Logo
Logo

नाम मात्रको धान दिवस




नेपालीमा आहान नै छ– नमरी स्वर्ग देखिँदैन अर्थात् आफैँले नभोगी यथार्थ थाह हुन्न । मानिसको जीवनमा भोगाइ र अनुभव आ–आफ्नै हुन्छ । ठाउँ र परिवेशले फरक पार्छ । गाउँ र सहरको भोगाइ पनि भिन्न हुन्छ । यी दुवै ठाउँका भोगाइ र अनुभव लिनेमध्ये म पनि एक हुँ ।

गाउँमा परिवारका सबै सदस्य कृषिमा आवद्ध थिए । खेतबारीमा मौसमअनुसार धान, गहुँ, मकै, कोदो आदि फलाइन्थ्यो । करेसाबारीमा थरिथरिका सागपात, गोलभेँडा, धनियाँ, लसुन, प्याज, आलु तरकारी । गोठभरी गाईभैँसी । आँगनमा मकैको थाँग्रा । भकारीभरि धान । बुइँगलमा कोदोको रास । खाद्यवस्तु केही किन्नु पर्दैन थियो । सबथोक खेतबारीमै उब्जनी हुन्थ्यो ।

अहिले कृषकका लागि अति विशिष्ट समय हो । अर्थात ‘मानो रोपेर मुरी उब्जाउने समय’ हो यो । असारमा मानो रोपेर मंसिरमा मुरी भित्र्याउनुपर्छ भन्ने मान्यता छ । वर्षभरका छाक जुटाउन सूर्यले भुइँमा पाइला नटेक्दै खेतबारीमा पुग्नुपर्ने बाध्यता । र, झ्याउँकिरीले गीत नगाएसम्म मेलापातमै, घर फर्कनै नपाइने ।

सहर भासिएको ठ्याक्कै एक दशक पुगेछ । मानो रोपेर मुरी उब्जाएको अर्थात् रोपाइँ नगरेको पनि त्यति नै भयो । तर, भुलेको छैन रोपाइँ । खेतका गह्रा, आली, कोदालो, हलोजुवा, अनौं, सोइला, हल्लुँडो, फेउरी सबै याद छ ।

समाजिक सञ्जालका भित्ता ‘ह्यापी असार १५’ले भरिन्छ । छरपस्ट हुन्छ, दही–चिउराका तस्बिर । एकछिन रोपाइँ गर्नेलाई कति आनन्द ! हुल बाँधेर गयो, जीउभरि हिलो दल्यो । निधारमा धान रोप्यो ! केही थान सेल्फी हान्यो । दुई–चार टिकटक बनायो । दही–चिउरा खायो । क्या रमाइलो !

मस्तिष्कमै गडेको छ चाम्रे । गुन्द्रुक र गोलभेडाको अचार । आलुको सब्जी । फर्सीको मुन्टा । मकैबारीको काँक्रो । ताजै छ– काँधमा हलो र जुवा बोकेर गोरुलाई पछ्याउँदै हिँडेका ती दिन । बिहानदेखि बेलुकासम्म अनौँ समातेर ह..ह.. भन्दै खेतका चार कुना घुमेको ।

हिलोले खाएका खुट्टाका कापहरू, उमालेको जस्तै खेतमा जमेको पानी । हिलाउँदा पानी नपुगेर आकाश हेर्नुको पीडा । मकैका ढोडले काटेका पाइताला । ठेस लागेर उक्किएको खुट्टाका औँलाका नङ । छिमेकीसँगको अर्मपर्म ।

आली लगाउँदा–लगाउँदै कोदालीको बिँडजस्तै भएको डाढ ! आलीमा बसेर थकान मार्दाको मज्जा । कान्लामा ढाँड सोझाउँदको आनन्द । रोपाइँ गर्न रातभर कुलो धाउँदाको दुःख । कवि दैवज्ञराज न्यौपानेको भनेजस्तै थियो– नगरी काम पुग्दैन खान साँझ र बिहान ।

अहिले पनि त्यो रोपाइँ ताजै छ । यादहरूको सँगालो बनेको छ । कुनैबेला दिनभरको खुशी राति लुटिन्थ्यो । दिनभरि रोप्यो राति पानीले बगाइदिन्थ्यो । खेतका गह्राहरूमा भत्किन्थ्यो । छङ्छङ् बगेको वर्षे भेल । खोल्साखाल्सीको दादागिरी ! पक्कै ती कुनै रमाइलो विषय थिएन । र, हुँदैन पनि ।

एक हप्तासम्मको सेड्युल हुन्थ्यो । कहिलेसम्म गहिरी खेत सक्ने । डाँडा खेत कहिलेदेखि थाल्ने । आज फलानाको मेला । भोलि फलानाको, पर्सि फलानाको । रमाइलोमा भुलिने छुटै हुँदैन थियो । मानो रोपेर मुरी उब्जाउनै पथ्र्यो ! वर्षभरि पुग्ने धान रोप्नै पथ्र्यो ।

यो त भयो भोगाइका कुरा, अब देखाइने कुरा गरौँ ।

अहिले किसान अभिप्रेरित राष्ट्रिय धान दिवस मनाउने चलन छ । ०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । हुनेखानेलाई यो दिवस मज्जा लाग्छ । ३६४ दिन हिलोले छुन्छ कि भनेर भाग्नेहरू ‘राष्ट्रिय धान दिवस’मा हिलोसँग गहिरो प्रेममा गरेको देखाउँछन् ।

जहिल्यै सुटबुटमा ठाँटिएर हिँड्नेहरू पनि खेतमा भेटिन्छन्– टि–सर्ट र हाफ पाइन्टमा । नेता, कलाकार, पत्रकार सबै हिलोसँग रमाएको तस्बिर सामाजिक सञ्जालमा पोस्टाउँछन् । मोबाइल र क्यामेरा बोकेर रोपाइँ गर्न पुग्छन् । सायद, रोपाइँमा मोबाइल र क्यामेराको प्रयोग हुँदैन भन्ने थाहा नहुन सक्छ !

समाजिक सञ्जालका भित्ता ‘ह्यापी असार १५’ले भरिन्छ । छरपस्ट हुन्छ, दही–चिउराका तस्बिर । एकछिन रोपाइँ गर्नेलाई कति आनन्द ! हुल बाँधेर गयो, जीउभरि हिलो दल्यो । निधारमा धान रोप्यो ! केही थान सेल्फी हान्यो । दुई–चार टिकटक बनायो । दही–चिउरा खायो । क्या रमाइलो !

उपद्रो कति हो, बँधुवा गाई–वस्तुको जस्तै । वर्षभरी बाँधेको गाई–वस्तुलाई एकदिन फुकाइदिँदा कस्तो हुन्छ ? एकदिन रोपाइँ गर्नेहरू पनि त्यस्तै लाग्छन् । विभिन्न पार्टीले रोपाइँ दिवस आयोजन गर्छन् । नेता कार्यकर्ताले नाटक प्रदर्शन गर्छन् । ‘रेस्लिङ म्याच’ पनि हुन्छ !

त्यो गाउँको रोपाइँ र अहिलेको आधुनिक रोपाइँमा धेरै फरक छ । एकदिने कृषकको उन्माद देख्दा लाग्छ– धान दिवसको नाममा किसानको खिलाफ गरिँदैछ ।

धान दिवसको नाममा जथाभावी फोटो खिच्ने, उच्छृङ्खल काम गर्नाले चाडपर्वको नाममा विकृति फैलिरहेको छ । मौलिक तथा संस्कृति, रीतिरिवाज तथा चाडपर्वको नाममा विकृति फैलिरहेको छ ।

एकातिर विदेशबाट वर्षेनि चामल आयात गर्नुपर्ने बाध्यता छ । अर्कोतिर हाम्रो मौलिकता र परम्परा लोप भई वर्षेनि धान दिवसको नाममा विकृति फैलिरहेको छ । हिलो छ्यापाछ्याप गर्ने चाहना होस् या नहोस् जबरजस्ती हिलोमा पछार्ने, उच्छृंखल काम गर्ने, गीत गाउने बाहनामा अपशब्द प्रयोग गर्ने, मादक पदार्थ सेवन गर्ने जस्ता कृयाकलापहरू बढ्दै गइरहेको छ ।

सकेसम्म, श्रोत र साधनले भ्याएसम्म हाम्रो मौलिकता तथा परम्परालाई बचाइराख्नुपर्छ । तर, आधुनिकताको नाममा विकृत हर्कत गर्नु हुँदैन । परम्पराका नाममा नग्न शरीरमा हिलो दलेर धान रोप्ने काम बन्द गर्नुपर्छ । खेती गर्दा दुःख पीडा बिर्साउन असारे गीत गाउने, हिलो छ्यापेर मनोरञ्जन गर्ने बाध्यतालाई मजाक बनाइनु हुँदैन ।

नेपाल कृषिप्रधान देश हो । तर, सहरमा जसरी वर्षमा एकदिन ‘राष्ट्रिय धान दिवस’ मनाइँदैमा कृषिलाई प्राथमिकता दिएको भन्न मिल्दैन । एकदिन विशेष उत्सव मनाउनुलाई अनर्थ भन्न खोजिएको होइन । तर, धानसँग अन्तरसम्बन्धित वर्षौंदेखिका मुद्दालाई सम्बोधन गर्ने दिशामा कुनै पाइला नचाली खाली तामझामका साथ दिवस मात्रै मनाउनुको कुनै अर्थ छैन ।

नेपाल कृषिप्रधान देश भएर पनि पछिल्लो समय खाद्यमा आत्मनिर्भर छैन । चामल, दाल, तेललगायतका खाद्य सामग्रीको आयात वर्षेनि बढ्दै गएको छ । सरकारले कृषिलाई प्राथमिकता दिने बताउँदै आए पनि कृषकले समयमा मल र विउविजन पाउन सकेका छैनन् । कृषकले वर्षेनि मलका लागि आन्दोलन गर्नुपर्ने अवस्था छ ।

‘विकास र समृद्धि’ भन्ने सरकारको नारालाई पूरा गर्ने हो भने उत्पादनमा जोड दिनुपर्छ । उत्पादन वृद्धिका लागि कृषिमा जोड दिनुपर्छ । अर्थतन्त्र सुधारका लागि हाम्रो आफ्नै उत्पादनको संरक्षण तथा उत्पादन वृद्धिका साथै आयात प्रतिस्थापन गर्नु जरुरी छ । त्यसको प्रमुख सम्भाव्य क्षेत्र भनेकै कृषि हो, जसमा धानबाली मुख्य हो । तर, परिणाम दिने काम नगर्ने, देखावटी कार्यक्रम मात्रै ल्याउने कार्यले धान उत्पादन बढ्दैन ।

धान दिवसलाई सार्थक बनाउन धानबालीका समस्याहरूको सामधानका निम्ति जोड दिनुपर्छ । सरकारले वर्षमा एकदिन ‘धान दिवस’ मनाएर कृषिप्र्रधान देशको नाममा झारो टार्ने काम मात्र गर्नु हुँदैन । सरकारले नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकतामा राख्न जरुरी छ । नत्र सहरीकरणले गाँज्दै लगेको नेपाल, ‘कृषि प्रधान देश’ हो भन्ने एकादेशको कथा बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्