Logo
Logo

गायिका राउतविरुद्ध काठमाडौं परिसरमा उजुरी दर्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ । गायिका आस्था राउतविरुद्ध ‘अभद्र व्यवहार’को कसुरमा महानगरीय प्रहरी परिसर काठमाडौंमा औपचारिक उजुरी दर्ता भएको छ । गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले राउतले आफूमाथि ड्युटीमा रहेको बखत ‘गालीगलौज’ र ‘अभद्र व्यवहार’ गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा उजुरी दिएकी थिइन् ।
महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले प्रहरी जवान श्रेष्ठको उजुरी र उक्त घटनाको सीसीटीभी फुटेज महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी पठाएको थियो । प्रहरी आयुक्तको कार्यालयले सीसीटीभी फुटेज र जवान श्रेष्ठको उजुरीलाई आधार मान्दै काठमाडौं परिसरलाई औपचारिक रुपमा उजुरी दर्ता गरेर गायिका राउतमाथि कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो । आयुक्त कार्यालयको निर्देशनपछि औपचारिक रुपमा उजुरी दर्ता भएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेर गायिका राउतलाई अनुसन्धानका लागि झिकाउन प्रक्रिया अगाडि बढाएको छ ।
सार्वजनिक सिसिटिभी फुटेजमा विमानस्थलमा सुरक्षा जाँचका क्रममा राउत र प्रहरी जवानबीच वादविवाद भइरहेको देखिन्छ । उक्त विवादपछि राउतले फेसबुकबाट प्रहरीलाई गाली गर्दै आक्रोश पोखेपछि घटनाले ठूलो रुप लिएको हो ।

कारबाही के हुन्छ ?
मुलुकी अपराध संहिता ऐन–२०७४को दफा ११८ अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन। त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्