Logo
Logo
कांग्रेस केन्द्रीय समिति बैठक

बालकृष्ण खाँणको बचाउ, गगन-विश्वप्रकाशलाई पत्तासाफ गर्ने चेतावनी



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबारदेखि जारी छ । आन्तरिक विवादका कारण एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकमा नेताहरूले रोष व्यक्त गरिरहेका छन् । बैठकमा मूल एजेण्डाभन्दा पनि संस्थापन र इतर पक्ष एक–अर्कालाई आक्षेप लगाउने र आलोचना गर्नेमै केन्द्रित छन् ।

दुवै समूह एक–अर्काप्रति आक्रमण शैलीमा प्रस्तुत भएका छन् । इतर पक्षले आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाएपछि संस्थापन पक्षले पनि सोही अनुसार तयारी गरेको थियो । केही दिनअघि केन्द्रीय समिति बैठकबारे आफूनिकट नेताहरूसँग देउवाले सल्लाह गरेका थिए । बैठकमा ‘विधान नमान्ने’ देउवाको कडा आलोचना हुने र नेताहरू आक्रामक रुपमा प्रस्तुत हुनसक्ने उनीहरूको निष्कर्ष थियो । सोही अनुसार तयारी गरेर बैठकमा संस्थापन पक्ष प्रस्तुत भएको हो ।

बैठकमा बोल्ने क्रममा संस्थापन पक्षले नक्कली शरणार्थी प्रकरणमा संलग्न कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बचाउदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पद नै खोस्ने चेतावनी दिएका छन् । महामन्त्रीहरुले चलाएको पुस्तान्तरण अभियानमाथि पनि प्रश्न तेस्र्याएका छन् ।

महामन्त्रीद्वय विरुद्ध विरोधका आवाज उठ्दै गर्दा बूढा नेताहरूले काम गर्न सक्दैनन् भन्ने भाष्य स्थापित गर्न खोजेको भन्दै रोष व्यक्त भइरहेको छ । बैठकमा डोकोमा बाबुलाई भीरमा फाल्न लागिएको कथासमेत सुनाइएको छ ।

संसदीय दलको निर्वाचनमा देउवासँगै पराजित थापाले देउवाले अवकाश लिनुपर्ने भन्दै बूढा नेताहरूको धङधङ्गी समाप्त पार्न आफू अघि सरेको बताउँदै आएका छन् । थापाको यस्तो अभिव्यक्ति र व्यवहारले अहिले बैठकमा उनकै विरुद्ध वातावरण निर्माण भइरहेको छ ।

पहिलो दिन (मंगलबार) प्रतिवेदन पेश गर्ने क्रममा संस्थापन पक्षका नेताहरूले सभापति देउवाकै कारण अहिले पार्टी सरकारमा रहेको भन्दै उनको आलोचना गर्नुको कुनै तुक नरहेको जिकिर गरेका थिए । नेताहरूले महामन्त्री थापाको गतिविधिले पार्टी कमजोर भएको आरोप लगाउनुको साथै गुटबन्दी बन्द गर्नुपर्ने सुझाएका थिए ।

रक्षामन्त्री समेत रहेका उपसभापति पूर्णबहादुर खड्काले देउवाले गठबन्धन जोगाएर पार्टीलाई सही बाटो दोहो¥याएको दाबी गरे । कांग्रेस गुटबन्दीले कमजोर भइरहेको भन्दै देउवा खेमाका नेता गोपालमान श्रेष्ठले गगनमाथि गम्भीर आरोप लगाए ।
बैठकको दोस्रो दिन (सोमबार) पनि देउवाको बचाउ गर्ने र गगनमाथि खनिने क्रम जारी रह्यो । आजको बैठकमा प्रदेश सभापतिहरूले महामन्त्री थापाको वार्षिक कार्यक्रम कार्यतालिकामाथि नै प्रश्न उठाए ।

कांग्रेस नेता नैनसिंह महर लगायतका नेताहरूले महामन्त्रीद्वयले बोलाएको भेलाको वैधानिकतामाथि पनि प्रश्न उठाए । नेता लक्ष्मी खतिवडाले त महामन्त्रीको विकल्प खोज्नु नपरोस् भन्दै चेतावनी नै दिए । यस्तै, केन्द्रीय सदस्य लक्ष्मी खतिवडा पनि महामन्त्री थापाप्रति आक्रामक बने । आफ्नै नेता पक्राउ पर्दै गर्दा गृहमन्त्रीलाई भेटेरै धन्यवाद दिएको भन्दै उनले गगनप्रति आक्रोश पोखे ।

उनले नक्कली शरणार्थी प्रकरणमा खाँण पक्राउ पर्दा महामन्त्रीद्वय गगनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएकामा असन्तुष्टि पोखे । उनले भने– ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ?’

अर्का केन्द्रीय सदस्य राधा घलेले पनि महामन्त्रीद्वयमाथि प्रश्न उठाउनको साथै खाँणको बचाउ गरे । महामन्त्रीहरुलाई रूपान्तरणको पक्षमा वकालत गरेर कांग्रेसभन्दा व्यक्ति बलियो बन्न खोजेको आरोप लगाए ।

उनले खाँणको बचाउमा उत्रेर साथ दिनुपर्नेमा पार्टीका नेताहरू विरोधमा उत्रिएको भन्दै गुनासो गरे । ‘एउटा साथीलाई दुःख पर्दा काँध हाल्न सक्दैनौं ? आरोप लाग्दैमा कोही पनि दोषी हुँदैन’ उनले भने, ‘जबसम्म दोषी सावित हुँदैन, कमसेकम एउटालाई पर्दा हामीभित्रै साथीहरूले साथ दिँदैनौं भने एउटालाई खाने बाघलाई अरुलाई पनि खान्छ ।’

गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले इतर पक्षले प्रदेश कार्यसमितिलाई नसोधी जिल्ला सभापतिको भेला गरेको आरोप लगाए । पार्टीभित्रैबाटै नेतृत्वप्रति बारम्बार प्रहार भएको भन्दै नेतालाई गाली गरेर संगठन बलियो नहुने उनले बताए ।
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर पनि महामन्त्री थापामाथि आक्रामक भए । उनले महामन्त्री थापाले प्रस्तुत गरेको कार्यक्रम कार्यान्वयनमा अवरोध आउने सम्भावना भएको बताए ।

कांग्रेसमा अहिले अनुशासन नभएको भन्दै उनले गगन लक्षित कटाक्ष गरे । उनले प्रश्न गरे– ‘अनुशासन केन्द्रीय कार्यसमितिमा भएका मानिसहरूलाई लाग्छ लाग्दैन ?’

गगन पक्षले पार्टीभित्र जे पायो त्यही गरिरहेको उनको आरोप छ । कांग्रेस बनाउने भन्दा पनि आफू बन्ने र आफ्नो मान्छे बनाउने प्रवृत्ति कांग्रेसमा हाबी भएको बलायरको भनाइ छ । उनले भने, ‘कांग्रेसको समर्थकले नपुगेर आफ्नो समर्थक चाहिएको छ ।’

बिहीबार तेस्रो दिनको बैठकमा भने केहीले महामन्त्रीद्वय गगन–विश्वप्रकाशको बचाउ गरे । गगन–विश्वप्रकाशको बचाउमा उत्रिँदा उनीले सभापति देउवालाई भने खुल्याउन भ्याए । सञ्जय गौतमले सभापति देउवालाई तपाईं राजा हो र? भन्दै प्रश्न गरे ।
पार्टी विधि र विधानमा नचलेको भन्दै सभापति देउवाको आलोचना गरे । पार्टी राम्रोसँग चलाउनका हुकुम नभइ विधि मान्नु पर्नेमा जोड दिए ।

अर्का केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले महामन्त्रीलाई बिचार र बबुरा भने । उनले अधिकार सबै सभापतिलाई भएको भन्दै महामन्त्रीको अवस्थालाई ‘चरी जेलैमा’ भन्दै टिप्पणी गरे । उनले महामन्त्रीले सभापतिलाई र सभापतिले महामन्त्रीलाई सहयोगी भावना राख्नुपर्ने सुझाव दिए ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बचाउ गर्नेविरुद्ध काउन्टर गरे ।

उनले अहिले कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको हिस्सेदार रहेको स्मरण गराउँदै नक्कली शरणार्थी प्रकरणमा तानिएका नेता खाँणलाई पार्टी सदस्यताबाट निलम्बन गर्नुपर्ने बताए । नक्कली शरणार्थी प्रकरणमा खाँणलाई अन्याय भएको हो भने कांग्रेस तत्काल सरकार छाड्नुपर्ने पनि बताए ।

अर्का केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले महामन्त्री थापालाई हतार नगर्न आग्रह गरे । थापाले संसदीय दल नेता परिवर्तन गर्ने अभिव्यक्ति दिएकोतर्फ लक्षित गर्दै बिहीबारको केन्द्रीय समितिमा केसीले भने, ‘गगनजी पिलिज वेट ।’ उनले कुनै व्यक्तिलाई संसदीय दल नेता र सभापति चाहियो भन्दैमा समय र परिस्थिति ख्याल नै नगरी अघि बढ्न नसकिने पनि बताएका थिए ।

उमेश श्रेष्ठले महामन्त्रीद्वय गगन–विश्वप्रकाश कुरा मात्रै नभएर काम गर्न आग्रह गरे । गगन–विश्वप्रकाले बढी मिडियाबाजी गरेको उनले आरोप लगाए । उनले भाषण कम गरेर काम गर्न सुझाव दिए ।

उर्मिला नेपालले पनि महामन्त्री थापाले उठाएको नेतृत्व परिवर्तनको एजेण्डालाई बेमौसमी बाजा भएको बताए । उनले महाधिवेशनबाट देउवालाई नेतृत्व सुम्पिएकाले उनैलाई काम गर्न दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्