Logo
Logo

जो शिक्षित र सम्भ्रान्त, उसैलाई चाहिने धेरै दाइजो



बजारमा पाइने हरेक वस्तुको मूल्य निर्धारण गरिएको हुन्छ । कुनैपनि वस्तुको मूल्य नै हुँदैन । मूल्य निर्धारक मान्छे नै हो । तर, अब मूल्य निर्धारण गर्न के नै बाँकी रह्यो र ?

हामीले फेर्न स्वासदेखि बस्ने पृथ्वीसम्मको मूल्य निर्धारण भइसकेको छ । स्वासको मूल्य कति हुन्छ ? त्यो भेन्टिलेटरको बिरामीलाई थाहा होला । अनि, पृथ्वीको मूल्य ? खगोल भौतिकशास्त्री ग्रेग लाफ्लिनका अनुसार यसको मूल्य पाँच क्वाड्रिलियन अमेरिकी डलर छ ।

हो, लोकमा मूल्य तोक्न बाँकी केही छैन । मान्छे र सम्बन्धको मूल्य तोकिसकियो । मान्छेमात्रै होइन, मोलमोलाइमा भगवान बिक्री हुन्छ । मान्छे र सम्बन्धको मूल्य कति ? त्यो सुनको मूल्य जस्तै लेबल अनुसार छ ।

यहाँ मान्छेको होइन, सम्बन्धको मूल्यबारे कुरा गरौँ । सम्बन्ध अनगिन्ती छन् । तीमध्ये एक, ज्वाइँ । उसोभए ज्वाइँको मूल्य कति ? ज्वाइँको मूल्य उसैमा भरपर्छ । जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै मूल्य अर्थात् दाइजो ।

तोरीलाहुरे बनेर देशमै छन् कि ? साउदी, मलेसिया, कतार गएका छन् ? जापान–कोरियातिर हुनुहुन्छ ? कि अमेरिका–अष्ट्रेलियामा होइबक्सिन्छ ? को कहाँ छन् ? त्यसैले मूल्य निर्धारण गर्छ ! र, यसमा अचम्मित हुनुपर्ने कारण छैन । समाज यस्तै छ ।

अघिल्लो सोमबार ज्वाइँ बन्नै लाग्दा एक युवक पक्राउ परे । उनको मूल्य थियो– ५० लाख रुपैयाँ ! सुनसरीको दुहबी नगरपालिका–६ स्थायी घर भइ काठमाडौँको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार विवाह मण्डपबाटै पक्राउ परेका थिए ।

प्रहरीका अनुसार अमेरिकाको ग्रिनकार्ड होल्डर रौनियारले केटी पक्षसँग ५० लाख दाइजो मागेका थिए । बेहुली पक्षले २२ लाख दिएकै थियो । तर, उनलाई त्यतिले पुगेन । ५० लाख नपाए विवाह रद्द गर्ने धम्की दिए । विवाहकै दिन दाइजोबारे विवाद यसरी चर्कियो । दुई पक्ष हात हालाहालसम्म पुगे । बेहुलीमाथि हातपात भयो । बेहुला प्रहरी खोरमा पुगे । विवाह रद्द भयो ।

यो घटना सुन्दा कुनै पुरानो हिन्दी फिल्म जस्तै लाग्छ । तर, नेपाली समाजमा अझै विद्यमान समस्याको रुपमा देखिएको ‘दाइजोप्रथा’को एउटा कुरुप दृश्य हो यो । अहिले पनि नेपाली समाजमा दाइजोको नाममा विकृति व्याप्त छ । मागेजति दाइजो नदिँदा मण्डपबाट विवाह भाँडिने मात्र नभएर विवाहपछि महिलाले अनेक शारीरिक र मानसिक प्रताडना खेप्नुपर्छ, कतिले त मृत्युवरण नै गर्नुपर्छ । यस्तो घटना दिनदिनै सुनिँदै पनि आएको छ ।

गत मंसिरमा ग्राण्डी अस्पतालका डाक्टर पंकजकुमार चौधरीले विवाहमा दाइजोवापत काठमाडौँमा घर नदिएको भन्दै श्रीमतीलाई घरबाट निकाले । दाइजोको लालचमा चौधरीलाई उनका बाबुआमाले हैसे गर्दथे । उनी अहिले जेलमा छन् ।

भनेजति दाइजो नपाएकै निउँमा श्रीमतीमाथि कुटपिट र घर निकालामात्रै हुँदैन, हत्यासमेत हुन्छ । २०७६ वैशाखमा मागेजति दाइजो नपाउँदा नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा. सचितानन्द यादवले श्रीमतीको हत्या गरे ।

यीे त कुरुप दाइजो प्रथाको प्रतिनिधि घटना मात्र हुन् । समाजमा यस्ता कयौं घटना दबिरहेका छन् । तैपनि दैनिकजस्तो दाइजोले निम्त्याएका घटनाहरू सार्वजनिक हुँदै आएको छ । पढेलेखेको र सम्भ्रान्त परिवारका व्यक्तिले पनि दाइजो नपाएका कारण हिंसा र हत्या गर्ने गरेका छन् । समाजले अब्बल ठानेका व्यक्तिबाटै समाज बिग्रिरहेको छ ।

दाइजोलाई कानुनले पूर्णनिषेध गरेको छ । तर, कानुनलाई चुनौती दिने काम तिनै सम्भ्रान्त र पढेलेखेका व्यक्तिहरूले गर्दै आएका छन् । नपढेकाहरूको अवस्था के होला ? अझ तराई क्षेत्रमा बसोबास गर्दै आएकाहरूमा त दाइजो माग्नेविरुद्ध उजुरी गर्नुपर्छ भन्ने चेतनाको विकाससमेत भएको देखिँदैन । चेतना भएपनि घर बिग्रने डरले सहेर बस्ने प्रवृत्ति छ ।

शिक्षा र चेतनाको अभावले दाइजोप्रथा उन्मुलन हुन सकेको छैन । शिक्षित र सम्पन्न परिवारमै यस्तो विकृति बढ्नु झनै दुःखद हो । यस्तो विकृति सबैतिर भएपनि तराईं–मधेसमा अझ बढी देखिन्छ । सम्पत्ति हुनेले त दाइजो देलान्, नहुनेले के गर्ने ?

केही दशक अघिसम्म घडी, रेडियो र साइकलसम्मले पुग्थ्यो । अहिले शिक्षित छोरीसँगै घर–गाडी र लाखौं रुपैयाँको डिमाण्ड हुन थालेको छ । छोरीलाई शिक्षित बनाउने आमाबुबाको कतव्र्य त छँदैछ । त्योभन्दा बढी उनीहरूलाई छोरीको बिहेले पिरोल्ने गरेको छ ।

समाजमा ‘इज्जत बचाउन’कै लागि घर–घडेरी बिक्री गर्ने वा ऋण लिएर विवाह गर्ने चलन पनि बढ्दै गएको छ । त्यतिमात्र नभएर छोरालाई हुर्काउँदा, बढाउँदा, पढाउँदा र ‘मान्छे’ बनाउँदा परेको लागत दाइजोबाट उठाउने प्रचलन पनि छ । यो भन्दा दरिद्र मानसिकता के हुनसक्छ ?

एकातिर केटाको शैक्षिक योग्यता र व्यवसायको आधारमा दाइजो मागिन्छ । अर्कातिर, केटीले हासिल गरेको शिक्षाको अर्थ नदेखिनु विडम्बनापूर्ण हो । कानुनले नै अपराध ठहर गरेको कुसंस्कारलाई निरन्तरता दिनु अर्को विडम्बना हो । यसले समाजमा असमानता, उत्पीडन, हत्या तथा हिंसाजस्ता जघन्य अपराधलाई मलजल गरिरहेको छ ।

नेपालको कानुनअनुसार दाइजोमात्रै होइन, बिहेमा तडकभडक र फजुल खर्च गर्न पनि पाइँदैन । यसलाई नियन्त्रण गर्न २०३३ सालमै ‘सामाजिक व्यवहार सुधार ऐन’ बनेको हो । ऐनमा ‘विवाह हुँदा जीउमा लगाएको एकसरो गहनाबाहेक राजीखुसीले दिनेले बढीमा १० हजार रुपैयाँसम्म मात्र दाइजो दिन सकिने, अन्य खर्च लिन नहुने’ व्यवस्था छ । तर, कानुन बनेको पाँच दशक पुग्दासमेत कार्यान्वयन भएको छैन ।

मुलुकी अपराध संहिताको दफा १७४ ले विवाहमा लेनदेन गर्न नहुने भनेर बन्देज लगाएको छ । लेनदेन गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । तर, जतिसुकै कडा कानुन ल्याएपनि एकाध घटनाबाहेक कारबाही हुन सकेको छैन । प्रायः यस्ता घटनाहरू बाहिरै आउँदैन ।

कानुनको अज्ञानता क्षम्य हुँदैन । कानुन थाहा छैन भनेर कोही उम्कन पाइँदैन । तर, शिक्षित व्यक्तिबाटै कानुनको खिल्ली उडाउँदै दाइजो मागिन्छ । त्यसैले नेपाली समाजमा शिक्षित भनिएका वर्गबाटै दाइजो प्रथालाई प्रश्रय दिइँदै आएको छ भन्दा फरक नहोला ।

समयसँगै राजनीतिक व्यवस्था बदलियो । तर, बदलिएन दाइजोप्रथा । अर्काको सम्पत्तिमा र्याल चुहाउने मानसिकता झनै बढ्दै गएको छ । समाजमा विद्यमान विकृत समस्याको रुपमा जरो गाडेको दाइजो प्रथालाई उखेल्न तीनै तहको सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ । मुलुकी अपराध संहितामा राखेरमात्र हुँदैन । कडाइका साथ कार्यन्वयन आवश्यक छ ।

दाइजो लिनेलाई जेल सजायदेखि सामाजिक बहिष्कारसम्म गर्ने विधि र नीति बनाउन आवश्यक छ । दाइजो प्रथाविरुद्ध कानुनी उपचारदेखि सामाजिक बहिष्कार गर्ने अभियान चलाउनैपर्छ । नत्र दाइजो कै नाममा चेलीहरूले अकालमा ज्यान गुमाउनेक्रम रोकिने छैन ।

प्रतिक्रिया दिनुहोस्