Logo
Logo

‘भष्मे डन’लाई दर्शकको साथ



काठमाडौं । नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता लागिपर्ने गरेका छन् । वितरक करण श्रेष्ठले चाडपर्वको समयमा दसैँ विशेष हुने बताए ।

‘अन्य चाडपर्वको तुलनामा दसैँमा काठमाडौँ र मोफसलमा चलचित्र हेर्न आउने दर्शकको चाप वढेको पाइन्छ । यस्तो समयमा विशेषत पारिवारिक कथावस्तुमा निर्माण गरिएका चलचित्रले बढी दर्शक पाउने गरेका छन्’ वितरक श्रेष्ठले भने । उनले वितरण गरिरहनु भएको ‘पशुपति प्रसाद २ : भष्मे डन’ले पहिलो दिन रु दुई करोडको हाराहारीमा व्यापार गरेको जानकारी दिए ।

‘नेपालमा पारिवारिक विषयमा बनेका चलचित्र वा परिवारसँगै चलचित्र भवनमा पुगेर हेर्ने चलचित्रको व्यापार राम्रो हुने गरेको छ । त्यसैले त्यस्ता चलचित्र दसैँको समयमा प्रदर्शन गर्नु उपयुक्त हुन्छ’ उनले भने ।

ओटीटी (ओभर द टप)प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका समयमा आकर्षण बढेपछि चलचित्र भवनमा दर्शकको संख्या घट्ने अनुमान गरिएको थियो । तर, अहिले दर्शकको आकर्षण पुनः चलचित्र भवनमा बढेको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए ।

‘नेपालको मौलिक विषयमा चलचित्र निर्माण गर्नसके दर्शकले साथ दिनुहुन्छ भन्ने प्रमणित भएको छ । किनकि व्यापारमा रेकर्ड बनाउन सफल चलचित्रमा मौलिकता पाइन्छ’, कार्यकारी निर्माता बानियाँले भने । उनले नेपाली चलचित्रहरू विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्