
धरान, ७ पुस । यस वर्षको ‘मिस पूर्वाञ्चल’को उपाधि मोरङ शनिश्चरेकी रिजु भट्टराईले जितेकी छन् । प्रतियोगिताको दशौ“ संस्करणमा आफ्ना १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी ‘मिस पुर्वाञ्चल’ बन्न सफल भएकी हुन् ।
बिजेता रिजुलाई उपाधिसँगै ओम शान्ति कम्पनी लिमिटेड, कोरियाका अध्यक्ष गंगाराज राईले रु दुई लाखको चेक हस्तान्तरण गरे भने सिजीका मनिष सिंहले हङकङ टुरको टिकट दिए । कार्यक्रममा उनलाई पर्यटकीय स्थल भेडेटारको नयाँ भेडेटार पर्यटन सद्भावना दुत घोषणा गरिएको छ ।
‘मिस पुर्वाञ्चल–२०१९’को फस्ट रनरअप खोटाङकी एञ्जल राई भइन् । उनले भेडेटार एडभेन्चरका निर्देशक किरण राईले नगद १ लाखको चेक हस्तान्तरण गरेका थिए । त्यस्तै, सेकेन्ड रनरअप धरानकी सिम्रन लिम्बु घोषणा भइन् । उनलाई पनि युएन नवोदय कलेजका बिएचएम संयोजक गगन श्रेष्ठले नगद ५० हजारको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा धनकुटाकी रेश्मा राई पब्लिक च्वाइस, धरानकी अनुपम बस्नेत मिस ट्यालेन्ट, इटहरीकी बिपना तामाङ मिस बेस्ट कम्प्लेसन, सुष्मिता बराईली बेस्ट वाक र धरानकी श्वेता पोखरेल मिस फ्रेन्डशीप घोषित भए । उनीहरुले उपाधिसहित जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।
सिल्भर इन्टर टेनमेन्टको आयोजनामा सम्पन्न मिस पूर्वाञ्चलको यस संस्करणमा मिलान्ज फेशन इटहरी, लेडिजडे बुटिक, धरान र पूर्वेली ढाकाटोपी ट्रेडर्सको भेषभूषामा सजिएका प्रतिस्र्धीहरु प्रियारानी लामाको कोरियोग्राफीमा स्टेजमा प्रस्तुत भएका थिए ।
प्रतियोगितामा निर्णायकमा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठ, नायिका मेरुना मगर, फेशन पत्रकार तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, डा. सरुन कोइराला, ओम शान्ति कम्पनीका अध्यक्ष गंगाराज राई, बराह ग्रुपका कार्यबाहक प्रमुख गंगा कालिकोटे, मिस पुर्वाञ्चल–२०१६ की कृतिका गिरी, संचारकर्मी सुरेश राई र पत्रकार तथा कबि गोपाल देवान थिए ।
कार्यक्रममा नायिका मिरुना मगर, फेशन पत्रकार तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, मलेसियामा मिस ग्लामरको उपाधि जितेकी सिम्रन श्रेष्ठ र मिस कस्मोपोलिटन वल्र्ड–२०१९ को उपाधि जितेकी प्रियारानी लामालाई आयोजक सिल्भर इन्टरटेनमेन्टले सम्मान गरिएको छ ।











