काठमाडौं । नेपालले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मंगलबार गाजाको एक अस्पतालमा आक्रमण गरी निर्दोष नागरिकको ज्यान लिएको घटनाले स्तब्ध बनाएको उल्लेख गरेको हो ।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ । अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं । साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’ विज्ञप्तिमा सर्वसाधारण नागरिकविरुद्धको यस आक्रमणलाई लिएर गम्भीर रूपमा चिन्तित भएको जनाइएको छ ।
साथै, नेपालले जस्तोसुकै परिस्थितिमा भएपनि नागरिकको सुरक्षा गर्न आह्वान गरेको छ । नेपाल शान्तिमा विश्वास गर्ने भन्दै जारी विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गरेको छ ।














