विराटनगर । कोशी प्रदेशसभा बैठक जारी छ । आज दिउँसो १ बजेको लागि बोलाइएको बैठक झण्डै २ घण्टापछि सुरु भएको हो । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने कार्यक्रम छ । मुख्यमन्त्री कार्कीले गत २२ भदौमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत पाउने सम्भावना कम छ । कोशीमा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार, जसपा एक गरि ४७ सांसदले कार्कीलाई विश्वासको मत नदिने बताइसकेका छन् ।
६ जना प्रदेशसभा सदस्य भएको राप्रपाले पनि तटस्थ बस्ने बताएको छ । यस्तै, अवस्था कायम रहे एमालेको ३९ मत कार्कीले पाउनेछन् । जुन बहुमतका लागि पर्याप्त होइन ।
कार्कीले विश्वासको मत नपाए उपधारा ५ अनुसारको सरकारको दाबी कसले गर्ने भन्ने विषयमा नेकपा एमालेभित्र छलफल चलिरहेको छ । स्रोतका अनुसार विश्वासको मत नपाए कार्की उम्मेदवार बन्न नपाउने भएका छन् । यस्तो अवस्थामा स्वास्थ्यमन्त्री रहेका तीलकुमार मेन्याङ्बोले मुख्यमन्त्रीको दाबीको तयारी गर्नेछन् ।











