काठमाडौं । इजरायलमा ज्यान गुमाएका १० जना नेपालीमध्ये ४ जनाको शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाएको छ । ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका १० जना नेपालीको प्यालेस्टाइनी हमास समूहको आक्रमणमा निधन भएको थियो ।

इजरायली पक्षले शव हस्तान्तरण गरेपछि नेपाली राजदूत कान्ता रिजाल र इजरायल सरकारको प्रतिनिधिहरूले मृतकहरु प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । चार जना विद्यार्थीको शव शनिबार दिउँसो १ः२५ बजे फ्लाई दुबईको उडानबाट नेपाल पठाउने दूतावासले जनाएको छ । जुन शव नेपाली समयअनुसार आइतबार काठमाडौँ पुग्ने छ ।
इजरायलबाट फ्लाई दुबईको उडानमार्फत् दुबईसम्म र फ्लाई दुबईकै अर्को उडानमार्फत् काठमाडौँसम्म पुग्ने गरी व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।
गत अक्टोबर ७ मा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्युु भएको थियो । उक्त आक्रमणमा परेर ४ जना विद्यार्थी घाइते भएकामा एक जना नेपाल फर्किसकेका छन् । साथै अन्य शवको पहिचानको काम भइरहेको दूतावासले जनाएको छ ।














