Logo
Logo

भाषणमा होइन, व्यवहारमा समाजवाद



आफूलाई कम्युनिष्ट पार्टीको नेता कार्यकर्ता भन्नेहरुले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष बितिसक्दा पनि आफ्नो गन्तव्य पहिल्याउन सकेका छैनन् । आफूलाई माक्र्सवादी, लेनिनवादी र माओवादी भन्नेहरुले नै अहिले पनि समाजवादका विषयमा चर्का बहस गर्नु जनता अल्मल्याउनु मात्र हो ।

माक्र्स, एंगेल्स र लेनिनले नै समाजवादका विषयमा प्रष्ट विचार ल्याएका छन् । नेपालका कम्युनिष्टहरु माक्र्सवादको खरानी घस्दै समाजवादको व्याख्या आ–आफ्नै तरिकाले गरिरहेका छन् । मानौं, नेपालका कम्युनिष्टहरु माक्र्स र एंगेल्सले भन्दा पनि उच्च तहको समाजवाद निर्माण गर्ने सोचमा छन् ।

माक्र्सले परिकल्पना गरेको समाजवाद नै कम्युनिष्टहरुको गन्तव्य हो । यसको प्रयोग लेनिनले सन् २०१७ को अक्टुवर क्रान्तिद्वारा रुसमा गरिसकेका थिए भने, त्यसपछि युरोपियन मुलुक र चीनले पनि माक्र्सकै विचारलाई पछ्याउँदै वैज्ञानिक समाजवाद लागू गरेका थिए । समाजवादलाई पछ्याउँदै छिमेकी चीनले समृद्धि हासिल गरेको हाम्रै आँखा अगाडि छ ।

चीन र भारतसँगसँगै लोकतान्त्रिक युगमा प्रवेश गरेको नेपाल अझै अलमलमा छ । पटक–पटकको राजनीति परिवर्तनको नेतृत्व गर्न सफल नेताहरु त्यस अनुरुप देशलाई अगाडि बढाउन असफल हुनुको एउटै कारण दक्षिणपन्थी अवसरवाद हो ।

२०४६ सालदेखि अहिलेसम्म पटक–पटक कम्युनिष्ट पार्टीका नेताहरुले सरकारको नेतृत्व गरेका छन् । आफ्नो नेतृत्वमा बनेको सरकारले समाजवादको यात्रा तय गर्न नसक्नु तर, समाजवादको मोडलबारे बहस छलफल गर्नु लज्जाको विषय हो ।

०४६ सालदेखि अहिलेसम्म पटक–पटक कम्युनिष्ट पार्टीका नेताहरुले सरकारको नेतृत्व गरेका छन् । आफ्नो नेतृत्वमा बनेको सरकारले समाजवादको यात्रा तय गर्न नसक्नु तर, समाजवादको मोडलबारे बहस छलफल गर्नु लज्जाको विषय हो ।

गणतन्त्र नेपालको संविधानको प्रस्तावनामै ‘समाजवाद उन्मुख’ शब्द उल्लेख गरेपछि समाजवादको न्यूनतम कार्यक्रमहरु पनि आफ्नो कार्यकालमा लागू गर्न नसक्नु कम्युनिष्टहरुको नालायकी हो ।

नेपालको संविधानले नागरिकलाई मौलिक हकको अधिकार दिएको छ । ती कुराहरु नागरिकले उपभोग गर्न पाएका छैनन् । संविधानले दिएको न्यूनतम अधिकार प्रयोग गर्न पाउने हो भने देश समाजवादको बाटोमा अगाडि बढ्न सक्छ । समाजवाद नारा होइन, जीवन हो ।

दुर्भाग्य, जतिवटा व्यवस्था फेरिए पनि हाम्रा नेताहरुको मानसिकता, चिन्तन र चरित्र नफेरिएकोले समाजवादबारे व्यर्थ बहस गर्नुपरेको हो । अरु भ्रममा परे पनि कम्तीमा कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताहरु वैज्ञानिक समाजवादको विषयमा भ्रममा पर्नु हुँदैन ।

कम्युनिष्ट र कांग्रेसका नेताहरुले अरु बेला समाजवाद बिर्सिए पनि साउन ६ र ७ गते विपी र पुष्पलाल स्मृति दिवसमा समाजवादको सान्दर्भिकता सम्झने गरेका छन् । २०४८ सालदेखि अहिलेसम्म कांग्रेस र कम्युनिष्टहरुले नै शासनको बागडोर सम्हालेका छन् । तर, पनि विपी र पुष्पलालको विचार उनीहरुले बोक्न सकेका छैनन् ।

जब राजनीतिमा सिद्धान्त, विचार र नीतिलाई पाखा पार्दै लगिन्छ, तब नेता, कार्यकर्ताहरु बिग्रन थाल्छन् । बिग्रिएका नेता, कार्यकर्ताहरुबाट समाजवादको आशा गर्नु व्यर्थ हुन्छ । दुर्भाग्य, तिनै नेताहरुले अझै पनि समाजवादको सपनामा जनता भुलाइरहेका छन् ।

कांग्रेस र कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताहरुले दलाल पुँजीवादको पक्षपोषण गरिरहेको अनुभव हामीले गरेका छौं । गाउँको एउटा किसानले उत्पादन गरेको गोलभेडा सडकमा फाल्नुपर्ने तर, भारतबाट आयातित गोलभेडा खानुपर्ने अवस्थाले हाम्रो समाजवादको यात्रालाई गिज्याइरहेको छ ।

कृषिमन्त्री समाजवादीकै छन् । प्रधानमन्त्री क्रान्तिकारी माओवादीकै छन् । तिनका शासनसामु गरिब किसान मर्नुपर्ने अवस्थाबाट श्रमिक, किसान माथि उठ्ने व्यवस्था कहिले आउला ? त्यसैले भाषणमा होइन, व्यवहारमा समाजवाद आजको आवश्यकता हो । त्यसको यात्रा आजैबाट थाल्यौं भने आम नागरिकको जीवनमा सुधार होला । त्यसको लागि विपीका चेला विपीजस्तो, पुष्पलालको चेला पुष्पलालजस्तो हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्