Logo
Logo

आजदेखि सूर्यविनायक-रत्नपार्क २५ वटा द्रुत बस सञ्चालन


2.1k
Shares

काठमाडौं । भक्तपुरको सूर्यविनायकदेखि काठमाडौको रत्नपार्कसम्म आजदेखि २५ वटा द्रुत बस चल्ने भएका छन् । अहिलेलाई पिक आवर बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

हिजो दुई वटा बस सञ्चालन गरिएको र आजदेखि २५ वटा बसले नियमित सेवा दिने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा विभागले २५ वटा ठूला बसको व्यवस्थापन गरेको हो ।

संविधान दिवसको अवसर पारेर सरकारले हिजोदेखि द्रुत बस सेवा सञ्चालन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका थिए । द्रुत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकमा रातो रङले ‘डेडिकेटेड लेन’ नै छुट्याइएको छ ।

द्रुत बस सञ्चालन हुने समयमा अत्यावश्यकबाहेकका गाडी यो लेनमा प्रवेश गर्न नपाउने विभागका प्रवक्ता पनेरूले बताए । तर एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बस भने यो लेनमा चलाउन पाइनेछ । विभागका अनुसार रातो बत्ती बलेका बेलामा पनि द्रुत बस रोकिने छैनन् । त्यस्ता बस एम्बुलेन्स तथा अत्यावश्यक गाडी जस्तै गुड्ने छन् ।

सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा नै पुग्न सकिने विभागले जनाएको छ । द्रुत बसका लागि रत्नपार्कदेखि सूर्यविनायकसम्म १९ ठाउँमा स्टप तोकिएको छ । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने ठाउँमा बसस्टप तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्