाडि थिए तर उनीहरूले यति ठूलो अन्तरमा चुनाव जित्ने अड्कल कमैले मात्र गरेका थिए । यो नतिजा निकै अप्रत्याशित रहेको छ ।
पार्टीले उत्तरी इङ्ल्याण्ड र वेल्समा चुनावी प्रचारलाई तिब्र बनाएका थिए किनभने यहाँ परम्परागत रुपमै लेबर पार्टीको वर्षौंदेखि बर्चश्व रहिआएको थियो । तर यसपटक यहाँका मतदाताले लेबर पार्टीलाई रुचाएनन्, र कन्जरभेटिभ्स पार्टीका उम्मेदवारलाई मतदान गरे । एउटा मतसर्वेक्षणले कन्जरभेटिभ्सले ८६ स्थान थप जित्ने र मार्गरेट थ्याचरपछि पहिलोपटक बहुमत ल्याउने प्रक्षेपण गरेको थियो ।
समाजवादी विचारधाराका नेता कोर्बिनको नेतृत्वको लेबर पार्टीले १९१ स्थान मात्र जित्ने पूर्वानुमान गरिएका थिए । लेबर पार्टीका लागि यो नतिजा सन् १९३५ पछि सबैभन्दा खराब हुने थियो । कोर्बियनले ब्रेक्जिटका सन्दर्भमा दोस्रो जनमत संग्रह गर्नुपर्ने धारणा अघि सार्दै आउनुभएको थियो । उहाँको विचारमा आधाभन्दा बढी जनता अझै पनि ईयुकै पक्षमा रहनेछन् ।
तर उनले लेबरको अभियानलाई आर्थिक परिवर्तनका कार्यक्रममा बढी केन्द्रित गरेका थिए । जसमा केही प्रमुख उद्योगहरूको पुनः राष्ट्रियकरण गर्ने कुरा समावेश थियो । तर यी आश्वासनले मतदाताहरूलाई लोभ्याउन सकेन । शुक्रबार बिहान समर्थकहरुलाई सम्बोधन गर्दै कोर्बिनले आफ्नो चुनावी घोषणापत्रको पक्षलाई बचाउ गर्दै चुनावी अभियानका क्रममा आफ्ना नीतिहरू ‘अत्यधिक लोकप्रिय’ रहेको दाबी गरे । तर उनले ब्रेक्जिटले बेलायती जनता र दलहरुमाझ ध्रुवीकरण र विभाजित बहस निम्त्याएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्