Logo
Logo

सेतो टिका निधारमा टलक्क टल्कियो



दशैंमा अधिकांशको निधारमा रातो टिका टल्किन्छ । कानमा पहेँलो जमरा । विशेषगरि हिन्दू धर्मावलम्बीले रातो टिका र जमरा लगाउँछन् । आफूभन्दा ठूलाबडाबाट आशीर्वाद थाप्छन् । तर, दशै मान्ने आदिवासी समुदायको निधारमा भने सोतो टिका टल्किन्छ । जमरा हुँदैन । कतिले जमरा पनि लाउँछन् ।

दशैंको एउटा महत्त्वपूर्ण पाटो हो– रातो अक्षता र जमरा । टिका र जमरा नलाएसम्म दशैं नै हुँदैन । दशैं भन्ने बित्तिकै धेरैका मस्तिष्कमा रातो टिका र जमरा आउँछ । तर, मैले जमरा देखेको भनेको एसएलसी (२०६८) दिएपछि मात्रै हो । त्यो पनि बसाइ सरेपछि ।

भोजपुरको साबिक खाटम्मामा गा.वि.सामा एक घर मात्रै थियो– आर्य । गोपाल कार्की । त्यो पनि टाढै पर्थ्यो । हिँडेर जाँदा डेढ घण्टा लाग्ने । अरू सबै आदिवासी जनजाति । दशैंमा सबैको निधारमा सेतो टिका टल्किन्थ्यो । जमरा हुन्छ भन्ने पनि थाहा थिएन ।

०८६ पछि कुलुङ पुग्यौँ । जहाँ क्षेत्री बाहुनको बाहुलियता छ । त्यसपछि थाहा भयो, जमरा । त्यसबेला सामाजिक सञ्जाल पनि खासै थिएन ! अहिले जस्तो भए सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिन्थ्यो । रातो टिका भने कहीँ कतै जाँदा कसैले लगाएको देखिन्थ्यो ।

किरात राई समुदायमा रातो रङ्ग प्रयोग खासै हुँदैन । बिहेमा रातो टिका लगाउँदैनन् । सेतै हुन्छ । अबिर पनि पहेँलो प्रयोग हुन्छ । लिम्बूलगायत अन्य केही समुदाय पनि यस्तै चलन छ ।

हाम्रो समुदायमा दशैं विरोधाभाष छ । कोही दशैं मनाउनै नहुने तर्क गर्छन् । आफ्ना पर्व नभएको बताउँछन् । मनाउँदैनन् पनि । बहिष्कार गर्छन् । मनाउने सेतो टिका लगाउँछन् । कहीँ कतै रातो टिका लगाउने पनि भेटिन्छन् ।

दशैं मनाउने कि नमनाउने ? भन्ने आदिवासी जनजातिमा थुप्रै बहस भए । यो समुदायमा मनाउने र नमनाउने सराबरी नै होलान् । केहीले हिन्दुको पर्वमा ऐक्यबद्धता जनाउन दशैं मनाउने गरेको बताउँछन् ।

दशैंको टिकाको दिनलाई विजयादशमी भनिन्छ । कतिले यसलाई पृथ्वीनारायण शाहले किराती राज्यहरू मासेपछि खुसियालीमा किरातीको रगतको टीका लगाएर सुरुआत गरेको भन्ने गरेको पाइन्छ । राज्यले दमनपूर्वक दशैं मान्न बाध्य पारेको उनीहरूको तर्क हुन्छ ।

एउटा कुरा भन्न चाहिँ कन्जुस्याइँ गर्नु हुँदैन । हाम्रा मौलिक चाडपर्व राज्यले मासेकै थियो । साकेला र चासेक तङ्नामजस्ता मौलिक चाड निमिट्यान्न पार्न खोजेकै हो । साकेला सिलीमा खुट्टा चाल्न भुलेकै हो । च्याब्रुङ बनाउन प्रतिबन्ध लगाएकै थियो ।

अहिले पनि उँधौली र उँभौलीलाई राज्य स्वीकार गर्न तयार छैन । त्यसैले ‘चण्डी’ भनेर नामकरण गरेको छ । राज्यले मौलिक पर्वमाथि गरेको अन्याय हो, यो । राज्यले दशैं मनाउनै पर्ने उर्दी गरेपछि आफ्नै अनुसार यसलाई अनुसरण गरेको बताउने पनि भेटिन्छन् ।

दशैंबारे परिवार परिवार पनि विभाजित छ । कोहि दशैं मनाउनुपर्नेमा अडिग छन् । केही विपक्षमा । केटाकेटी भने दशैं भनेको दशैं नै हो भन्ने पक्षमा छन् । केटाकेटीको लागि जिन्दगीमा दशैं जस्तो खुसीको कुनै हुँदैन ।

धेरैले दशैंलाई चलिआएको संस्कृतिको रूपमा लिने गरेका छन् । पहिलादेखि मान्दै आएको त्यसलाई निरन्तरता मात्रै दिने गरेको बताउँछन् । दशैंबारे जनजातिका अगुवा तथा संस्कृतिविद्हरूको पनि भिन्नाभिन्नै धारणा पाइन्छ ।

तर, दशैं जसको पर्व भएपनि दशैं भन्नसाथ गाउँको याद आउने । परिवार र बाल्यकाल साथीहरू भेट हुने । दशैं त्यस्तो उल्लासको साथ नमनाएपनि गाउँ जान लाग्ने । गाउँ जान पाउँदा मन फुरुङ्ग हुने ।

हिन्दूले दशैंमा नौ देवीको पूजा गर्छन् । तर, राई–लिम्बू समुदायमा देवीको पूजा हुँदैन । बाली पनि दिँदैनन् । खाने र रमाउने मात्रै हो । त्यस्तै तामाङ, शेर्पा, गुरुङ, मगर समुदायमा राई–लिम्बू समुदायको जस्तै चलन छ । जमरा बिनाको सेतो टिका । कतिले भने हिन्दू पारामै पनि मनाउँछन् ।

दशैं आदिवासी जनजातिको मौलिक चाड नभए पनि राष्ट्रिय चाडका रूपमा मनाउने गरेका छन् । दशैंलाई उमंग, हर्षोल्लास, आफन्त भेटघाटको अवसरकै रूपमा लिने गरेका छन् ।

राज्यले दशैं अनिवार्य गरिदिएपछि राई समूदायमा पनि एउटा परम्परा बस्यो । राई समूदयमा बिहे गरेको तीन दशैंभित्र केटीको मावलीमा ‘ठूलो टिका’ थाप्न जाने चलन छ । ‘ठूलो टिका’ थाप्न जाँदा सुँगुरको फिला अनिवार्य हुन्छ । छोरी–ज्वाइँलाई आमाले मावल पुर्याउनु पर्ने हुन्छ । आमा नहुनेको मात्रै अरूले पुर्याउने हो ।

बिहे गर्दा पनि नवदुलाहा–दुलहीले ढोगौली (माइती–ससुराली पक्षका आफन्तलाई दाम राखेर ढोग्दै चिनजान) गर्नुपर्छ । यसको सङ्केत हो– आउँदो दशैंमा नवदुलाहा–दुलही चिनजान भएका घर–घरमा टीका लगाउन जानुपर्छ ।

जोसँग उनीहरूले चिनजान गरेका थिए, आउँदो दशैंमा तिनैका घरबाहेक अन्यमा नवदुलाहा–दुलही टीका लगाउन जाँदैनन् । बिहेमा ढोगौली नगरे ‘बिहेमा अपमान गरेर पनि दशैंमा आएको’ भनेर बुझ्ने गरेका छन् । राई पनि धेरै थरिका छन्, यो संस्कार सबैमा नहुन पनि सक्छ ।

त्यस्तै लिम्बू समुदायमा पनि बिहे गरेपछि पहिलो दशैंमा नयाँ ज्वाइँ ससुराली पुग्नै पर्ने चलन थियो । तर, लिम्बू समुदायमा भने यो चलन हट्दै गएको छ ।

यसरी हेर्दा बाध्य पारेर मनाउन लगाइएको भए पनि राई–लिम्बू समुदायमा पनि दशैंको केही प्रभाव कामयै छ । तर, पछिल्लो समय यी समुदायमा आएको चेतना र भएको विद्रोहका कारण पहिलेजस्तो दशैं व्यापक महत्व छैन ।

प्रतिक्रिया दिनुहोस्