Logo
Logo

सशस्त्रका डिआइजीसँग स्पष्टीकरण



काठमाडौं । सशस्त्र प्रहरीमा चेन अफ कमाण्ड तोड्न थालिएको छ । घर बिदामा बस्दा पनि कार्यालयको मर्यादा, कार्यालयको सामान्य नियम र फौजले पालाना गर्नुपर्ने चेन अफ कमाण्डलाई तोड्न थालिएको हो । सशस्त्र प्रहरीको इतिहाँसमै पहिलो पटक यसरी नियम तोडिएकोमा सशस्त्र प्रहरी मुख्यालयले आपत्ति जनाएको छ । यस्तो नियम तोड्ने आफूखुशी गर्ने डिआइजी अभिकुमार खत्री हुन् ।

कार्यालय प्रमुखका रुपमा जिम्मेवारी सम्हालिरहेका उनले आफ्नो सेकेन्ड म्यानलाई चार्ज नबुझाइ बिदा बसेका थिए । साउन महिनाभर बिदामा रहेका उनले नत मुख्यालयलाई जानकारी गराए, नत आफू मुनिका एसएसपीलाई नै जानकारी दिए । सशस्त्र प्रहरी मुख्यालये यो विषयलाई गम्भीर रुपमा लिँदै भदौ १ गते उनलाई स्पष्टिकरण नै सोधेको छ ।

सशस्त्र प्रहरीका डिआइजी खत्री अमेरिका जाँदा २२ दिन आफ्नो कमाण्ड क्षेत्रमा कोही कसैलाई औपचारिक जानकारी नदिएपछि मुख्यालयले आपत्ति जनाउनुको साथै स्पष्टिकरण सोधेको हो ।

सामान्यतया कार्यालय प्रमुख बिदा बस्दा एक तह मुनिको अधिकृतलाई कार्यालयको चार्ज बुझाउनु पर्छ । तर, सशस्त्र प्रहरीका डिआइजी खत्रीले सो प्रावधानको ठाडो उल्लंघन गरेको स्रोतको दाबी छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआइजी खत्री साउनभर श्रीमतीसहित अमेरिका घुमघाममा जाँदा एसएसपी कमल तिमिल्सिनालाई चार्ज बुझाउनु पर्नेमा कुनै पनि जानकारी नदिएको खुलेको हो ।

‘उहाँ विदेश जानु भएको रहेछ, स्वदेशमै हुँदा त बिदामा भएको बेलो चार्ज बुझाउनु पर्छ । अझ विदेश जाँदा झन बुझाउनैपर्ने हुन्छ । तर, उहाँ अमेरिका गएको जानकारी मुख्यालयलाई थाहै भएन, उहाँ बिदामा बसेको पनि जानकारी भएन’, सशस्त्र मुख्यालय स्रोतले भन्यो ।

स्रोतका अनुसार २२ दिन घर बिदा लिएका उनले कसैलाई कार्यालयको चार्ज बुझाएनन् । चार्ज नबुझाई बिदा बसेको भन्दै मानवस्रोत विभागले आपत्ति जनाउदै के कति कारणले चार्ज नबुझाई बिदामा बसेको भनेर स्पष्टिकरण सोधेको छ । अबदेखि कही कतै गए वा घर बिदामा बसे अनिवार्य रुपमा चार्ज बुझाउन निर्देशन दिएको छ ।

‘विभागले भदौ १ गते प्रतिष्ठानलाई लेखेको पत्रमा कार्यालय प्रमुख बिदा बस्दा चार्ज बरबुझारथ गर्नुपर्नेमा निज डिआइजी खत्री २२ दिन बिदा बसेर हाजिरमात्र भएको भन्ने जानकारी मात्र भएको’, उल्लेख गरेको छ ।

२२ दिनसम्म प्रशिक्षण प्रतिष्ठान कसको कमान्डमा थियो भन्ने गम्भीर प्रश्न उठेको जनाउदै त्यहाँ वस्तुस्थितिबारे एसएसपी तिमल्सिनासँग जानकारी लिएको थियो । त्यसबीचमा प्रतिष्ठानमा घटना दुर्घटना भएको भए को जिम्मेवार हुने भन्ने प्रश्न पनि उठेको छ । जबकि, २२ दिन बिदा लिएर उनी श्रीमतीसहित अमेरिकामा मस्त÷व्यस्त थिए ।

त्यतिन्जेल सशस्त्रको एक मात्र प्रतिष्ठान बेबारिसे जस्तै बन्यो । उनी पछिका अधिकृत एसएसपी तिमल्सिनाले पनि यस्तो कुरालाई गुपचुप राख्न खोजेको भन्दै मानवस्रोत विभागले प्रश्न गरेको छ । साथै, प्रहरी महानिरीक्षक राजु अर्यालले यो विषय निकै गम्भीर भएकाले मातहतका निकाय सबैलाई यस्तो गल्ती नदोर्याउन निर्देशन दिएका छन् ।

विगतको ट्रयाक रेकर्डसमेत राम्रो नभएका खत्रीले यसपटक आइजिपीलाई समेत कमाण्ड उल्लंघन गरेर चुनौती दिएका छन् । लामो समय आर्थिक प्रशासन शाखामा रहेका खत्रीको विगत राम्रो छैन । कोषराज वन्तको पालाका लेखा शाखामा भएको आगलागी प्रकरणमा पनि उनको नाम जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्