Logo
Logo

इरानद्वारा अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण


- दृष्टि न्युज/संवाददाता


FILE Photo, Agency

बग्दात, २३ पुस (एजेन्सी) । इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा इरानले बुधबार क्षेप्यास्त्र आक्रमण गरेको छ । अमेरिकी र इरानी दुवैतर्फका अधिकारीहरुले आक्रमणको घटना भएको पुष्टि गर्दै थप विवरण भने आउन बाँकी रहेको जनाएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । ‘इरानी पक्षले इराकस्थित कम्तीमा पनि दुई ओटा अमेरिकी सैन्य आधार शिविर र गठबन्धनका कर्मचारी रहेको ठाउँलाई लक्षित गरी आक्रमण गरेको प्रष्ट छ’ पेन्टागनले भनेको छ ।
पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरिएको हो । घटनामा परी मानवीय क्षति भएको वा नभएको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले घटनास्थलमा उच्च सतर्कता अपनाइएको जनाएको छ । अमेरिका र इरानले एक अर्काका विरुद्धमा कडा चेतावनी दिइरहेका बेला यो आक्रमणको घटना भएको हो । गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानको सरकारी टेलिभिजनले जनाएको छ ।

इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै इरानी सैन्य कमाण्डर सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको छ ।
इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ भने अमेरिकाले पनि इरानले ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । अमेरिकी रक्षा अधिकारीहरूले आक्रमण भएको क्षेत्रमा रहेका अमेरिकी सैनिक र गठबन्धनका नागरिकहरूको रक्षाका लागि आवश्यक कदम चालिने बताएका छन् । त्यसका लागि राष्ट्रपति ट्रम्पले सुरक्षा विज्ञहरुसँग परामर्श गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्