Logo
Logo

संस्कारविहीन राजनीति र भ्रष्टाचारमा चुर्लुम्म नेता




राजनीति भन्ने कुरा पद र प्रतिष्ठासँग मात्र जोडिएको हुन्न । राजनीति भन्ने कुरा उच्च संस्कारसँग जोडिएको हुन्छ । राजनीतिमा लागेका नेता, कार्यकर्ताहरुमा उच्च संस्कार भएन भने त्यसले अराजकता निम्त्याउँछ ।

अहिले नेपालमा भइरहेको राजनीति, राजनीति नभएर अराजकता हो । बिना कारण महिनौंसम्म संसद् अवरुद्ध गर्नु, प्रधानमन्त्री, मन्त्रीहरुले संसद्मा बोल्दा होहल्ला गर्नु, शून्य समयमा जथाभावी आरोप लगाउनु अराजकताका केही उदाहरण हुन् । यस्तो क्रियाकलाप जो कोहीबाट भए पनि त्यसमा सुधार हुन सकेन भने राजनीतिप्रति आम नागरिकको वितृष्णा जाग्छ ।

अहिले देशमा भइरहेको अराजक गतिविधि पनि त्यही वितृष्णाको परिणाम हो । कोशी प्रदेशको नामकरणबाट एकथरि आन्दोलित छन् । त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने कुरामा राजनीतिक दलका नेताहरु एकमत हुन सकेका छैनन् । बरु उल्टै दलका नेताहरु आगोमा घिउ थप्न उद्यत छन् ।

यसरी न त समाज अगाडि बढ्छ, न त देश नै । दलीय स्वार्थका लागि गरिने यस्ता गलत हर्कतले डरलाग्दो परिणाम निम्त्याउन सक्छ भन्नेतिर दलका नेताहरुको ध्यान जानुपर्छ ।

संस्कारविहीन राजनीतिमा नेताहरु भ्रष्टाचारमा चुर्लुम्मै डुबेका छन् । भ्रष्ट नेताहरुबाट सुशासनको अपेक्षा गर्न सकिन्न । कमसेकम अहिले भइरहेको भ्रष्टाचारविरोधी अभियानमा समेत दलका नेताहरु एकमत हुन नसक्नु मुलुकका लागि दुर्भाग्य हो ।

संघीयता हाम्रोजस्तो गरिब देशका लागि नौलो अभ्यास हो । सबै मिलेर संविधानमा संघीयता स्वीकार गरिसकेपछि त्यसको स्थायित्व र समृद्धिका लागि के गर्नुपर्छ भन्नेतिर सोच्नुपर्छ । तर, दुर्भाग्य सत्तापक्ष र प्रतिपक्षले कोशी प्रदेशमा तमाशा देखाइरहेका छन् ।

गत निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका दलहरुसमेत कोशी प्रदेशमा विभाजित छन् । जसले गर्दा प्रदेश नै देशका लागि घाँडो बनेको हो कि जस्तो मनोविज्ञानले जरा गाड्न थालेको छ । त्यसले प्रदेश खारेज गर्नुपर्छ भन्ने दलहरुलाई बल पुगेको छ । यस्तै चाला हो भने २०८४ को निर्वाचनमा प्रदेश खारेजीको पक्षमा लागेका दलहरुले बहुमत ल्याउने छन् ।

प्रमुख राजनीतिक दलहरुबीचको असझदारीले देश असफल मात्र भएको छैन, राजनीतिक प्रणालीमाथि समेत प्रश्न उठ्न थालेको छ । नयाँ संविधान जारी भएको दश वर्ष बित्न नपाउँदै सबैको असन्तुष्टि चुलिँदै जाने हो भने त्यसले अर्को विद्रोह ननिम्त्याउला भन्न सकिन्न ।

केही साता अगाडि धरान र इटहरीमा देखिएको आन्दोलन त्यही विद्रोहका झिल्का हो । त्यसमाथि संघीयता खारेजीको कुराले देशैभरि ठूलो विद्रोह निम्त्याउने कुरामा दुईमत छैन । त्यतातिर नेताहरुको ध्यान गएको छैन । नेताहरु केवल सत्ताको दाउमा फोहरी खेल खेल्नमै व्यस्त छन् ।

हाम्रा नेताहरुको गैरजिम्मेवार अभिव्यक्ति, चरित्र र आचरणले गर्दा लोकतन्त्र पनि समृद्ध हुन सकेको छैन । ठूलो कुरा राजनीतिक संस्कार र आचरण हो ।

हामीले वर्षभरि विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीको नाममा वार्षिक पुण्यतिथि त मनाउँछौं, तर ती नेताहरुको विशिष्ट गुणलाई अवलम्बन गर्दैनौं । यही नै हाम्रो कमजोरी हो । यो कमजोरीलाई नसच्याइकन राजनीति सङ्लो हुन सक्दैन । दुर्गन्धित राजनीतिले देशलाई सही बाटोमा डोहो¥याउन सक्दैन ।

त्यसैले, राजनीतिमा लाग्नेहरुले सबैभन्दा पहिला आफू केका लागि राजनीतिमा लागेको हो भन्ने कुरा आत्मसमीक्षा गर्नुपर्छ । आफूभित्र भएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्छ । केवल सत्ताका लागि राजनीति गर्ने र सत्तामा पुगेपछि देश लुट्ने कुराले देश बन्न सक्दैन ।

तीन दशकदेखि देशमा भइरहेको पनि लोकतन्त्रको आवरणमा लुटतन्त्र नै हो । संस्कारविहीन राजनीतिमा नेताहरु भ्रष्टाचारमा चुर्लुम्मै डुबेका छन् । भ्रष्ट नेताहरुबाट सुशासनको अपेक्षा गर्न सकिन्न । कमसेकम अहिले भइरहेको भ्रष्टाचारविरोधी अभियानमा समेत दलका नेताहरु एकमत हुन नसक्नु मुलुकका लागि दुर्भाग्य हो ।

प्रतिक्रिया दिनुहोस्