Logo
Logo

प्रधानमन्त्री-ओली भेटवार्ता, राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमणबारे छलफल

महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउँदै


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबार भएको भेटवार्तामा उनीहरुबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबारे छलफल भएको छ ।

महासचिव गुटेरसले नेपाल भ्रमणका क्रममा प्रतिपक्षी दलका नेता ओलीलाई पनि भेट्दैछ छन् । उक्त भेटमा नेपालको शान्ति प्रक्रियाका विषयमा चासो राख्न सक्ने भएकाले सबैको एउटै भ्वाइस होस् भन्ने हिसाबले प्रधानमन्त्री प्रचण्डले छलफल गरेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले यही आउने सोमबार नेपाल आउँदैछन् । प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । कात्तिक १२ देखि १५ गतेसम्म नेपाल रहँदा गुटेरेसले प्रधानमन्त्रीलगायत विपक्षी दलका नेतासँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् ।

साथै, उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्नुहुने कार्यक्रम पनि रहेको छ । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्ने तालिका समेत रहेको छ ।

महासचिवका साथमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसङ्घको टोली पनि सहभागी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्