Logo
Logo
कांग्रेस केन्द्रीय समितिको बैठक

देउवाका ढाल बनेर जसले गगनलाई खुइल्याए



काठमाडौं । मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । आन्तरिक विवादका कारण एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकमा नेताहरूले रोष व्यक्त गरिरहेका छन् ।

सभापति शेरबहादुर देउवाविरुद्ध दबाब बढाउने रणनीति बनाएको इतर पक्षलाई उल्टै गलाउने गरी संस्थापन पक्ष बैठकमा प्रस्तुत भएको छ ।

इतरपक्षले आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाएपछि संस्थापन पक्षले पनि सोहीअनुसार तयारी गरेको थियो । इतर पक्षलाई लगाम लगाउने हेतुले संस्थापन पक्षले बैठकको प्रत्यक्ष प्रसारण (लाइभ) नै गरिदियो ।

सभापति देउवाले सोमबार बसेको पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव गर्दा गगन समूहले विरोध जनाएको थियो । महामन्त्री गगन थापासँगै कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रमेश लेखक, जीवन परियार र बद्री पाण्डे प्रत्यक्ष प्रसारण गर्न नहुने अडान लिएका थिए ।

मिडियामा आलोचनाले मात्रै प्राथमिकता पाउँदा आफ्नो समर्थन देखाउँनकै लागि देउवाले बैठक लाइभ गर्ने रणनीति अपनाएका थिए । कांग्रेस केन्द्रीय समितिमा देउवा पक्षका ८० प्रतिशतभन्दा बढी सदस्य छन् । उनीहरूले देउवाको बचाउ गर्छन् । त्यसैले आफ्नो समर्थक देखाउन र आफूलाई बलियो सावित गराउन उनले लाइभको सहारा लिएका हुन् ।

केही दिनअघि केन्द्रीय समिति बैठकबारे आफूनिकट नेताहरूसँग देउवाले सल्लाह गरेका थिए । सोहीअनुसार तयारी गरेर बैठकमा संस्थापन पक्ष प्रस्तुत भएको हो । तर, देउवाविरुद्ध दबाब बढाउने रणनीतिका साथ उपस्थित बैठकमा इतर पक्षलाई संस्थापन पक्ष उल्टै गलाएको छ ।

पहिलो दिन (मंगलबार) प्रतिवेदन पेश गर्ने क्रममा संस्थापन पक्षका नेताहरूले सभापति देउवाकै कारण अहिले पार्टी सरकारमा रहेको भन्दै आलोचना गर्नुको कुनै तुक नरहेको जिकिर गरे । नेताहरुले महामन्त्री थापाको गतिविधिले पार्टी कमजोर भएको आरोप लगाउनुको साथै गुटबन्दी बन्द गर्न सुझाए ।

रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले देउवाले गठबन्धन जोगाएर पार्टीलाई सही बाटो दोहो¥याएको दाबी गरे । कांग्रेस सरकारमा रहनुको पछाडि देउवाकै हात भएको उनको जिकिर थियो ।

कांग्रेस गुटबन्दीले कमजोर भइरहेको भन्दै देउवा खेमाका नेता गोपालमान श्रेष्ठले गगनमाथि गम्भीर आरोप लगाए । गुट नबनाउने हो भने कांग्रेस कुनै पार्टीसँग डराउनु नपर्ने उनको तर्क छ ।

उनले भने, ‘नेपाली कांग्रेस आफैँमा सक्षम पार्टी हो । पार्टीभित्रको द्वन्द्वलाई मिलाएर जाने हो भने नेपाली कांग्रेसले अरु कुनै पार्टीसँग डराउनुपर्ने अवस्था आउँदैन ।’

यस्तै, बुधबारको बैठकमा पनि देउवाको बचाउ गर्ने र गगनमाथि खनिने क्रम जारी रह्यो । बैठकमा प्रदेश सभापतिहरूले महामन्त्री थापाको वार्षिक कार्यक्रम कार्यतालिकामाथि नै प्रश्न उठाए । उनीहरूले प्रदेशलाई भूमिकाविहीन बनाउन खोजिएको आरोप लगाए ।

बैठकमा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय कार्यसमितिको एकवर्षे क्यालेण्डरमा प्रदेश कार्यसमिति नसमेटिएको भन्दै गुनासो गरे । महामन्त्री थापाले प्रदेश कार्यसमितिलाई पाखा लगाउन खोजेको आरोप लगाए ।

यस्तै, गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले इतर पक्षले प्रदेश कार्यसमितिलाई नसोधी जिल्ला सभापतिको भेला गरेको आरोप लगाए । पार्टीभित्रैबाटै नेतृत्वप्रति बारम्बार प्रहार भएको भन्दै नेतालाई गाली गरेर संगठन बलियो नहुने उनको जिकिर छ ।
बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि महामन्त्री थापाले प्रदेशलाई समेट्न नसकेको बताए । उनले भने, ‘कांग्रेसको विधानले गरेको व्यवस्थाबमोजिम प्रदेशलाई पनि भूमिका दिइयोस् । प्रदेश संरचनामाथि सबैतिर प्रश्न उठिरहेको छ । यसको समाधानको बाटो खोजियोस् ।’

सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर पनि महामन्त्री थापाप्रति आक्रामक भए । उनले महामन्त्री थापाले प्रस्तुत गरेको कार्यक्रम कार्यान्वयनमा अवरोध आउने सम्भावना भएको दावी गरे ।

उनले भने, ‘कार्यतालिका एकदमै हौसिएर आएको छ । कार्यान्वयनको दिशामा ठूलो अवरोध आउन सक्ने सम्भावना म देख्दैछु । आर्थिक पाटोको पनि जिम्मेवारीबोध गरिनुपर्ने देखिन्छ । प्रदेश कार्यसमितिको भूमिकाबारे मौन छ, प्रदेशका कमिटीले काम गरेन भने बडो गाह्रो छ ।’

कांग्रेसमा अहिले अनुशासन नभएको भन्दै उनले गगन लक्षित कटाक्ष गरे । ‘अनुशासन केन्द्रीय कार्यसमितिमा भएका मानिसहरूलाई लाग्छ लाग्दैन ?’ उनको प्रश्न छ, ‘पार्टीलाई मजबुत बनाउने कुरामा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेको मानिसका बारेमा अभिव्यक्त गरेका धारणाले के राम्रो गरेको छ ?’

गगन पक्षले पार्टीभित्र जे पायो, त्यही गरिरहेको उनको आरोप छ । उनले भने, ‘यहाँ जे पायो त्यही गरिएको छ । अनुशासन विहीनताले हाम्रो संगठनलाई अगाडि बढाउन सक्ने अवस्थामा छैनौं । मनमा जे लाग्यो त्यही हुने ?’

कांग्रेस बनाउने भन्दा पनि आफू बन्ने र आफ्नो मान्छे बनाउने प्रवृत्ति कांग्रेसमा हाबी भएको बलायरको भनाइ छ । उनले भने, ‘कांग्रेसको समर्थकले नपुगेर आफ्नो समर्थक चाहिएको छ ।’

यस्तै, केन्द्रीय सदस्य लक्ष्मी खतिवडा पनि महामन्त्री थापाप्रति आक्रामक बने । आफ्नै नेता पक्राउ पर्दै गर्दा गृहमन्त्रीलाई भेटेरै धव्यवाद दिएको भन्दै उनले गगनप्रति आक्रोश पोखे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत नेता बालकृष्ण खाँण पक्राउ पर्दा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएकामा खतिवडाले असन्तुष्टि पोखेका हुन् ।

केन्द्रीय सदस्य खतिवडाले भने, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन ।’

यस्तै अभियोग लागेका अर्को अमूक पार्टीको नेताका बारेमा भने उनीहरु नबोलेको अतिवडाले बताए । उनले भने, ‘तातो पानीले भरिएको डेक्चीको पानी खनिँदा सबैलाई पोल्छ, त्यो पनि विचार पु¥याउनुहोला ।’

महामन्त्रीद्वय थापा र शर्माले मात्र नभएर इतर पक्षका नेताहरुले भ्रष्टाचार मुद्धामा जेल समेत गइसकेका खाँणलाई निलबम्न गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । तर, पार्टी सभापति शेरबहादुर देउवाले खाँणलाई जोगाउँदै आएका छन् । खाँड देउवानिकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्