काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा प्रतिपक्षीले सत्यतथ्य बोल्छ भनेर सदनमा सत्ता पक्षले बोल्न नदिएको बताएका छन् । शनिबार एक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूहरुले बोल्न थाल्दा सत्ता पक्षले बोल्नै नदिने आरोप लगाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘सुन प्रकरणमा प्रतिपक्षीले सत्य बोल्छ भनेर सदनमा बोल्न दिँदैन । उठेर विरोध गरिहाल्छ । यसको जरासम्म पुग्नुपर्छ । यसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने भइसक्यो । भारतले गम्भीर ढंगले प्रश्न गरिरहेको छ । अर्थतन्त्र यस्तो भइसक्यो । गर्ने गराउने आफूहरु अनि कसैलाई छाड्दिनँ भनेर फाइफुइ गर्ने ।’
अध्यक्ष ओलीले कांग्रेस सांसद सुनिल शर्माको पक्राउ गरिएकोमा पनि सरकारलाई आलोचना गरे । ‘सुनिल शर्माले दुई दिनमा नक्कली प्रमाणपत्र बनाएको हो ? गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्नेबित्तिकै हतकडी । दुई दिन बोलेपछि किन पक्राउ गर्नुपर्ने ?’ अध्यक्ष ओलीले प्रश्न गर्दै भने, ‘अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन् । अब त एउटा निवेदन कुखुरा चोरेको भनेर निवेदन हाल्दिन्छ, हतकडी लगाएर लान्छ सांसदलाई ।’














