Logo
Logo

बैंक खातामा घुस


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २२ पुस । केही महिनायता अख्तियारको हिरासत सधैं ‘हाउसफुल’ हुने गरेको छ । विभिन्न प्रकरणमा पक्राउ परेका कर्मचारी आयोगको हिरासतमा नअटेर प्रहरीका अन्य हिरासतमा समेत राख्ने गरिएको छ ।

यसरी हिरासतमा पुग्नेहरुमा धेरैजसो रंगेहात घुससहित पक्राउ परेका कर्मचारीहरु हुने गर्दछन् । घुस लिने प्रयास गरेका र घुस लिएर फिर्ता गर्ने राष्ट्रसेवकहरु समेत यतिबेला आयोगको हिरासतमा छन् ।

अहिले आयोगको हिरासतमा घुस लिएर फिर्ता गर्ने तीन उच्च अधिकारी छन् । जसमध्ये एक हुन् दोलखाका तत्कालिन सिडिओ खगेन्द्र रिजाल । अभद्र व्यवहार मुद्दाका अभियुक्तसँग धरौटी भन्दै घुस लिएका उनले पछि सार्वजनिक हुने डरले फिर्ता गरेका थिए । तर, मिडियामा आएपछि जोगिन सकेनन् । उनले त्यसरी ९० हजार घुस लिएका थिए ।

त्यस्तै घुस लिएर फिर्ता गरेको घटनाको अनुसन्धानमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी पनि आयोगको हिरासतमा छन् । उनीहरुले आठ लाख घुस लिएर फिर्ता गरेका थिए । प्रमाण राखेर घुस फिर्ता गर्दा उनीहरु फन्दामा परेका छन् । बैंक खातामार्फत नै उनीहरुले घुस फिर्ता गरेका थिए । त्यसबारे सूचना पाएपछि आयोगले प्रारम्भिक छानबिन गरी उनीहरुलाई गत १ पुसमा पक्राउ गरेको हो । अनुसन्धान पूरा गरेर उनीहरुमाथि मुद्दा दायरको तयारी भइरहेको छ । उनीहरु यसअघि पनि विभिन्न भ्रष्टाचार प्रकरणमा मुछिएका कर्मचारीहरु छन् ।

अचम्म के छ भने हरेक दिन जसो कर्मचारीहरु पक्राउ पर्दा पनि तर्साएर, दुःख दिएर घुस खाने क्रम रोकिएको छैन । ‘मिलाएर हुने घुसका कुरा त हामीलाई थाहा नै हुँदैन,’ आयोगका एक अधिकारी भन्छन्,‘तर दुःख दिएरै घुस लिने प्रवृत्ती नै घट्न नसक्नु आश्चर्यजनक छ ।’

प्रतिक्रिया दिनुहोस्