Logo
Logo

साम्रज्ञी भन्छिन्- कसैलाई आफ्नो आवाज बन्द गर्न नदिनुहोस्



काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले नवोदित महिला कलाकारलाई सत्यता नलुकाउन आग्रह गरेकी छन् । अभिनेता भुवन केसीविरुद्धको मुद्धा जितेपछि उनले यस्तो बताएका हुन् ।

भुवन केसीले आफ्नो मानहानी गरेको भन्दै अभिनेत्री शाहविरुद्ध वि.सं २०७७ साल साउन ९ गते मुद्धा दायर गरेका थिए । उक्त मुद्धाको बुधबार सुनुवाइ गर्दै जिल्ला अदालत, काठमाडौंले भुवनको दाबी नपुग्ने फैसला गरेको थियो ।

मुद्दा जितेपछि इन्स्टाग्राममा लाइभ आएकी साम्राज्ञीले भनिन्, ‘हरेक नवोदित कलाकार र उदयीमान महिलाहरुको लागि, कसैलाई पनि आफ्नो आवाज बन्द गर्न नदिनुहोस् । आफ्नो सत्य बोल्नुहोस् र आफूले विश्वास गरेको कुरामा खडा हुनुहोस् ।’

भुवन केसीको नाम भने कतै उल्लेख गरेकी छैनन् । भुवन केसीको नाम नलिई उनले भनेकी छन्, ‘त्यो व्यक्तिले मलाई म शक्तिशाली छु, फिल्म क्षेत्रमा समर्थन छ भनेर देखाउनु थियो । र, मलाई १० करोडको मुद्दा हालेर बुलिङ गरियो । आफ्नो अनुभव बोल्न पनि नपाइने रहेछ । यो निकै डरलाग्दो छ । जे भयो, त्यसले अब मलाई कुनैपनि तरिकाले आश्चर्यचकित बनाउने छैन ।’

अभिनेत्री साम्राज्ञीले फिल्म ‘ड्रिम्स’को छायाँकनका क्रममा आफूलाई भुवन केसीले दुव्र्यवहार र लैंगिक भेदभाव गरेको आरोप लगाएकी थिइन् । साम्राज्ञीको उक्त अभिव्यक्तिले आफ्नो मानहानी गरेको भन्दै भुवन केसी अदालत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्