Logo
Logo

इजरायलले ५ नेपालीको शव तीन दिनभित्र नेपाल पठाउने



तेलअभिभ । असोज २० गते प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीमध्ये ५ जनाको शव तीन दिन भित्र नेपाल पठाउने तयारी गरेको छ । आक्रमणमा परि ज्यान गुमाएका १० मध्य पहिचान खुलेका ५ जनाको शव तीन दिन भित्र नेपाल पठाउन लागेको हो ।

पाँच शव स्वदेश पठाउने प्रक्रिया अगाडि बढाइसकिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । पाँच शवको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।

मृतक घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी र लेकम–५ दार्चुलाका दीपेशराज बिष्टका शव पहिचान भएको हो ।

हमासको आक्रमणमा मारिएका सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र शारदा–३ सल्यानका प्रवेश भण्डारीको शव पहिचान हुन बाँकी रहेको नेपाली दूतावासले जनाएको छ ।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार पहिचान भएका शव छिटो नेपाल पठाउन र अन्य शवको पहिचान गर्न एक जना इजरायली नागरिकलाई खटाइएको छ ।

हमासको आक्रमणपछि बेपत्ता बनाइएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूह हमासले आफूसँगै लगेको थियो । हमासले अपहरण गरी बन्धक बनाइएकाहरू १ सय १९ जना रहेको इजरायली सेनाले बताएको छ । आक्रमणमा घाइते भएका ४ नेपालीमध्ये २ जना उपचाररत छन् । अर्का एक घाइते उपचारपछि डिस्चार्ज भएर नेपाल फर्किसकेका छन् । अर्का एक जनाको भने नेपाली दूतावासले आफ्नै निगरानी तथा हेरचाहमा राखेको छ । सरकारले असोज २६ मा इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्