Logo
Logo

मध्यपूर्वमा सेनाको संख्या बढाउँदै अमेरिका, रुस, चीन र जर्मनीको प्रतिक्रियामाथि खण्डन


- दृष्टि न्युज/संवाददाता


वासिंगटन, २४ पुस (एजेन्सी) । इरानसँग तनाव बढ्दै गएपछि अमेरिकाले मध्यपूर्वमा आफ्नो सेनाको संख्या बढाउने तयारी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि बुधबार राति ह्वाइटमा टेलिभिजनमार्फत सम्बोधन गर्दै मध्यपूर्वमा आफ्नो सेनाको संख्या बढाउने बताएका हुन् ।
इरानले इराकस्थित अमेरिकी सेनाको बेश क्याम्पमा गरेको मिसाइल आक्रमणबाट कुनै क्षति नभएको समेत उनले बताएका छन् । अमेरिकाको सजगता र सतर्कताका कारण त्यस्तो कुनै पनि क्षति नभएको बताउँदै राष्ट्रपति ट्रम्पले अमेरिकी र इराकी नागरिक एवं सैनिकतर्फ पनि कुनै क्षति नभएको बताए ।
अमेरिकी सैन्य आधार शिविरहरुलाई आधार बनाएर इरानले बुधबार बिहान हमला गरेको थियो । इराकी अर्धसैन्य बलका प्रमुखको हत्याको बदला लिने भन्दै इरानले इराकमा रहेको अमेरिकी सैन्य शिविरमा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो । यसैबेला राष्ट्रपति ट्रम्पले सम्बोधन गरेका हुन् । उनले आफ्नो धारणा सार्वजनिक गर्दै मध्यपूर्वमा अमेरिकाको प्रभाव थप बढ्ने पनि बताए । राष्ट्रपति ट्रम्पले यसका लागि आफ्नो सेनाको संख्या मध्यपूर्वी क्षेत्रमा अझै थप्ने बताएका हुन् ।
अमेरिकी सेना विश्वकै शक्तिशाली रहेको बताउँदै राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने दाबी पनि गरे । इरानले अमेरिकाप्रतिको आफ्नो रवैया परिवर्तन गर्नुपर्ने उनको जोड थियो । इरानले आफ्नो कार्यशैलीमा सुधार नल्याएसम्म अमेरिकाले उसमाथिको प्रतिबन्ध जारी राख्ने बताए ।
अमेरिकाको भौतिक सम्पत्ति या नागरिकमाथि इरानका तर्फबाट कुनैपनि प्रकारको आक्रमण भए इरानमाथिको नाकाबन्दीमा अहिलेको तुलनामा थप कडाई गर्ने उनको भनाइ छ । राष्ट्रपति ट्रम्पले आईएसआईका प्रमुख अब्बु अली बग्दादी र इरानी सेनाका सैन्य कमाण्डर कासिम सुलेमानीमाथिको कारबाही गरेर अरु धेरै मानिसलाई बचाएको दाबी पनि गरेका छन् । उनले इरानमाथिको पछिल्लो कारबाहीको विषयलाई लिएर रुस, चीन र जर्मनीले सर्वजनिक गरेको प्रतिक्रियाको खण्डन गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको परमाणु सम्झौता त्यागेर सही काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्