Logo
Logo

मण्डला थिएटरमा ‘कोराघाट’ र ‘हिउँभन्दा चिसो’



काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’को मञ्चन भइरहेको छ । पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त अभिनेता भोलाराज सापकोटा ५ वर्षपछि सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘हिउँभन्दा चिसो’मार्फत रङ्गमञ्चमा प्रस्तुत भएका छन् ।

‘कोराघाट’

‘चलचित्र र अन्य कामलाई मिलाएर नाटकघरमा प्रस्तुत भएको छु । आज र भोलि भन्दै छ वर्ष बितिसकेछ । समय मिलाएर नै यसपटक अभिनय गरेको हुँ’, अभिनेता सापकोटाले भने, ‘केही मञ्चनमा निर्देशन गरे पनि प्राप्त सुझावका आधारमा कलाकार बनेको हुँ । यहाँबाट फेरि केही सिकेर फर्किंने छु ।’

थिएटरबाट नै अभिनयको सुरुआत गरेर भारतीय चलचित्र ‘बर्फी’ मा अभिनय गरिसकेका अभिनेता सापकोटाले रङ्गमञ्च आफ्ना लागि अभिनयको ऐना रहेको बताए । उनले भने, ‘यहाँ काम गर्दा आफूलाई चिन्न र बुझ्न पाइन्छ । व्यावसायिक दबाबभन्दा पर रहेर काम गर्दाको आनन्द छुट्टै छ ।’

निर्देशक खनालले तीन पात्रको भेट भएपछिको कथा नाटकमा प्रस्तुत गरिएको जानकारी दिए । ‘तीन पात्र मात्र नाटकमा छन् । उनीहरूकै यात्रा र त्यहाँ निम्तिने घटना क्रममा नाटक आधारित छ’ उनले भने ।

असार ८ देखि साउन १४ गतेसम्म मञ्चन हुने नाटकमा अभिनेता सापकोटासँगै रेणु योगी र गोविन्द सुनारले अभिनय गरिरहेका छन् ।

त्यस्तै, मण्डला नाटकघरकै अभिनय प्रशिक्षण कार्यक्रम ‘थिएटर ल्याब’को ११औँ ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको ‘कोराघाट’ कुमार नगरकोटीले लेखेका छन् । कोराघाट नाटकको कथा ‘कोराघाटका कियापुत्रीहरू’ मा आधारित छ । कमलमणि नेपालले निर्देशन गरेको यो नाटक असार २१ गतेसम्म मञ्चन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्