Logo
Logo

डिबीको ‘नियत’माथि रेखाको प्रतिक्रिया, ‘फिल्म क्षेत्रमा पुरुष पनि पीडित छन्’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ पुस । पत्रकार डिबी खड्काको खोजमूलक कृति ‘नियत’ सार्वजनिक भएको छ । सोमबार राजधानीको कमलादीस्थिित प्रज्ञा भवनमा एक कार्यक्रमबीच अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले उक्त कृतिको सार्वजनिक गरेका छन् ।
करिब एक दशकदेखि रंग पत्रकारितामा सक्रिय हुँदा फिल्म क्षेत्रमा देखेका र सुनेका रंगहीन पाटोलाई पुस्तकमा समेटेका छन् । कार्यक्रममा बोल्दै पत्रकार तथा लेखक खड्काले भने, ‘रंगीन दुनियाँका रुपमा चिनिने फिल्म क्षेत्रमा उज्यालो पक्ष भएर पनि केही अँध्यारो पक्ष्ाँलाई समेटेर पु्स्तक तयार गरेको बताए । उनले भने, ‘यो पुस्तक कसरी तयार भयो ? भन्ने सुरुमा म आफैमाथि पनि प्रश्न गरेको थिएँ किनकि, फिल्म क्षेत्रमा उज्यालो पक्ष नभएको होइन । तर, कतिपय अवस्थामा नियतवस अँध्यारोमा धकेलिएको पनि पाएँ । आज त्यही अँध्यारो पक्षलाई समेटेर ‘नियत’ तयार गरेको छु ।’
उनले पुस्तकमा कलाकारिता क्षेत्रमा प्रवेश गर्दा वा संघर्ष गरिरहँदा महिला कलाकारले भोगेका कथा र उनीहरूमाथि त्यही क्षेत्रका मानिसले हेर्ने गलत नियतलाई कथाका रुपमा प्रस्तुत गरेका छन् ।
कार्यक्रममा अभिनेत्री रेखा थापाले ‘नियत’ माथि चर्चा गर्दै फिल्म क्षेत्रमा केही मानिसको गलत नियतका कारण प्रतिभा भएका कलाकारहरुको पलायन भएको दृष्टान्त भएको बताइन् । उनले भनिन्, ‘त्यसो भनेर फिल्म क्षेत्रमा महिलामात्र पीडित छैनन्, यो क्षेत्रमा पुरुष पनि पीडित र शोषित छन् ।’ उनले नेपाली फिल्म क्षेत्रमा महिलाहरु पनि अग्रसर रहेको बन्दै आगामी दिनमा पीडित पुरुषहरुको पनि वास्तविकता पुस्तकमा आउनुपर्ने बताइन् । अभिनेत्री थापाले भनिन्, ‘अहिले जति पनि फिल्म क्षेत्रमा महिला कलाकारहरु छन्, उनीहरु सबैको दृष्टान्त बोल्छ यो पुस्तकले । त्यसमा म मात्र नभएर करिश्मा, गौरी सबैको कथाव्यथा बोल्छ ।’
यस्तै, अर्की अभिनेत्री स्वस्तिमा पहिलोपटक ‘नियत’ पुस्तक आफ्नो हातमा परेपछि केही पाना पढेर आफू रोकिएको सुनाइन् । उनले भनिन्, ‘नियतले साँच्चीकै फिल्म क्षेत्रमा विद्यमान गलत मानसिकताले महिला कलाकारमाथि हेरिने नियतलाई उजागर गरेको रहेछ ।’
त्यस्तै, रंगकर्मी लक्ष्मी बर्देवाले पुस्तक पढेपछि कलाकारिता क्षेत्रमा प्रवेश गरेपछि आफूले भोगेका कथाहरु पाएको सुनाइन् । उनले भनिन्, ‘यो पुस्तकले अहिले फिल्म क्षेत्रमा भएका महिला कलाकारको मात्र कथाव्यथा उनेको छैन, भावी कलाकारले समेत यो पुस्तकबाट धेरै कुरा सिक्नेछन् ।
नेपाली साहित्यिक बजारमा दैनिक नयाँ पुस्तकहरु आइरहेका हुन्छन् । तर, फिल्मी क्षेत्रको दृष्टान्तलाई समेटेर प्रकाशनमा ल्याइएको सायद यो पहिलो पुस्तक हो । यस पुस्तकलाई युरेका पब्लिकेसनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्