Logo
Logo

धर्मका नाममा हुने राजनीतिले पार्ने प्रभाव



जब म राम्रो गर्छु, राम्रै अनुभूति गर्छु, जब म नराम्रो गर्छु, तब नराम्रै महसुस गर्छु, र त्यो नै मेरो धर्म हो –अब्राहम लिन्कन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका क्रममा उज्जयनमा गेरुवस्त्र धारण गरेर महाकालेश्वर दर्शन गराउनु र स्वदेश फर्केपछि पशुपतिनाथ दर्शन गराउनु नेपाललाई हिन्दू राज्य पुनःस्थापना गराउने सिलसिला हो भन्ने एकथरिको विश्लेषण छ ।

दश वर्षे जनयुद्धका कमान्डर, जो अहिले राष्ट्रको कार्यकारी भूमिकामा छन्, त्यस्तो कट्टर कम्युनिष्ट नेतालाई साम्यवादबाट अध्यात्मवादको ३६० डिग्रीमा घुमाउन सक्नुलाई चानचुने कुरा मान्न सकिन्न । यस पछाडिका रहस्यहरु विस्तारै खुल्दै जानेछ ।

अझ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र उनको राजनीतिक दलले राजतन्त्र पुनःस्थापनाको माग गर्नु, पूर्वराजा ज्ञानेन्द्र शाह मठमन्दिर धाउन थाल्नु तथा स्थानीय जनताबाट पूर्वराजाको भव्य स्वागत गरिएको देखाउनुले पनि नेपाली जनताको मनोविज्ञानमा असर परेको छ । त्यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चितवन ठोरी क्षेत्र नै अयोध्या भएको भनी बोल्न लगाउनु र पशुपतिनाथमा करोडौँ मूल्यको जलहरी राख्नुले पनि केही कुराको संकेत गर्छ ।

अझ गत साउन महिनामा ओली पशुपतिनाथमा विशेष पूजा गराउनसमेत तल्लीन हुन लागेको कुरा मिडियाले उजागर गरेकै थियो । मठमन्दिर धाउन वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल पनि अहिले सक्रिय नै छन् । जो हिन्दू महत्वका धार्मिकस्थल मात्र दर्शन गरिरहेका छन् ।

नेपाल जस्तो सानो तर धार्मिक विषयमा अति नै संवेदनशील देशमा सबै राजनीतिक दल, वर्ग, समुदाय, सम्प्रदाय, धार्मिक समूह अति नै गम्भीर हुनुपर्ने स्थिति छ । आफूले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको धर्म र भावनामा चोट पुर्याउनुहुन्न ।

सुनसरी, धरानमा गोरु मांस सेवन काण्ड नसेलाउँदै सर्लाही, मलङ्गवामा कृष्णजन्माष्टमीको मूर्ति सेलाउने क्रममा भएको हिन्दू, मुसलमान झडपले पनि उग्र रूप लिएर कफ्र्यु लगाउनुपर्ने परिस्थिति निम्तियो । त्यसको आगो पर्सा वीरगन्जसमेतमा परेर प्रदर्शन हुन थाल्दा परिस्थिति सल्केर तराई–मधेसका अन्य जिल्ला र मुलुक नै सल्किन के बेर ? यता काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सिंहदरबारमा आगो लगाउने धम्की दिनु र त्यसप्रति सामाजिक सञ्जालमा लाखौँ लाइक र सेयर हुनुको प्रसङ्गमा पनि मुलुकमा भाँडभैलो मच्चाउने तत्त्व सक्रिय भएको बुझ्न सकिन्छ ।

कोशी प्रदेशको नामकरणविरुद्ध पहिचानवादीहरू महिनौँ दिनदेखि आन्दोलनरत छन् । र तिनले कोशी पक्षधरहरूलाई भौतिकरुपमै आक्रमण गरेका घटना पनि बाहिर आयो । कोशी पक्षधरका नेताहरूले सो प्रदेशमा खुट्टा राख्ने दलका नेताहरुलाई ठाउँ ठाउँमा लखेटे । कोशी प्रदेशमा नामांकन विवाद भूसभित्रको भुम्रो बनेको छ । कुन बेला दन्किन्छ, थाहा छैन ?

नेपालको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनमै केही प्रतिनिधिले हस्ताक्षर गरी हिन्दू राष्ट्रको एजेन्डामा छलफल हुनुपर्ने माग राखे पनि त्यसले प्रवेश पाउन सकेन । अहिले केन्द्रीय समिति बैठकमा त्यसबारे महासमिति बैठकमा छलफल हुनुपर्ने माग उठेको छ ।

केन्द्रीय सदस्य शङ्कर भण्डारीले हिन्दू राष्ट्र र सङ्घीयताको मुद्दाबारे पनि विचार गर्नुपर्ने बेला आएको बताए । यस विचारलाई डा शेखर कोइराला र डा शशाङ्क कोइरालाले बारम्बार सतहमा ल्याइसकेका छन् ।

यस्तो विचार हिन्दू मत राख्नेहरूलाई आफ्ना पक्षमा ल्याउन हो वा, नेपाललाई साँच्चिकै हिन्दू राज्य घोषणा गराउने मकसदले आएको हो, स्पष्ट छैन । तथापि, मुख्य दलमा एक वा अर्काे रूपबाट आएको हिन्दू धर्मको वकालतले धर्मनिरपेक्षतावादीलाई पनि हिन्दूवादीसँग जुध्न प्रेरित गरेको छ र यसले पहिचानवादी आन्दोलन वा गौमांस भक्षणसम्म पु¥याउँछ भन्ने कुरा दलका नेताहरूले बुझ्नुपर्ने कुरा हो ।

नेपाली प्रज्ञा बृहत् शब्दकोशमा ब्रह्मा, विष्णु महेश्वर तथा सत्व, रज, तमको प्रतीक ॐ बेपत्ता पारिएको विषयमा परेको मुद्दामा सर्वाेच्च अदालतले एमिकस क्युरी झिकाउन भनी दिएको आदेशले पनि यहाँ धर्मका नाममा राजनीति गर्नेहरूलाई उक्साउन थालेको छ ।

जस्तो कि ‘एक भागवत एक गीता’ शीर्षक एक चलचित्रको नामलाई लिएर एकथरीले चलचित्र विकास बोर्डमा उजुरी नै दिए र जबर्जस्ती गरे असहिष्णु बन्ने चेतावनी दिए ।

मुलुकभन्दा बाहिर एक पल्ट दृष्टि दिने हो भने, हालै क्यानडामा शिख धर्मका खालिस्तानवादी नेता हरदीपसिंह निज्जरको तीन महिनाअघिको हत्यामा भारतीय खुफिया एजेन्सी संलग्न रहेको भनी क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले लगाएको आरोपले भारत क्यानडा मात्र होइन, अमेरिकी नेतृत्वको पश्चिमा शक्ति विभाजित बन्ने स्थिति आइरहेको छ । यसले धर्मका नाममा राजनीति गर्नेहरूलाई नै उक्साउने निश्चित छ ।

नेपाल जस्तो सानो तर धार्मिक विषयमा अति नै संवेदनशील देशमा सबै राजनीतिक दल, वर्ग, समुदाय, सम्प्रदाय, धार्मिक समूह अति नै गम्भीर हुनुपर्ने स्थिति छ । आफूले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको धर्म र भावनामा चोट पु¥याउनुहुन्न ।

अझ नास्तिकहरूलाई पनि धर्मनिरपेक्ष देशमा ईश्वर वा धर्म नमान्ने स्वतन्त्रता पनि छ, तिनलाई पनि जबर्जस्ती कुनै धर्ममा लाग्नका लागि दबाब दिनुहुन्न । धर्मको अतिशयीकरणले निम्त्याउने भनेको नाश, विध्वंस र विनाश मात्र हो । स्वामी विवेकानन्दले ठिकै भनेका छन्, यदि तिमी आफूलाई विश्वास गर्दैनौ भने ईश्वरलाई पनि विश्वास गर्दैनौ ।

२०८० असोज ८

प्रतिक्रिया दिनुहोस्