Logo
Logo

लेबनानमा सरकार पुर्नगठनको माग गर्दै जनप्रदर्शन


- दृष्टि न्युज/संवाददाता


बेरुत, २७ पुस (एजेन्सी) । लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले प्रदर्शन गरेका छन् । राजधानी बेरुतस्थित प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीले प्रदर्शन गरेको जनाइएको छ ।
दियब प्रधानमन्त्रीमा नियुक्त भएकोमा उनीहरुल असहमति जनाउँदै आएका छन् । भ्रष्ट राजनीतिक पार्टीहरुको सहयोगमा उनी प्रधानमन्त्री भएको भन्दै उनलाई अस्विकार गर्दै आएका छन् । अहिलेको सरकारले पनि देशको आर्थिक चुनौतीहरुलाई सामना गर्न नसक्ने भएकाले विरोध गर्नुपरेको आन्दोलनकारीहरुको भनाइ छ ।
आन्दोलनकारीहरुको मागलाई सरकारले बेवास्ता गरिरहेको एक आन्दोलनकारीको आरोप थियो । प्रदर्शनकारीले देशव्यापी आन्दोलनको तयारी भइरहेको जानकारी दिए । उनीहरुले स्वतन्त्र व्यक्तिहरुको सहभागीतासहित सरकारको पुनर्गठन गर्न माग गरेका छन् ।
देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उनीहरु सक्षम रहने आन्दोलनकारीहरुको दाबी रहेको छ । तर, नयाँ प्रधानमन्त्री दियब भने सरकार पुनर्गठनका लागि असफल हुँदै आएका छन् । उनलाई सघाएका विभिन्न दलहरुको दवावका कारण उनी सरकार पुनर्गठन गर्न असफल भएको बताइएको छ ।
लेबनान अहिले आर्थिक कारणले खतरापूर्ण अवस्थामा रहेको छ । असफल राजनीतिक नेताहरुका कारण मुलुक यो अवस्थामा पुगेको आन्दोलनकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्