Logo
Logo

ठूला दलको औचित्य सकियो भन्नेहरुको राजनीतिक मुद्दा नै छैन : प्रधानमन्त्री


504
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला र पुराना दलको औचित्य सकियो भन्नेलाई प्रमुख दल एकै ठाउँमा उभिएर जवाफ दिने बताएका छन् । शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डले प्रश्न उठाउने दलको इतिहास, विचार र राजनीतिक संघर्ष केही नभएको टिप्पणी गर्दै तिनीहरुलाई जवाफ दिने बताएका हुन् ।

‘जसले प्रश्न उठाएको छ । जसको इतिहास, विचार राजनीतिक मुद्दा, संघर्ष र संस्कार देख्दिनँ । प्रश्न उठाउने कोसिस भएको छ । त्यो राष्ट्र जनता लोकतन्त्र र शान्तिको हितमा उठेको देख्दिनँ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो अराजकता सृष्टि गर्ने उद्देश्यको साथ उठेको लाग्छ ।’

पुराना दल र नेताले जवाफ दिने समय आउँदै गरेको बताउँदै उनले समय आएपछि सबैले थाहा पाउने बताए । उनले भने, ‘तपाईँहरूले हेर्नुभयो भने यो बीचमा मेरो दौडधुप छिट्टै प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिएर त्यसको जवाफ दिने हिसाबले तयारी भइरहेको छ । समय आएपछि तपाईँहरूले थाहा पाउनुहुन्छ । पुराना दल र नेताले जवाफ दिने समय आउँदैछ ।’

उनले आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेदेखि नै दलहरूबीच सहमति र समझदारीको प्रयास गर्दै आएको बताउँदै भने, ‘हिजो प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँगको भेट पनि त्यसैको कडी हो ।’

बीपीले सुरु गरेको चियापानको संस्कृतिले दलहरुप्रति आपसी एकतालाई अभिप्रेरित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले देशको राजनीतिलाई स्थिरतातर्फ लैजाने, सहमति र सहकार्यको बाटोमा लैजान मद्दत गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्