Logo
Logo

एमाले सुदूरपश्चिममा तीन धार


2.5k
Shares

धनगढी । नेकपा एमालेको आइतबारदेखि धनगढीमा जारी प्रथम प्रदेश अधिवेशनमा नेतृत्वका लागि तीन धार देखिएको छ । अध्यक्ष केपीशर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गराउने जिम्मा महासचिव शंकर पोखरेललाइ दिएका छन् । महासचिव पोखरेल धनगढीमै छन् । उनले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रदेखि प्रदेशका नेतासँग छलफल गरिरहेका छन् ।

सर्वसम्मत अध्यक्षका लागि अछामका कमल तिमिल्सेनाको नाम चर्चामा छ । तिमिल्सेना अहिले प्रदेश कमिटी उपाध्यक्ष हुन् ।
अध्यक्ष ओली र महासचिव पोखरेलको ग्रिन सिग्लन तिमिल्सेनालाई देखिन्छ । प्रदेशका नेता लेखराज भट्ट, दामोदर भण्डारी, लिला भण्डारी, लालबहादुर थापा, गणेश ठगुन्ना, राजेन्द्र सिंह रावल, झपट रावलको साथ तिमिल्सेनालाई देखिन्छ ।

आफु निकटका नेताको व्यवस्थापन गर्ने सर्तमा नेताहरूले तिमिल्सेनालाई अघि सारेको श्रोतको दाबी छ । हालका प्रदेश अध्यक्ष दामोदर भण्डारीले रणबहादुर चन्दलाई सचिवमा, लेखराज भट्टले भागिरथी विष्ट र लालबहादुर थापाले कालिबहादुर शाहीलाई उपसचिवमा तिमिल्सेनाको टिमबाट अघि सारेका छन् ।

उपाध्यक्षका लागि पात्रको टुंगो लगाउन बाँकी छ । यसैगरी तिमिल्सेनानिकट नेताहरुले १ सय ५५ सदस्यीय प्रदेश कमिटीमा सदस्यहरूको भागवण्डा पनि लगाइसकेको बताइन्छ । ३३ प्रतिशत महिला अनिवार्यसहित १६ निर्वाचन क्षेत्रबाट ८० जना र बाँकी कलस्टरबाट प्रतिनिधित्व हुनेगरी नेतापिच्छे भागवण्डा गरिएको चर्चा छ ।

यसैगरी, प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसीको पनि दाबेदारी देखिएको छ । स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र पोलिटब्यूरो सदस्य नारद राना र निरुदेवी पालको साथ जैसीलाई रहेको बताइन्छ । जैसीको टिममा व्यवसायी सूर्य थापा उपाध्यक्ष र राजेश खाती वा जीवन वममध्ये एकजान सचिवमा उम्मेदवारी दिने चर्चा छ । रानाले कन्दकला राना र पालले पल्लवराज भट्टलाई उपसचिवमा समेटेर टिम बनाउनुपर्ने गरी छलफल गरिरहेको बताइन्छ ।

यसैगरी युवा संघका पूर्वअध्यक्ष बच्चन सिंह पनि अध्यक्ष पदको लागि मैदानमा उत्रेका छन् । कमल तिमिल्सेना टिममा उपाध्यक्षको प्रस्ताव गरिए पनि सिंहले आफु सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेमा बैकल्पिक नेतृत्वको आवश्यकता पूरा गर्न अध्यक्षमा उम्मेद्वारी दिने बताउदै आएका छन् । सिंहले पनि पाँच पदाधिकारीसहित १ सय ५५ सदस्यीय प्रदेश कमिटीमा नै उम्मेदवारी दिने संकेत गरेका छन् । यद्यपि, उनलाई हालसम्म कुनै पनि केन्द्रीय नेताको साथ रहेको खुलेको छैन ।

सिंह युवा र विद्यार्थीको रोजाइमा छन् । पार्टीका कार्यकर्ता, समर्थक, शुभचिन्तकलाई गाह्रो पर्दा साथ सहयोग दिन तम्तयार रहने युवा नेताका रुपमा सिंहलाई लिइन्छ । सिंहको टिममा उपाध्यक्षमा डोटीका चक्र मल्ल र सचिवमा यज्ञराज ढुंगानाको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्