Logo
Logo

‘पशुशाला‘मा ‘मानव’को खोजी



काठमाडौँदेखि दूरदराजका आममानिसलाई लाग्दो हो
बाघको मुखौटो पहिरिएका डमीहरूको बजार
अथवा जिउँदा, जाग्दा पाटे बाघहरूको चिडियाघर
वा लाग्दो हो बाघका छाला नङ्ग्रा, दाह्रा, खप्पर पाइने ठाउँ
यहाँ जिउँदा बाघहरूको हुँकार होइन
अघाएका समाजवादी सम्भ्रान्तहरूको डकार सुन्न पाइन्छ– ढ्याउ
माक्र्स नपढेकामा तपाईँलाई मान्छे स्विकारिने छैन
बागबजारका गल्लीहरूबाट गुज्रिँदै गर्दा
तपाईँले समाउनुपर्ने छ गोर्कीको कुनै उपन्यास
अठारौँ शताब्दीका नाराहरू घोकेर फलाक्न सकेकामा
तपाईँ विद्वान् कहलाउनुहुनेछ
तपाईँले घोषणापत्र नपढेकामा हुर्मत लिइने छ तपाईँको
बागबजारका ढलहरूमा जन्मन्छ समाजवाद ।
(सुरज आचार्य मेटोफोरिकल, ‘बागबजार’, ‘नेपालप्रेस डटकम’, २०८० भदौ ३)

नेपालको विमानस्थलबाट तस्करले हात्ती छिराउँछ भन्ने उखान नै छ । यसलाई कहावत भन्ने कि यथार्थ भन्ने, यस पालि सुनको हात्ती नै छिराइदियो– सय किलोग्राम अर्थात् एक क्विन्टल पहेंलो हात्ती ।

त्यसमा भोलिका उम्दा उम्दा राजनीतिकर्मी नै परेको आरोप लगाइँदै छ । नेपालका शक्तिशाली राजनीतिकर्मी, मन्त्रीहरूको सहयोग, समर्थनविना यस्तो काम अरूले गर्नै सक्दैनन् भन्ने विचार पनि केही दलका नेता तथा जनताबाट आएको छ ।

नक्कली भुटानी प्रकरण र सरकारी भवन र जग्गा रहेको बालुवाटारको ललिता निवासको प्रकरणबीच आएको सुनको स्याउ काण्डले पनि एक नेतालाई तानेपछि कानुन तथा न्यायमन्त्रीले तिनलाई हात्ती नै भन्ने संज्ञा दिए ।

सुनको हात्ती प्रकरण चल्दा चल्दै कञ्चनपुरमा एक ढोई सेफ्टी ट्यांकीमा परेर मरिन् । खुट्टा तल तर सूँढ र पुच्छर माथि नै परेपछि सास फेर्न नसकेर ती पोथी हात्तीको अन्त्य भयो । यसलाई मानवीय कमजोरी भन्ने कि भवितव्य, अलमल छ । त्यही ढोईले केही वर्षअघि नै एक किशोरीको ज्यान लिएकाले त्यसैको अभिशाप परेको हो कि ? हात्तीको मासु खानु हुन्न, के गर्नू ? एक वर्ष मानव बस्तीमा पुगेपछि हात्तीको जात अर्काे वर्ष सोही बाटो हुँदै आउँछ भन्छन् । त्यसो भए खै त हात्ती नियन्त्रण तयारी ?

जनावर भनेका पर्यावरणका अङ्ग हुन् । इकोसिस्टमलाई सन्तुलनमा ल्याउन पृथ्वीका हरेक कीटाणु, जीवजन्तु, वनस्पति, तालतलैया, नदीनाला, खोला आदि र मान्छेको भूमिका हुन्छ । पृथ्वीमा मान्छेको सङ्ख्या पनि बढेको बढ्यै छ । जनावर पनि बढेअनुसार नै तिनका आहारविहार, बासस्थानको व्यवस्था खै ?

अहिले अनेकथरि डेँगी महामारी, आँखा पाक्ने रोग, लम्की स्किन– के के रोगले सताउँदै छ, सताउँदै छ । यी लामखुट्टे तथा ससाना किट, भाइरससँग नै सम्बन्धित हुन् । झन् परार कोरोना महामारी, पोहोर डेँगी, यसपालि डेँगी, पशुमा लम्की स्किन, मानिसमा आँखा पाक्ने रोग–यी रोग त छँदै छन्, मरेका पशुपन्छी बेचेर व्यापारी, होटेलवाला आदिले उपभोक्तालाई बिरामी बनाएको बर्साैँदेखिको हर्कत बनाएको कुरा पनि स्पष्ट छ ।

छिमेकी मुलुकबाट ल्याइएका प्याकिङ कुखुरा र स्वदेशकै बाख्रा, खसी, बोका आदि जनावर पनि मारिनुभन्दा अघि नै मरेपछि मासु बेच्ने व्यापारीका करामतले लाग्ने रोगबारे खाद्य गुणस्तर तथा नियन्त्रण कार्यालय आदि के हेरी बस्दा हुन् ? समाजवादका हिमायती भनाउँदा शासकहरूले आन्तरिक बजार खोस्ने गरी छिमेकीबाट आयातीत सामग्रीले ससाना व्यापारी कसरी मर्छन् भन्ने खै बुझ्न सकेका ?

तपाईँ पत्याउनुहुन्छ, कृषिबाट समाजवाद ल्याउने समाजवादी नायकहरूले पशुमा लाग्ने खोपलाई बजेट नै छुट्याउनै बिर्सेछन् । सरकारले पशुपक्षीसँग सम्बन्धित निकायमा त बजेट शून्यमा नै पुर्याएको रेछ । पशु क्वारेन्टाइन कार्यालय, पशु रोग अन्वेषण प्रयोगशाला, केन्द्रीय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, राष्ट्रिय दुग्ध विकास बोर्डलगायत कार्यालयको बजेट जिरो । लम्पी स्किन, बर्डफ्लु फैलिएका अवस्थामा समेत सरकारले यससँग सम्बन्धित कार्यालयलाई बजेट नै दिँदैन ।

पशुपक्षी क्षेत्रको आयातनिर्यात, पशु रोग नियन्त्रणमा प्रत्यक्ष काम गर्ने पशु सेवा विभागका सरकारी संरचना, दुग्ध विकास बोर्डलगायत संस्था खारेजी तथा पुनःसंरचना गर्ने सरोकार पक्षको रायसुझाव नलिई सुनुयोजित ढङ्गबाट निर्णय भएको आरोप ती विषयसँग सम्बन्धित निजी क्षेत्रले नै लगाएको छ ।

किसानको खर्बाैंको क्षति हुँदा पनि पशुपक्षीको रोग नियन्त्रण र उपचारमा सक्रिय रूपमा परिचालन हुनुपर्ने निकायमा शून्य बजेट भई काम नै ठप्प गरी बस्नुपर्ने अवस्था कसरी सिर्जना भयो, खोज्ने हो त ? पशुपक्षी क्षेत्रको उत्पादनलाई सङ्कुचित पार्ने र फेरि पनि नेपाललाई दूध, माछा, मासु र अन्डाको डम्पिङ साइट बनाई नेपालका पशुपक्षी उद्योग धराशायी गराइने प्रयत्न कसबाट हुँदै छ, देशको समग्र अर्थतन्त्र र मानव स्वास्थ्यमा गम्भीर असर कसले पारिरहेको छ, पत्ता लगाउनैपर्छ । त्यही छिमेकको मध्यप्रदेश, इन्दौरमा कुकुरका विषयमा मालिक मालिकबिचको झगडामा दुई जनाले त हालै ज्यानै गुमाए ।

यस वर्ष नेपालमा बाघको सङ्ख्या वृद्धि भएको खबर पनि आयो । सन् २०१० (विसं २०५६तिर) नेपालले बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको र त्यो सफल भई ३५५ वटा भयो । ठूलो बिरालो बढ्न त बढे तर मानिससँगको द्वन्द्व कसरी न्यून गर्ने ? मानिसले बाघको बासस्थान जङ्गल मास्दै गएपछि दुईको जम्काभेट त कुनै न कुनै बेला हुने नै हुन्छ ।

जनावर भनेका पर्यावरणका एक अङ्ग हुन् । इकोसिस्टमलाई सन्तुलनमा ल्याउन पृथ्वीका हरेक कीटाणु, जीवजन्तु, वनस्पति, तालतलैया, नदीनाला, खोला आदि र मान्छेको भूमिका हुन्छ । पृथ्वीमा मान्छेको सङ्ख्या पनि बढेको बढ्यै छ । जनावर पनि बढेअनुसार नै तिनका आहारविहार, बासस्थानको व्यवस्था खै ?

रमाइलो कुरा, जमानामा बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रको चखुँचा अर्थात् भङेराले पानी खाने खोला नै खहरे भनी सबै मिली सडक बनाउन पुरेका रहेछन् । आफ्नो क्षेत्रको खोलै पुरिएपछि चरा पनि पानी खान कहाँ जाओस् ? हाम्रै घर वरिपरि पाइने भङेराको सङ्ख्या घटेको समाचार बेलाबखत पत्रपत्रिकामा आइरहन्छन् । तिनको पानी खाने अधिकार खोसेर जाति नै मास्नेतिर त मान्छे नै पो लागेका रहेछन् । अहिले वर्षामा खोलाले आफ्नो नदीपथ खोज्दै आउँछ त खोलाको के दोष ?

‘गोहत्याले निम्त्याउँछ प्राकृतिक विपत्ति
गाई हाम्री जननी, सनातन धर्मको सम्पत्ति’,

‘गोहत्या जघन्य अपराध हो, त्यसैले गोवंशको संरक्षण गरौँ’ भनी वैदिक सनातन धार्मिक महासङ्घले अभियान नै चालेको छ भने अन्यले सोही भावका सन्देश, नारा सामाजिक सञ्जालभरि नै आएका छन् । जुन समाज, देशमा जे वर्जित छ, त्यसको उल्लङ्घन गर्न पाए मान्छे यहाँ आफूलाई महान् ठान्छ ।

गौवंशको गोरु काटेर खाने र प्रहरीबाट छुटेर आएपछि उत्सव गर्दै धरानमा कसरी गोरु खान सकेका मान्छेले ? गाईगोरु काट्ने, गोरु निकासी गर्ने यस्ता कर्म यहाँ भइ नै रहेका छन्, सरकार, प्रहरी सबैको पछि लाग्न सक्दैन पनि । राष्ट्रिय जनावरको मान्यता बुझ्न, बुझाउन स्थानीय तहहरू पनि सक्रिय हुनुपर्छ । कुनै जातिको अधिकार र चलनचल्ती भन्दैमा सविधान उल्लङ्घन गर्ने छुट कसैलाई छैन ।

अहिले एउटा तन्नेरी लाठे बाबाजी वानरराज हनुमानको कथा वाचन गर्न आइपुगेका छन् जसले देशका उपप्रधानमन्त्रीकै भेट पाए । तिनै बाबाजी भन्दै छन्, नेपाल भारतको अभिन्न अङ्ग । हरे यो देशलाई कति हेप्न सकेको छिमेक र छिमेकीका साधु भनाउँदाले ? मान्छे नै हिंस्रात्मक पशु भएपछि कसको के लाग्छ ? अधिनायकवादी शासन राज्य पशुशालामा कस्ता कस्ता मानवहरू आफ्ना रूप र स्वरूप देखाउँछन् भन्ने बुझ्न त जर्ज अर्वेलको ‘अनिमल फार्म’ नै पढ्नुपर्छ ।

२०८० भदौ ४

प्रतिक्रिया दिनुहोस्