Logo
Logo

एआइजी ज्ञवाली हटाउन दबाब



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दुई प्रहरी अधिकारीलाई हटाउन आदेश दिएका छन् । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्याम ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीलाई हटाउन निर्देशन दिएका हुन् ।

एआइजी श्याम ज्ञवाली

डा. सुनिल शर्मालाई सिआइबीले पक्राउ गरेपछि शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्रीले कांग्रेसका नेताहरुलाई छानी–छानी प्रतिशोध साँधेको र यो गठबन्धनका लागि सकारात्मक कुरा नभएको बताएका थिए ।

त्यसक्रममा बालकृष्ण खाणलाई पक्राउ गरेर जेल हाल्ने प्रहरी अधिकारीहरुलाई पनि तुरुन्तै हटाउन आग्रह गरेका थिए । प्रधानमन्त्रीले त्यहीबाट फोन गरेर गृहमन्त्रीलाई दुई प्रहरी अधिकारीहरु एआइजी ज्ञवाली र एसएसपी मनोज केसीलाई हटाएर अर्को व्यक्ति पठाउन आदेश दिएका थिए ।

जवाफमा श्रेष्ठले केही दिनमा मिलाएर सरुवा गर्ने आश्वासन दिएका थिए । पूर्वगृहमन्त्री खाणलाई पक्राउ गर्न एसएसपी आफैँ गएका थिए । समाचार स्रोतका अनुसार, गत बिहीबार साँझ देउवाले प्रचण्डलाई भेटेर गृहमन्त्री हटाउनुपर्ने नत्र सरकारलाई अप्ठेरो पर्ने संकेत गरेपछि भने प्रचण्डले यी दुई प्रहरी अधिकारीको सरुवा गर्न निर्देशन दिएका थिए । तर देउवाले दुई प्रहरी अधिकारीहरुको सरुवा होइन, गृहमन्त्रीको राजीनामा वा मन्त्रालय परिवर्तन गर्न दबाब दिएका थिए ।

त्यसलगत्तै शुक्रबार साँझ देउवानिवास धुम्वाराही पुगेका नारायणकाजी श्रेष्ठले देउवासँग दुई प्रहरी अधिकारीको तुरुन्तै सरुवा गर्ने बताएका थिए । देउवाले त्यो विषयमा कुनै प्रतिक्रिया नजाएपनि हाललाई आफ्नो राजीनामा टार्नका लागि समय नपुग्दै एआइजी ज्ञवाली र एसएसपी केसीको सरुवा गर्न श्रेष्ठ तयार भएको स्रोतको दाबी छ ।

गत पुसमा अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी पाएका केसीले नक्कली भूटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँणसहित कांग्रेस नेताहरु आङटावा शेर्पा, एमालेका सचिव टोपबहादुर रायमाझी बहालवाला सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी अनुसन्धान गरेका थिए । त्यसमा एआइजी ज्ञवालीले बालकृष्णपत्नी मञ्जु खाण र देउवापत्नी आरजुको पनि संलग्नता रहेको जनाउँदै पक्राउ गर्न खोजेको देउवाको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्