Logo
Logo

यसरी मनाए कलाकारले दसैँ



काठमाडौं । विजया दशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभाबकबाट बडादसैँको टीका ग्रहण गरिएका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् । हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगाइिदए । उनले सामाजिक सञ्जालमार्फत टीकाको तस्बीर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा वडादसैँलाई लिइएको बताए ।

दसैँलगत्तै ‘महाजात्रा’को छायाँकनमा जानुपर्ने भएकाले पनि दसैँलाई आफन्तसँगको भेटघाटको रुपमा मनाईरहेको उनले जानकारी दिए । यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा लगाए । सपरिवार टीका ग्रहण गरेको जानकारी गराउदै उनले दसैँ लगत्तै ‘फर्की फर्की’ नामक चलचित्रमा काम गर्ने बताए ।

यो दसैँ अभिनेता तथा मोडल पल शाहका लागि पनि महत्वको भएको छ । उहाँले अघिल्लो वर्ष टीका लगाउन नपाइएका कारण यो वर्षको दसैँ परिवारसँग बसेर मनाइरहेको बताए ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्देशक निर्मल शर्मा, अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता जितु नेपालले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका छन् । अभिनेत्री वर्षा राउतले पनि आफ्ना पति तथा अभिनेता सन्जोग कोइरालासँग सिन्धुली पुगेर टीका ग्रहण गरेका छन् ।

यस्तै आमाबाट टीका र जमरा ग्रहण गरेका हास्य कलाकार शिवशङ्कर रिजालले भने, ‘तराई गएर अन्य मान्यजनबाट पनि टीका ग्रहण गर्नेछु । मेरो दसैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ ।’ यसैगरी अभिनेता सलिनमान बनियाँ, अभिनेत्री स्वेता खड्का र ऋचा शर्मा, अभिनेता रवीन्द्रसिंह बानियाँले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका छन् ।

अभिनेता खगेन्द्र लामिछानेले आफूद्वारा निर्मित तथा लिखित चलचित्र ‘पशुपति प्रसाद-२ : भष्मे डन’ प्रदर्शनरत रहेकाले काठमाडौ उपत्यकाको विभिन्न चलचित्र भवनमा पुगेर दर्शक भेट्ने जानकारी दिए । ‘यो पटक स्याङ्जास्थिचत घर जान नपाए पनि दर्शकसँग साक्षात्कार गर्दै दसैँ मनाईरहेको छु’, उनले भने ।

दसैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारहरूले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्