काठमाडौं । नेपालस्थित इजरायली राजदूत हनान गोडेरले प्यालेस्टिनी चरमपन्थी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई मुक्त गर्न आग्रह गरेका छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याइएका नेपाली विद्यार्थीहरुको शवमा श्रद्धाञ्जली अर्पण गरेपछि उनले पत्रकारहरुसँग कुरा गर्दै विपिनको खोजी जारी रहेको बताएका हुन् ।

राजदूत हनानले आतंककारीलाई पनि विपिनलगायत कब्जामा रहेका अबोध नागरिकलाई छोड्न आग्रह गरेको बताए । जोशीसहितका अवोध नागरिकलाई हमासले नियन्त्रणमा लिएको बताउँदै उनले भने, ‘हमासको कब्जामा परेका जोशी कहाँ छन् थाहा छैन । हामीले जोशीको खोजी जारी राखेका छौँ । म यहीबाट हमाससँग भन्छु, विपिन लगायतका निदोष नागरिकलाई मुक्त गरिदिनुहोला ।’
गत असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एकजना (विपिन जोशी) सम्पर्कविहीन छन् । मृतक १० जनामध्ये आइतबार चार शव नेपाल ल्याइएको छ । आइतबार नेपाल ल्याइपुर्याइएका नेपाली विद्यार्थीहरुको शवमा श्रद्धाञ्जली अर्पण गरेपछि राजदूत गोडेरले अर्को एउटा शव दुई दिनपछि नेपाल आइपुग्ने जानकारी दिए ।
‘इजरायलमा एक हजार ४०० शवहरु छन् । हामी शवको पहिचान गर्ने प्रक्रियामा छौं’ उनले भने, ‘आज चार जनाको शव आएको छ । अर्को एउटा शव दुई दिनपछि आउनेछ । थप पाँच जनाको शव पहिचान गर्ने काम जारी छ ।’














