Logo
Logo

चीन–क्यानडाबीच कुटनीतिक विवाद चुलिँदै


- दृष्टि न्युज/संवाददाता


Canada-China flag

मन्ट्रीयल, २ माघ (एएफपी) । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच कुटनीतिक विवाद चुलिएको छ ।
क्यानाडाले चीनमा आफ्ना नागरिकमाथि बिना कसुर, एकपक्षीय कानुनी कारबाही गरेको आरोप लगाएको छ । साथै, चीन भ्रमण गर्नुअघि सावधानी अपनाउन पनि क्यानाडाले आफ्ना नागरिकलाई अनुरोध गरेको छ ।
चीनको एक अदालतले यसअघि दिइएको १५ वर्षको जेल सजायमा बृद्धि गरी गत सोमबार ३६ वर्षीय रोबर्ट लोयड सेलेन्बर्गलाई मृत्युदण्डको सजाय दिएको थियो । गत वर्षको डिसेम्बरमा चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाओलाई अमेरिकी अनुरोधमा क्यानाडाले पक्राउ गरेपछि दुबै देशबीचको सम्बन्धमा तिक्तता आएको हो ।
‘हामीले क्यानाडास्थित चिनियाँ राजदूतसमक्ष यस बारेमा कुरा राखिसकेका छौं र हामीले क्यानाडेली नागरिकलाई माफी दिन आग्रह गरेका छौँ,’ क्यानाडाका विदेशमन्त्री क्रिस्टिया फ्रील्यान्डले बताइन् । विदेशमन्त्री फ्रील्यान्डले क्यानाडाले मृत्युदण्डको सजाय लामो समयदेखि नदिएको पनि स्मरण गरे ।
‘हाम्रो विश्वास छ यो अमानवीय र अनुपयुक्त हो, र कुनै पनि क्यानाडेली नागरिकका हकमा यस्तो सजाय भए हामी विरोध गर्दछौँ’ उनले भने । हुवावेको विवादसँगै चीनले अरु दुईजना क्यानाडेली नागरिकलाई राष्ट्रिय सुरक्षामा खतरा पु¥याएको भन्दै चीनमा पक्राउ गरिएको छ ।
ह्यूमन राइट्स वाचका कार्यकारी निर्देशक केन्नेथ रथले चीनले ‘शरीर बन्धक राजनीति’ गर्न थालेको आरोप लगाएका छन् । चीनमा हरेक वर्ष एक वा दुईजना विदेशीले मृत्युदण्डको सजाय पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्