Logo
Logo

हरेक मानिसको ‘असली रुप’ देखिने सञ्जाल



बोल्न पाउनु मानिसको नैसर्गिक अधिकार हो । संविधानले नै विचार तथा अभिव्यक्तिलाई स्वतन्त्र अधिकारको मौलिक हकमा सुनिश्चित गरेको छ ।

पछिल्लो समय बोल्ने अर्थात् अभिव्यक्तिको सबैभन्दा ठूलो प्लेटफर्म बनेको छ– सामाजिक सञ्जाल । धारणा राख्न सबैले सञ्चारमाध्यममा स्थान पाउन सम्भव पनि छैन । सार्वजनिक मञ्च नपाउनेहरुका लागि पनि सामाजिक सञ्जाल विचार अभिव्यक्त गर्ने प्रमुख माध्यम बनेको छ ।

सामाजिक सञ्जाल विचार प्रदान गर्ने माध्यममात्रै होइन, सबैभन्दा नजिकको साथीसमेत बनेको छ । हामी यही दिनरात घोत्लिरहन्छौँ । सामाजिक सञ्जाल मानिसको अभिन्न अंग बनिसकेको छ । कसैलाई नसुनाएको कुराको गाँठो यही फुकाउँछौँ । कुनै कुरा साथी वा पारिवारिक सदस्यलाई भन्नुभन्दा पहिले यही पोस्ट गर्छौँ । तथापि, हिजोआज सामाजिक सञ्जाल सहीभन्दा पनि गलत ढंगले बढी उपयोग हुन थालेको छ ।

जीवनको अभिन्न अंग बनिसकेको फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालको आवश्यकता र भूमिकाबारे भलिभाँती नै छौँ । तर, यसलाई हामी जानीजानी असामाजिक बनाइरहेका छौँ । जसलाई असामाजिक विचार र सामग्रीको भकारी बनाएका छौँ ।

गालीगलौज, लज्जास्पद र लान्छनायुक्त शब्द प्रयोग बढ्दै गएको छ । एक किसिमले भन्ने हो भने सामाजिक सञ्जाल हिजोआज भ्रम फैलाउने, दंगाफसाद गराउने र अरूको चरित्रहत्या गर्ने माध्यम बन्न थालेको छ ।

अभिव्यक्तिको सबैभन्दा ठूलो प्लेटफर्म बनेको छ- सामाजिक सञ्जाल । सकारात्मक रूपमा सदुपयोग गर्ने हो भने सामाजिक सञ्जाल प्रविधिको अनुमंप उपहार हो । तर, दुरुपयोग हुने अवस्थामा यो अभिसाप साबित हुन्छ । नेपालको सन्दर्भमा यस्तै भएको छ ।

आफ्ना प्रतिस्पर्धी तथा आलोचकलाई कुत्सित शैलीमा गाली र विरोध गर्ने होडबाजी चलेको छ । जसलाई जतिखेरै झम्टिन सक्ने सुविधाले हाम्रा अनियन्त्रित रोष र कुण्ठा छताछुल्ल भएको छ । अपमान र घृणाको हतियार उध्याएर निरन्तर खनिरहेका छौँ । राजनीतिकसँगै धार्मिक, साम्प्रदायिक र जातीय वाकयुद्ध भइरहेको छ ।

बौद्धिक भनिएकै तप्काबाट एकापसमा प्रहार भइरहेको छ । गाली, ताली, वाणी र वक्तव्यबाजीले वध भइरहेको छ । विषयको गम्भीरतामा भन्दा तीखो र अराजक प्रतिक्रियामा रमाइरहेका छौँ । सामाजिक सञ्जाल हिजोआज खुइल्याउने र पुलपुल्याउने सहारा बनेको छ ।

अति देवत्वकरण र अति राक्षसीकरण गर्ने काम पनि सामाजिक सञ्जालमार्फत नै भइरहेको छ । यसैमा प्रधानमन्त्री, मन्त्री, सांसद, वकिल, न्यायाधीश सबै बन्न थालेका छन् ।

सामाजिक सञ्जाल खोल्नेवित्तिकै तथानाम गालीगलौजको वर्षामात्रै देखिन्छ । असभ्य, असंगतिपूर्ण र अस्वाभाविक पदावलीहरूले सामाजिक सञ्जालका भित्ता भरिन थालेको छ । अति तरंगित र उद्वेलित अभिव्यक्तिहरू छताछुल्ल भएको छ । घमण्ड र उन्मादहरू उम्लिएको छ । यसले हाम्रो समाजको सभ्यता र अनुशासनको असली स्तर छर्लङ्ग हुन्छ ।

आफूलाई रिस उठेको मान्छेको हुर्मत लिने, उफ्रिने, थच्चिने, आत्तिने, मात्तिने, पात्तिने, रिसाउने, खुसाउने, रुवाउने र हँसाउने कार्य पनि सामाजिक सञ्जालमै हुन थालेको छ । त्यतिमात्र होइन, थर्काउने, गलाउने, बजाउने र तह लगाउने माध्यम पनि यही सामाजिक सञ्जाल बनेको छ । गफाडीका लागि गफ लगाउने साझा चौतारी बनेको छ । विशेषगरि राजनीतिक दलका कार्यकर्तालाई रिसइबी साध्ने र बदला लिने सामाजिक सञ्जाल फ्रि प्लेटफार्म बनेकोे छ ।

केही राजनीति दलहरुले प्रतिस्पर्धीलाई गाली गर्न ग्रुप बनाएका छन् । जसलाई राजनीतिक वृत्तमा ‘साइबर सेना’का रुपमा चर्चा गरिँदै आएको छ । तिनीहरूको काम भनेको अर्का दल र तिनका नेतालाई गाली र आफ्नाको प्रशंसा गर्ने हो । अरुलाई खुइल्याउनबाहेक उनीहरूलाई अरु सोच्न फुर्सद हुँदैन ! योभन्दा अरु जान्दैनन् पनि ! बिहान उठ्नेवित्तिकै सोच्दा होलान्– आज कसलाई के भनेर गाली गर्ने ?

गाली गर्न नपाएको दिन सायद तिनीहरुको निन्द्रा नलाग्न सक्छ । र, रातभर छटपटी हुन्छ ! साइबर सेनाको नाउँमा साइबर स्यालको रगगज बढेको छ । आफूलाई न्यायाधीश ठान्ने साइबर स्यालहरूको हुइयाँ लाजको पसारो बनेको छ । अभिव्यक्ति स्वतन्त्रको नाममा अराजकता फैलिरहेको छ ।

यस्ता ग्रुपहरु समाजमा घृणा फैलाउने, भ्रम सिर्जना गर्ने कार्यमा तल्लिन छन् । जे मन लाग्छ, त्यही लेख्यो, बोल्यो । जसलाई जे आरोप लगाउन मन लाग्यो, लगायो । पुष्टि गर्ने आधार केही चाहिँदैन । मदिराले लठ्ठीएको तालमा मनलाग्दी पोल्ट्याउँछन् । त्यसपछि जब साइबर क्राइमको कुरा उठ्छ, अनि घन्काउँछन्– स्वतन्त्र अभिव्यक्तिको नारा !

फेरि पनि दोहोर्याउँ, बोल्न पाउने नैसर्गिक अधिकार हो । तर, यसको सीमा हुन्छ । जसलाई जे मन लाग्यो, त्यही भाषाशैलीमा प्रस्तुत हुनु वा हुन पाउनु अभिव्यक्ति स्वतन्त्रता होइन । अभिव्यक्ति स्वतन्त्रताको अर्थ मैमत्त साँढे हुनु होइन ।

एउटा प्रसिद्ध भनाइ छ– तिम्रो स्वतन्त्रताको सीमा त्यहाँ अन्त्य हुन्छ, जतिबेला तिम्रो हातले अर्काको नाकमा छुन्छ । हर कुराको सीमा हुन्छ । र, त्यो सीमाभित्र बस्नैपर्छ । सीमा नाघ्यो भने त्यसले निम्त्याउने परिणाम भोग्नैपर्छ ।

अभिव्यक्ति स्वतन्त्रतामा गाली, बेइज्जती, मानहानी र अश्लीलता पर्दैन । अरुलाई गालीगलौज गर्नु अभिव्यक्ति स्वतन्त्रता मानिँदैन । आफ्नो प्रशंसा गर्ने छुट होला । तर, अरुलाई गाली गर्ने छुट हुँदैन । अरुलाई चोर औँला देखाउँदै गर्दा बाँकी औँलाले आफैँलाई ईशारा गरिरहेको हुन्छ ।

पार्टीगत, जातिगत र व्यक्तिगत विषयलाई लिएर गरिने गालीगलौजले सामाजिक सञ्जालमा जोडिएका सबै व्यक्तिलाई कतै न कतै मनोवैज्ञानिक रूपमा असर गरिरहेकोे हुन्छ । कसैले प्रतिक्रिया नजनाए पनि मस्तिष्कमा त्यसको प्रभाव, प्रतिक्रिया, आवेग र उत्तेजना आउने गर्दछ । मनमा पलाएको कुरालाई विचारै नगरी लेख्दा जिम्मेवार व्यक्तिहरूको इज्ज्वत र प्रतिष्ठामाथि नै क्षति पुगेको थुप्रै उदाहरण छन् ।

यस्तो प्रवृत्तिलाई प्रश्रय दिँदै जाँदा हाम्रो समाज कस्तो बन्ला ? यस्तो संस्कारले हामीलाई कहाँ पु¥याउँला ? हाम्रो समाजको भाष्य, मनोविज्ञान, संस्कृति, विवेक, चालचलन, सभ्यता र संस्कार कस्तो बन्ला ? भड्किलो, उत्तेजक र तरङ्गित अभिव्यक्तिले सिर्जना गरेको युद्ध र द्वन्द्वको जिम्मेवारी कसले लिने ?

नेपालमा सामाजिक सञ्जाललाई नियमन र नियन्त्रण गर्ने कानुन पर्याप्त छैन । सामाजिक सञ्जालमा हुने गालीगलौज र अर्काको चरित्रहत्या गर्ने जस्ता सामाजिक तथा अपराधिक कार्यलाई नियन्त्रण गर्न नेपाल प्रहरीको ‘साइबर ब्यूरो’ छ । पछिल्लो समय साइबर ब्यूरोले सामाजिक सञ्जालमा असामाजिक कार्य गर्नेहरूलाई नियन्त्रण र कारबाही गर्दै आएको छ । तर, साइबर ब्यूरोले पीडितले उजुरी नदिएसम्म आफैँले कारबाही गर्दैन ।

साइबर अपराधलाई कानुनीरुपमा ल्याउन ढिलाई भइसकेको छ । साइबरसम्बन्धी कानुन समयमा नबन्दा अन्यायमा परेकाले उचित न्याय पाउन सकिरहेका छैनन् । सरकारले यसलाई चासो र चिन्ताका साथ लिन जरुरी छ ।

सामाजिक सञ्जालमा प्रयोग हुने भाषा शिष्ट हुनुपर्छ । जसले आगामी पुस्तालाई समेत शिष्टताको मागदर्शन गर्न सकोस् । देवत्वकरण र राक्षसीकरण गर्ने दुवै पक्ष समाजका लागि हितकर छैन । सामाजिक सञ्जाललाई प्रतिशोध साध्ने थलो नबनाऔँ । सामाजिक सञ्जाल समाजमा सूचना प्रवाह गर्ने माध्यम हो । जसको सही उपयोग गर्न सिकौँ ।

प्रतिक्रिया दिनुहोस्