Logo
Logo

दशैंमा घुम्न कहाँ जाने ?


1.5k
Shares

काठमाडौं । हिन्दु धर्मालम्वीहरुको महान चाड वडादशैं घरआँगनमा आइसकेको छ । चाडपर्व र विदाको समय घुमफिर गर्नका लागि निकै उपयुक्त समय मानिन्छ । त्यसैले विदेशी मात्र होइन, नेपालीहरुमा पनि दशैं तिहारलगायत चाडपर्वका समयमा परिवारसहित घुम्न निस्किने ट्रेण्ड बढ्दो छ ।

तस्बिर/शोसियल मिडिया

दशैंमा धेरैले घुम्न जाने योजना बनाएका हुन्छौं । त्यसमाथि दशैंतिहार विदा र विदेशी पर्यटक आउने सिजन एउटै समयमा भएकाले यतिबेला नेपालका पर्यटकीय गन्तव्य भरिभराउ हुन्छन् । त्यसमा पनि घुम्ने ठाउँको बारेमा जानकारी नहुँदा अलमलिइरहेका हुन्छौं ।

घुम्न जाने ठाउँबारे पर्याप्त पूर्वसूचना नहुँदा रमाइलो गर्न जाँदा सास्ती खेप्नुपर्ने अवस्थासमेत आउँछ । त्यसकारण आफू कुन गन्तव्यमा जान खोजेको हो, त्यसलाई योजनामा राखेर सोहीअनुसार तयारी गर्नुपर्छ । हचुवामा यात्रा गर्दा दुःख पाउन सकिन्छ ।

नगरकोट
राजधानी काठमाडौंबाट नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो । काठमाडौंबाट ३२ किलोमिटरको दूरीमा रहेको नगरकोटमा सहजै पुग्न सकिन्छ । यो ठाउँ सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । नगरकोटबाट लाङटाङ हिमशृंखला र अझ सफा मौसममा त सगरमाथा समेत अवलोकन गर्न सकिन्छ ।

कालिञ्चोक
काठमाडौंबाट सवारी साधनमा सहजै जान सकिने अर्को मनमोहक ठाउँ हो दोलखाको कालिञ्चोक । प्रकृतिको हरियालीका साथै हिमाली दृश्य हेर्न पाइने भएकाले आन्तरिक पर्यटकले निकै रुचाउने गरेका छन् ।

कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरबाट लाङटाङ, रोलवालिङ हिमशृंखला देख्न सकिन्छ । चिसो मौसममा यस क्षेत्रमा हिउँ पर्ने भएकाले राजधानीवासी हिउँ खेल्नकै लागिसमेत जाने गर्छन् ।

पोखरा
हिमाल, ताल, गुफा, छाँगा र साहसिक खेलहरु एकै स्थानमा भएको पोखरालाई पर्यटनको राजधानी नै मानिन्छ । विश्वको उत्कृष्ट पदयात्रा अन्नपूर्ण, पुनहिल, मुस्ताङ जाने प्रवेशद्वार पनि हो पोखरा ।

पोखरामा घुम्नका लागि तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, विन्ध्यवासिनी मन्दिर, स्तुपालगायत प्रशस्त ठाउँ छन् । यसका साथै पोखरा आसपासको ठाउँले पनि सबैको मन लोभ्याइरहेको हुन्छ । हिमाल राम्ररी हेर्ने हो भने अलि डाँडातिर उक्लनुपर्ने हुन्छ । अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला हेर्न साराङकोट उपयुक्त ठाउँ हो । पोखराबाट एक घण्टामै पुग्न सकिने धम्पुसबाट पनि आँखै अगाडि माछापुच्छ्रे हिमाल नियाल्न सकिन्छ ।

मुस्ताङ
जोमसोमै बजारमा १२ बजे हावा सरर‘ नेपथ्यले गाएको यो गीत नसुन्ने सायदै कोही होलान । यही गीतमा राखिएको जोमसोमै बजारको १२ बजेपछि चल्ने चिसो हावालाई महसुस गर्नका लागि मुक्तिनाथको यात्रा रुचिकर हुन सक्छ ।

धार्मिक आस्थाको केन्द्र बनेको मुस्ताङको मुक्तिनाथ मन्दिर पनि आन्तरिक तथा भारतीय पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । पहिले जस्तो अहिले हवाई मार्गबाट मात्रै जानुपर्छ भन्ने छैन । पोखराबाट बेनी(मार्फा(जोमसोम(कागबेनी हुँदै मुक्तिनाथ पुग्नका लागि सहज बनेको छ ।

मुक्तिनाथ धार्मिक आस्थाले मात्रै होइन, बाटोमा पर्ने मार्फा गाउँका स्याउ, चिसो बतास चल्ने जोमसोमसँगै कालिगण्डकीको मुहान कागबेनी निकै रमाइलो ठाउँ छ ।

सौराहा
जंगल सफारी, थारु संस्कृति अवलोकनका लागि चितवन निकै प्रख्यात छ । आकर्षणको केन्द्र चितवन राष्ट्रिय निकुञ्ज रहेको यो ठाउँमा खासगरी वाइल्ड लाइफमा रुचि हुनेहरु जाने गर्छन् । जंगल सफारीमा गैंडा र अन्य जनावर हेर्न सकिन्छ । चितवनमा सौराहा र मेघौली पनि घुम्न लायकका ठाउँ हुन् । मेघौलीमा सूर्योदयको दृश्य हेर्न र शान्त वातावरणमा होमस्टेको मज्जा लिन सकिन्छ ।

लुम्बिनी
गौतम बुद्धको जन्मस्थल लुम्बिनीे बौद्धमार्गीका साथै शान्तिगामी स्वदेशी र विदेशी पर्यटकको मनमा बसेको ठाउँ हो । बौद्ध दर्शन अध्ययन(अनुसन्धान गर्नेहरुका लागि पनि लुम्बिनी महत्वपूर्ण स्थल हो ।

लुम्बिनीको मुख्य आकर्षण केन्द्रविन्दु मायादेवी मन्दिर हो । मन्दिर परिसरमा अशोक स्तम्भ र पवित्र पोखरीले आकर्षण थपेका छन् ।मायादेवी मन्दिरमा बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति रहेको छ । मन्दिरभित्र ईसापूर्व पाँचौं शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष अवलोकन गर्नु जोकोहीको लागि दुर्लभ अवसर हुन सक्छ ।

लुम्बिनी पुगिसकेपछि बुद्धसम्बन्धी अन्य पर्यटकीय ठाउँ नपुग्नु अपूरो यात्रा हुन सक्छ । बुद्धले आफ्नो जीवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तुको तिलौराकोट अर्को पुग्नैपर्ने ठाउँ हो । यो ठाउँ लुम्बिनीबाट २८ किलोमिटर दक्षिण(पश्चिममा पर्छ ।

कपिलवस्तुमा बुद्धसँग सम्बन्धित गोटिहवा, सग्रहवा, निग्लीहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ । यस्तै, भैरहवादेखि करिब ३५ किलोमिटर पूर्वमा रहेको प्राचीन कोलिय वंशको राजधानी तथा मायादेवीको माइती देवदह पनि महत्वपूर्ण छ । देवदह वरिपरि अन्य पुरातात्विक स्थल पनि छन् ।

इलाम-ताप्लेजुङ
पूर्वी नेपालको धरान–धनकुटा–भेँडेटार हुँदै ताप्लेजुङसम्मको यात्राको योजना बनाउन सक्नुहुन्छ । ताप्लेजुङमा कहाँसम्म पुग्ने, त्यो तपाईसँग उपलब्ध समयमा भरपर्छ । ओलाङचुङगोलादेखि पाथिभरा जहाँ पुगेपनि यो यात्राले निकै रोमान्चकता दिनेछ ।
धरान–धनकुटामा किराँत–राई समुदायको घरमा दशैंको टीकासम्म बिताउनुहोस् । उनीहरु सेतो अक्षताको टीका लगाएर दशैं मनाउँछन् । केही फरक अनुभव तपाईले पाउनु हुनेछ । त्यसपछि इलाम हुँदै ताप्लेजुङसम्म जान सक्नुहुन्छ ।

पृष्ठभूमिमा कञ्चनजंघा र कूम्भकर्ण हिमाल देखिनेछ । धार्मिक दृष्टिकोणबाट पाथिभरा माताको दर्शन पनि निकै फलदायी हुनेछ । पूर्वी नेपालको चीनसँग जोडिएको ओलाङचुङगोलासम्मको यात्रा त अविश्मरणीय नै बन्नेछ ।

बर्दिया
तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज रहेको बर्दिया थारु संस्कृतिका हिसाबले पनि प्रख्यात छ । नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज खासगरी बाघ हेर्नका लागि कहलिएको छ । निकुञ्ज क्षेत्रमा ५४ प्रजातिका स्तनधारी, चार सय प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छ ।

तपाईंलाई थारु संस्कृति मनपर्छ भने बर्दिया खानी हो । यहाँको डल्ला गाउँमा खोलिएको होमस्टे पर्यटकमाझ प्रिय छ । निकुञ्ज नजिकै रहेको ठाकुरद्वारा मन्दिर पनि धार्मिक हिसाबले निकै महत्वपूर्ण छ । मन्दिरमा लिच्छविकालीन मूर्तिहरु समेत छन् । बर्दिया र कैलाली जोड्ने कर्णाली चिसापानी पुल पनि पर्यटकको आकर्षणको केन्द्र हो ।

खप्तड
प्राकृतिक सुन्दरताको अनुपम उपहार हो, खप्तड । डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलमा रहेको खप्तड क्षेत्रलाई सुदूरपश्चिमकै भूस्वर्ग पनि भनिन्छ । बैशाखदेखि असारसम्म यहाँका फाँटहरु रंगीचंगी फूलहरुले ढाकिन्छ ।

खप्तड क्षेत्रको मुख्य विशेषता भनेकै विशाल फाँटहरुमा फुल्ने फूलहरु हुन् । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु छन् । ठूला–साना गरी २२ वटा फाँट पनि यहाँको आकर्षण हो ।

रारा
घुमफिर रुचाउने जोकोही नेपालीको चाहना हुन्छ, देशकै सबैभन्दा ठूलो ताल रारा पुग्ने । समुद्री सतहबाट दुई हजार ९ सय ९० मिटर उँचाइमा रहेको तालले घामको किरण अनुसार रङ फेरेको अद्भूत देखिन्छ ।

रारा तालको पूरै आकृति हेर्न मुर्मा टप उपयुक्त ठाउँ हो, जुन करिब ४ हजार मिटरको उँचाइमा छ । विदेशी पर्यटकको आगमन बढ्न नसके पनि रारामा आन्तरिक पर्यटक उल्लेख्य मात्रामा पुग्ने गर्छन् ।

शक्तिपीठ
दशैंमा शक्तिपीठलाई पनि घुमघामको गन्तव्य बनाउँन सकिन्छ । नवरात्रिभर हरेक शक्तिपीठमा धुमधामसँग मेला लाग्छ । सपरिवार सकेसम्म धेरै शक्तिपीठमा पुगेर पूजाआजा गर्न सकियो भने त्योभन्दा अर्थपूर्ण दशैं के होला ?

दक्षिणकाली, सल्यानको सल्यानकोटदेवी, बागलुङ कालिका, गोरखाको मनकामना, नवलपरासीको मौलाकालिका, डोटीको शैलेश्वरी, डडेलधुराको त्रिपुरासुन्दरी, काभ्रेको पलान्चोक भगवतीजस्ता शक्तिपीठको यात्रामा निस्कन सकिन्छ । यतिमात्र होइन हरेक जिल्लामा नवरात्रिभर विशेष पूजा हुने भगवतीका मठ-मन्दिर छन् । दशैंमा घर नजिकैको भगवती मन्दिर घुमघाम गरेर पनि दशैं बिदालाई उपयोग गर्न सकिन्छ ।

नोट : तस्बिरहरु शोसल मिडियाबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्