Logo
Logo

प्रधानमन्त्रीको चीन भ्रमणले जुराउला वाम गठबन्धन ?



काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीको बलियो सरकार भएको बेला बीआरआई कार्यान्वयन होस् भन्ने चिनियाँहरूको चाहना थियो । त्यसैले प्रत्यक्ष अप्रत्यक्ष रुपमा कम्युनिष्ट पार्टीहरू एक ठाउँमा ल्याउन चिनियाँहरू सफल पनि भए । तर, कम्युनिष्ट पार्टीहरूलाई मिल्न नदिने तत्व बालुवाटारभित्र हाबी भएका कारण दुई तिहाईको सरकार मात्र ढलेन, दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी पनि फुट्यो ।

यस्तो अवस्थामा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चीन भ्रमण गर्दैछन् । प्रचण्ड चीन भ्रमणमा निस्केलगत्तै एमाले सरकार ढाल्ने खेलमा लागेको छ । त्यसैपनि कांग्रेसको टेकोमा प्रधानमन्त्री बनेका प्रचण्ड कमजोर छन् नै, त्यसमाथि कांग्रेस एमालेसँग मिलेलगत्तै प्रचण्ड सरकार ढल्ने भएकाले उनको यस भ्रमणबाट धेरै आशा गरिनु हुन्न ।

तै पनि, नेपालका कम्युनिष्टहरू मिलुन् भन्ने चाहाना चिनियाँहरूको रहेको बुझिन्छ । त्यसैले नेपालका कम्युनिष्ट पार्टीका नेताहरूलाई चीन भ्रमणमा निम्ता दिएर आफ्नो शुभेच्छा चिनियाँहरूले प्रकट गर्ने गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्यूयोर्कबाटै असोज ५ गते चीन प्रस्थान गर्दैछन् । हालै चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा किन समेटिएन भन्ने प्रश्न नेपालीहरुका लागि महत्वपूर्ण होला तर, बीआरआइ नेपालमा किन कार्यान्वयन भएन भन्ने चिनियाँहरूको चिन्ताको विषय रहेको छ ।

एमसिसीमा चीनको विरोध हुँदाहुँदै नेपालको संसद्बाट एमसिसी पास भएर पनि कार्यान्वयनको बाटोमा जाँदा सन् २०१७ मा सहमति भएको बीआरआई ६ वर्ष बितिसक्दा पनि कार्यान्वयन हुनसकेको छैन । एमसिसीमा जस्तो बीआरआईमा नेपाल र नेपाली जनताको विरोध पनि देखिँदैन । तर पनि कार्यान्वयन गर्न सरकारले किन खुट्टा कमाइरहेको छ ? भन्ने प्रश्न उठेको छ ।

नेपालको पूर्वाधार विकासमा दुई छिमेकीलाई मिलाएर लैजान नसक्दा यो समस्या उत्पन्न भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दुईतिहाइको सरकारलाई बीआरआई कार्यान्वयन गर्ने अवसर थियो । तर, तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको कारण बीआरआई कार्यान्वयनमा ढिलाइ भयो ।

स्रोतका अनुसार खतिवडा बीआरआई कार्यान्वयन गर्नभन्दा एमसिसी कार्यान्वयन गर्न हतारिएकोले बीआरआई ओझेलमा प¥यो ।

यसै सन्दर्भमा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली जेठको दोस्रो साता चीन भ्रमण गएको थियो । अध्ययन भ्रमणको नाम दिएर गएको सो भ्रमणमा माओवादीको प्रायः उच्च नेताहरू नै सहभागी भएका थिए । भ्रमण सिध्याएर नेपाल फर्केपछि सापकोटाले चीन भ्रमण असाध्यै फलदायी भएको बताएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा १५ दिन लामो चीन अध्ययन भ्रमण पूरा गरेर स्वदेश फर्किएपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले दुई पार्टीका बीच एक अर्कालाई सहयोग गर्ने लगायतका विषयमा निकै फलदायी कुराकानी भएको बताएर चीनको सहयोग आवश्यक रहेको आशय प्रकट गरेका थिए ।

त्यतिबेला उनले चिनियाँ पक्षको के के विषयमा चासो थियो भनेर खुलस्त कुराकानी गरेका थिएनन । एउटा स्मरणीय पक्ष के छ भने, उनले आगामी दिनमा चीन भ्रमणलाई व्यवस्थित गर्नका लागि र अभिलेखिकरण राख्नका लागि समिति बनाइएको जानकारी दिएका थिए । अभिलेख राख्नुको कारण भने उनले खुलाएनन ।

उनी फर्केको ठिक दुई महिनापछि नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली चीन भ्रमण गरेर भर्खरै फर्किएको छ । उनीहरूले पनि त्यहाँ सहयोग आदानप्रदान मात्र होइन सम्झौता नै गरिसकेका छन् । यसो हेर्दा यी दुई पार्टीबीच चिनियाँ कम्युनिष्ट पार्टीलाई रिझाउने प्रतिस्पर्धा देखिन्छ भने अर्को तर्फ आफ्नो पुरानो परियोजना बीआरआइमार्फत नेपालमा चीनको वर्चश्वलाई प्रभावकारी बनाउन चाहिरहेको देखिन्छ ।

दुई पार्टीका नेताहरूबीच त्यहाँको सरकारले सो परियोजनाबारे चासो राखिसकेको छ । उनीहरूले चिनियाँ परियोजनालाई नेपालमा लागू गर्ने बचन दिइसकेका छन् । यता सरकार टिकाउन बनेको समाजवादी मोर्चा पनि चिनियाँहरूसँग नजिक रहेका दलहरू नै सहभागी छन् ।

माओवादी नेता वर्षमान पुनले एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड जोखिम मोल्न सक्ने नेता भएको बताउदै दुवै पार्टी बीचको सहकार्य हुन सक्ने बताएका छन् । पुन तिनै नेता हुन जसले पुस १० मा एमालेसँग सहकार्य गर्न प्रचण्डलाई बालकोट पुर्याएका थिए । लामो समय चीनमा उपचार गरेर नेपाल फर्केका पुन अहिलेपनि एमाले–माओवादी मिल्नुपर्छ भन्नेमा छन् ।

अब हेर्नु छ, प्रचण्ड चीनबाट फर्किएपछि कम्युनिष्टहरू मिलेर अगाडि बढ्छन् अथवा कम्युनिष्टकै कारण सरकार ढल्नेछ ।

प्रतिक्रिया दिनुहोस्