Logo
Logo

प्रतिष्ठानबाट ५ सय टायल बेपत्ता



काठमाडौं । चीनले ३ अर्ब ६० करोड रुपैयाँ लगानीमा सशस्त्र प्रहरी एकेडेमी (केन्द्रीय तालिम केन्द्र) बनाएर ६ वर्ष अघि सशस्त्र प्रहरीलाई हस्तान्तरण ग¥यो । तत्कालीन गृहमन्त्री माधव घिमिरेले नेपाल–चीनबीच सन् २०१३ जुन २५ मा उक्त सम्झौता गर्न भूमिका निर्वाह गरेका थिए ।

उक्त सहयोगमार्फत तिब्बती शरणार्थी प्रवेश र सीमामा उनीहरूको प्रदर्शनमा कडाइ गर्न सशस्त्रको भूमिका खोजेको थियो । चिनियाँ राजदूत यु होङले एकेडेमी हस्तान्तरणका दिन ०७४ चैत ४ गते नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको बताएकी थिइन् ।

सुरक्षा संगठनमा नेपाल प्रहरीको भन्दा सशस्त्र प्रहरीको तालिमकेन्द्र सुविधा सम्पन्न मानिन्छ । सशस्त्र प्रहरीको तालिम केन्द्रमा कमाण्ड गर्न अधिकृतहरुबीच प्रतिस्पर्धा हुने गरेको छ । भदौको ४ गतेसम्म सशस्त्र प्रहरीका डिआइजी अभि खत्रीले कमाण्ड गरेका थिए । हाल उनी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको सहयोगमा लुम्बिनी प्रदेशको बाहिनी कमाण्ड गर्न पुगेका छन् ।

लुम्बिनी प्रदेशमा उनी गएपछि पूर्व क्षेत्रबाट केही महिना अघिमात्रै मूख्यालयमा आएका कमल गिरीलाई पठाइएको छ । गिरीले कमाण्ड सम्हालेपछि त्यहाँको वस्तुस्थितिको अवलोकन गर्ने क्रममा चीन सरकारले मर्मतसम्भारका लागि स्पियर पार्टसको रुपमा छाडेको ५०० भन्दा बढी टायल हराएको पाइयो ।

‘चीन सरकारले मर्मतसम्भारका लागि उपयोगी हुने पार्टसको रुपमा छाडेको ५०० वटा टायल भेटिएन, त्यस्तै प्रकृतिको टायल यसअघि एकेडेमीमै रहेका डिआइजी शम्भू सुवेदीले घरमा लगाएका थिए । अहिले पनि उनको घरमा गएको भनेर गोप्य चेक जाँच गर्दा त्यहाँ भेटियो’, स्रोतले भन्यो । सरकारी सम्पत्ति कसैको घरमा किन पुर्याइयो भन्दा यसअघिका डिआइजी खत्रीकै सहमतिमा सुवेदीले टायल घरमा लगेको स्रोतको दाबी छ । ‘उनी अमेरिकबाट २९ गते हाजिर भएका थिए २ गते सो टायल सुवेदीको घरमा पठाइदिएको पाइएको छ’, स्रोतले भन्यो ।

सशस्त्रले कारवाहीको संकेत गरेको डिआइजी खत्री नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको सोर्समा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले एउटा कमान्डमा बहाली रहेकै बेला अर्को कार्यालयमा कमान्ड गर्न पठाएर पुरस्कृत गरेपछि उनी आइजीपीलाई ललकार्दै हिडेका छन् ।

प्रदेशमा दुई लामो समय बसेर आएका गणेश ठाडा मगर र किशोर प्रधानलाई चक्मा दिएर उनी त्यता लागेका हुन् । यस्तै सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय, कैलाली सरुवा गरिएको छ ।

उनी पनि ‘कमान्ड टु कमान्ड’ जाने अर्का भाग्यमानी हुन् । एसएसपी प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिग्विजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय सुनसरीबाट सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्