Logo
Logo

हाम्रो संस्कृति संसारकै निम्ति अनुकरणीय छ : प्रधानमन्त्री


252
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै यथास्थितिमा रुमलिने छुट नभएको बताएका छन् । शनिबार (आज) बडादसैंको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले जनताले युगौंदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘पूर्वीय सभ्यता दर्शन, चिन्तन, परम्परा, संस्कृतिहरूका दृष्टिले हामी वैभवशाली र गौरवशाली छौँ । हामीले नेपाली विशेषता र मौलिकताको सम्बर्द्धन एवं विकास गरेर ज्ञान, विज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ । यस दृष्टिले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको छ ।’

साथै, संस्कृतिको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश समाज र संस्कृतिलाई थप समुन्नत तुल्याइँ राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु सबैको साझा दायित्व भएको बताउँदै उनले भनेका छन्, ‘यो सँगै हाम्रा मौलिक पर्वहरू भित्र रहेका सकारात्मक र मानवीय जीवनमूल्यका संस्कार प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकोमा म जोड दिन चाहन्छु ।’

मुलुक अवसर र चुनौतीको कठिन परिस्थितिबाट गुज्रिइरहेको प्रधानमन्त्रीले भनाइ छ । लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धीहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती मुलुकका सामु रहेको पनि उनले बताएका छन् ।

प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘हामीलाई पछाडि फर्कने या यत्तिकै रुमलिने छुट छैन । हामीले नेपाली जनताले युगौंदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नै पर्दछ। यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सृजनात्मक सोचको विकास हुन जरुरी छ । जात, वर्ग, धर्म, लिंग, वर्ण, भूगोल, आस्था र साम्प्रदायिक सोचबाट माथि उठेर गरे हुन्छ, परिवर्तन सम्भव छ भन्ने सामुहिक र सकारात्मक चिन्तन अहिलेको आवश्यकता हो ।’

अर्थतन्त्रमा परेको दबाब, विकास निर्माणमा देखापर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोध राष्ट्र निर्माणमा राष्ट्रि एकताको भावना लगायतका कैयन् चुनौती मुलुकका सामु रहेको उनको भनाइ छ ।

‘तर हामीले दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्न सक्यौं भने हामी हरेक अवरोधलाई छिचोल्न सक्छौँ। यही तथ्यलाई आत्मसात गर्न सके सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील छ’ उनले भनेका छन्, ‘सरकार यो प्रयासमा सम्पूर्ण आदरणीय जनसमुदायले व्यक्त गर्नु भएको ऐक्वबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण छ। अन्त्यमा राष्ट्र निर्माणको यही संकल्प बोक्दै राष्ट्रसामु विद्यमान चुनौती राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाउन हुन आह्वान गर्न चाहन्छु, नेपाली समाजलाई समुन्नत बनाउन, सबैको साथ सहयोग र ऐक्वबद्धतासहित सामाजिक सहिष्णुता र सद्भाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै, विजया दशमी २०८० को पुनः शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्