Logo
Logo

जसको ‘हाड नभएको जिब्रो’ चिप्लियो


13.2k
Shares

काठमाडौं । भनिन्छ, ‘हाड विनाको जिब्रो बेला–कुबेला चिप्लिन्छ ।’ यस्तै, बेलाबेला हाम्रा नेताको जिब्रो चिप्लिने गरेको छ । जसका कारण विवादमा पर्ने गरेका छन् । पछिल्लो उदाहरण हुनु, तोसिमा कार्की ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसद् तोसिमा अहिले आफ्नो अभिव्यक्तिका कारण विवादमा छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्तिम संस्कारमा उपस्थित हुनेक्रममा तोसिमाले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ । जसले तोसिमा विवादमा तानिएका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनेको क्लिपमा उनले भनेका छन्– ‘…हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ । परिवारलाई संरक्षण र जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला त ? भन्ने प्रश्नहरु पनि आउन सक्छन्…।’

यही अभिव्यक्तिले उनी आलोचनाको सिकार बनेका छन् । कार्कीले दुःखको घडीमा प्रधानमन्त्री ‘प्रचण्ड’ लक्षित असंवेदनशील अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।

उक्त अभिव्यक्ति तोडमोड गरि बनाइएको भन्दै उनले माफीसमेत मागिसकेका छन् । तरपनि गालीको वर्षा रोकिएको छैन । अमानवीय र अपरिपक्वताको पराकाष्ठा भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

यसरी बोलीका कारण आलोचना खेप्ने तोसिमा पहिलो नेता भने होइनन् । प्रधानमन्त्री, मन्त्री लगायतका उच्चपदस्थहरू बोलीमा चिप्लिएका धेरै उदाहरण छन् । बोलीमा हेक्का नराख्दा सिर्जिएको रडाकोबाट प्रधानमन्त्री प्रचण्डले भरखरै मुक्ति पाएका छन् ।

उनले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिले केही दिन संघीय संसद्को दुवै सदन अवरुद्ध भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले उनको राजीनामा समेत माग गरेका थिए ।

हुन त शान्ति प्रक्रियामा आएपछि पहिलोपटक पत्रकारलाई दिएको अभिव्यक्ति नै प्रचण्डको विवादीत बनेको थियो । उनले सेनाबारे अमर्दित टिप्पणी गरेका थिए । त्यसयता प्रचण्डका विवादित अभिव्यक्तिहरू बग्रेल्ती छन् ।

स्वास्थ्यमन्त्री विवादमा
यस्तै, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत पनि बोलीकै कारण यतिबेला विवादमा छन् । आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आत्महत्या जस्तो संवेदनशील विषयमा असंवेदनशील भई बेलगाम बोलेका थिए ।


गत सोमबार मन्त्री बस्नेतले पत्रकार सम्मेलनमा ‘कर्मचारीले सरुवा गरे आत्महत्या नै गर्छु भनेर आए आफूले आत्महत्या गर्ने डोरी दिन्छु’ भनेको जानकारी दिएका थिए ।

मन्त्री बस्नेतको उक्त भनाइले समस्यामा परेका स्वास्थ्यकर्मीलाई आत्महत्या गर्न उक्साउने काम भएको भन्दै विरोध भइरहेको छ । रास्वपाका सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्यमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् ।

भानुभक्त ढकाल
कोरोनाकालमा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि बोलीका कारण फसादमा परेका थिए । पत्रकारले प्रश्न गर्दा घरमा पाहुना छन्, बोल्न फुर्सद छैन भनेर दिएको अभिव्यक्ति उनैलाई उपहास बनेको थियो ।

पत्रकारले दुई मिनेट भन्दै आग्रह गर्दा उनले भनेका थिए– ‘आज नगरौं, पाहुना आइरहेको छ घरमा, फुर्सदै छैन ।’ तत्कालीन स्वास्थ्यमन्त्री ढकालको उक्त अभिव्यक्ति निकै विवादमा परेको थियो ।

मन्त्री पद गुमाउने दुई नेता
अभिव्यक्तिकै कारण शेरबहादुर तामाङ र शरदसिंह भण्डारीले मन्त्री पद गुमाएका थिए । पाँच वर्षअघि प्राक्टिस इन्टरनेशनले एकेडेमीमा एसईई पास गरेका विद्यार्थीलाई सम्बोधन गर्ने क्रममा तत्कालीन कानुनमन्त्री तामाङले दिएको अभिव्यक्ति विवादमा परेको थियो ।

उनको भनेका थिए– ‘आज म कथा खोल्छु । बङ्गलादेशमा केही चेलीहरू, हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु, कहीँ न कहीँ उनीहरूले आफूलाई बेच्नुपर्छ । मैले सुनेको छु यस्तो मार्मिक कथा ।

उनीहरूले यहाँ खोलिरहेका छन् कथाहरू । हामी हाम्रा छोरी–चेलीहरूलाई पढ्नका लागि विदेशमा पठाउँछौं तर उसले आफूलाई त्यहाँ नसुम्पी सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन । त्यसैले मुलुकको समृद्धिका लागि अगाडि बढ्दाखेरि देशैभरि धेरै हाम्रा स्टुडेन्टहरू यही मुलुकमा मेडिकल शिक्षा पढेर डाक्टर बन्नुस् ।’

उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले २०७५ साउन ७ गते पदबाट राजीनामा दिएका थिए ।

त्यस्तै, २०६८ सालमा तत्कालीन रक्षामन्त्री भण्डारीको पद पनि बोलीकै कारण गएको थियो । उनले त्यसबेला राष्ट्रिय अखण्डताविरोधी अभिव्यक्ति दिएका थिए । त्यसैगरी, सरिता गिरीले पनि अभिव्यक्तिकै कारण सांसद पद गुमाएका थिए ।


शेरबहादुर देउवा
सात वर्षअघि बीबीसी नेपाली सेवाको ‘साझा सवाल’ कार्यक्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तुतिले निकै विवाद निम्त्याएको थियो ।

एक सहभागीले सोधेको प्रश्नमा उनले झोक्किँदै जवाफ दिए, ‘तपाईं बढ्ता बोल्नुहुन्छ । कहाँबाट अक्सफोर्ड विद्यालय ल्याउने ? तपाईंले चाह्दैमा हुने कुरा होइन नि ! ‘यहाँ निहुँ खोज्ने काम भइरहेको छ ।’

प्रस्तोताले देशमा के भइरहेछ बताइदिनुस् न भनेर प्रश्न सोध्दा भनेका थिए– ‘भन्दिनँ, जबर्जस्ती गर्न पाइन्छ !’

देउवाको उक्त प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा निकै टीकाटिप्पणी भए । त्यतिबेला उनको बौद्धिकतामाथि नै प्रश्न उठेको थियो ।

त्यसबेला प्रश्न सोध्ने सागर ढकालले गत मङ्सिरमा भएको आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि देउवासँगै प्रतिस्पर्धा गरेका थिए । तर, उनी फराकिलो मतान्तरले पराजित भए । देउवा २५ हजार ५३४ मत पाएका थिए भने ढकालले १३ हजार ४२ मत पाएका थिए ।

केपी शर्मा ओली
आफ्नो बोलीका कारण सबैभन्दा बढी चर्चामा आउने र विवाद झेल्ने समकालीन नेतामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पर्छन् । उनका विवादित अभिव्यक्ति कति छन् कति ।

नेपालमा गणतन्त्र आउनुअघि नै उनले एउटा अन्तर्वार्तामा ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेका थिए । जुन अभिव्यक्तिले उनलाई अहिलेसम्म लखेटिरहेको छ ।

हरेक भाषणमा ओलीले नयाँ–नयाँ मसलाहरू दिइरहेका छन् । एउटा भाषणको विवाद नसकिँदै उनले अर्को विवादित अभिव्यक्ति आइसक्छ ।

गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि अभिव्यक्तिको कारण गत वर्ष आलोचित भएका थिए । उनी पनि तोसिमा कार्कीको जस्तो एक क्लिप भिडियोले विवादमा फसेका थिए ।

सामाजिक सञ्जालमा भाइरल बनेको उनको अभिव्यक्ति यस्तो थियो– ‘…मलाई प्रधानमन्त्री बनाइदिनुहोस्, म कस्तो निर्णय गर्छु भने, ६० वर्ष नाघेकालाई मासिक २० हजार भत्ता, १८ वर्ष पुगेकालाई एउटा मोबाइल फ्रिमा, त्यसमाथि पनि आइफोन चलाउने कि स्यामसुङ चलाउने रोजीरोजी, मोटरसाइकल चढ्नेलाई वर्षको एक सय लिटर पेट्रोल फ्रि…।’

गगन र तोसिमाको अभिव्यक्ति त्यस्तो विवादास्पद थिएन । तर, बीचको अपूर्ण क्लिप भाइरल बन्यो । जसले उनीहरुलाई विवादमा तान्यो । पूरा अभिव्यक्ति नसुनी उनीहरूमाथि गालीको वर्षा भयो ।

रामकुमारी झाँक्री
आफ्नो अभिव्यक्तिको कारण नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामकुमारी झाँक्री प्रहरी हिरासतसम्म पुगे । उनले तीन वर्षअघि गोरखाको एक कार्यक्रममा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई कटाक्ष गर्दा विवादमा मुछिन् ।


उनले भनेका थिए– ‘नेकपा एमालेले ५० सालमा गरेको भूल थियो । मदन भण्डारीको हत्या पछाडि सेतो साडी लगाएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालेले, त्यसको प्रत्युत्तर हो विद्यादेवी भण्डारी ।’

उक्त अभिव्यक्तिले उनी हिरासतमा पुगेका थिए । तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूहमा रहेका झाँक्रीलाई २०७७ माघ २७ गते प्रहरीले घरैबाट पक्राउ गरेको थियो ।

मणि थापा
त्यस्तै, २०७७ माघमा तत्कालीन खानेपानीमन्त्री मणि थापाको जिब्रो चिप्लिएको थियो । उनले आफूलाई ‘श्री ५ को सरकार’को प्रतिनिधि भएको बताएका थिए ।

सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भनेका थिए– ‘सबलाई सम्मान गर्न चाहन्छु, जो मञ्चमा आसीन हुनुहुन्छ । र, सुर्खेतका आदरणीय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट‘ तपाईँहरूलाई लालसलाम भन्न चाहन्छु ।’

कार्यक्रम सञ्चालकले गल्ती औँल्याएपछि थापाले तत्काल आफूलाई सच्याएका थिए । तर, ‘श्री ५ को सरकार’ भनेको भिडियो भाइरल बनेको थियो । यस विषयमा थापाले क्षमायाचना गरेका थिए ।

रघुजी पन्त
त्यस्तै, २०७७ मै नेता रघुजी पन्तले तत्कालीन राष्ट्रियसभा सांसद कोमल वलीमाथि ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेपछि आलोचना भएको थियो । तत्कालीन नेकपा प्रचण्ड–माधव समूहका पन्तले कोमल वली ‘सरक्क सारी सर्काएर पिँडुला देखाएको भरमा सांसद बनेको’ टिप्पणी गरेका थिए ।


उनले भनेका थिए– ‘छन्, महिलाहरू अहिले केपीतिर पनि लागेका छन् । बीसौं वर्ष बिहे नै नगरेर यो पार्टीमा लागेका महिलाहरू छन् । तर, तिनले टिकट पनि पाएनन् । राष्ट्रियसभा पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिँडुला देखाउँदै पोइला जान पाम् भनेपछि सांसद् त तिनै भइन् ।’

यी त उदाहरणमात्रै हो । बोलीको कारण नेतादेखि थुप्रै कलाकार विवादमा तानिएका छन् । तर, ती विवादमा तानिएका नेता र कलाकारबाट अझै पाठ सिकेका छैनन् । त्यसैले यस्ता विवादित अभिव्यक्तिहरु आइरहेकै छन् ।

प्रतिक्रिया दिनुहोस्