काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा आज बिहान नेपाल आएका महासचिव गुटेरेससँगको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण हिमाली देश नेपालले भोग्नुपरेका समस्या र समाधानको उपाय, जारी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने र राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा नेपालको योगदान र जिम्मेवारीलगायत समसामयिक विषयमा राष्ट्रसङ्घीय उच्च प्रतिनिधिमण्डलको ध्यानाकर्षण गरे ।

उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोग्नुपरेका यसका नकारात्मक परिणामबारे गम्भीर हुन अनुरोध गरे ।
उनले जलवायु परिवर्तनको असर घटाउन जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरूलाई आफ्ना दायित्व पूरा गर्नेतर्फ आवश्यक पहलकदमी लिन राष्ट्रसङ्घ प्रतिनिधि मण्डलसमक्ष आग्रह गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
‘राष्ट्रपति पौडेलले ‘जलवायु परिवर्तनका कारण हामी होइनौं, अरूले अधिक कार्बन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौँ, यस्तो अवस्थामा राष्ट्रसङ्घले वातावरण बिगार्नेहरुलाई उनीहरुको दायित्व पूरा गर्न झक्झक्याउनुपर्छ, जलवायु परिवर्तनका दुष्प्रभाव हामीले ब्यहो¥यौँ, अब सारा विश्व र मानवजातिले नै ब्यहोर्नुपर्ने हुन्छ, त्यसैले हामी सबैले त्यसविरुद्ध संयुक्त प्रयास गरौँ । त्यसको नेतृत्व राष्ट्रसङ्घले लिनुपर्छ’, राष्ट्रपति पौडेललाई उद्धरण गर्दै सल्लाहकार पोखरेलले बताए ।
भेटका क्रममा सगरमाथा क्षेत्र, अन्नपूर्ण आधारशिविरजस्ता स्थलको भ्रमण स्वयम् महासचिवले गरेका भएकाले सेता हिमाल कसरी काला हुँदैछन्, अतिवृष्टि र अनावृष्टिका कारण परेको प्रभाव आफैँ महसुस गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले बृहत् शान्ति सम्झौताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेतर्फ सरकार अघि बढेको बताए ।
अहिलेको जटिल विश्व राजनीतिक परिवेशमा राष्ट्रसङ्घको भूमिका अझ बढेको उल्लेख गर्दै राष्ट्रपतिले राष्ट्रसङ्घीय शान्ति ‘मिसन’को नेपाल दोस्रो ठूलो योगदानकर्ता भएको स्मरण गराउँदै शान्ति सेनामा मार्फत नेपालले गरेको योगदानका निम्ति शान्ति सेना नेपाललाई नेतृत्व तहको जिम्मेवारी उपलब्ध गराउन महासचिव गुटेरेससँग अनुरोध गरेका थिए ।
महासचिव गुटेरेसले हरित गृह ग्यास उत्सर्जनमा नेपालको कुनै भूमिका नभए पनि नेपालले सबैभन्दा बढी यसको असर भोग्नु परिरहेको उल्लेख गर्दै जलवायुसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ प्रसङ्ग उठाउँदै जलवायु परिवर्तनका नकारात्मक असरबारे विश्वलाई सन्देश प्रवाह गर्न आफू नेपाल भ्रमणमा आएको बताए ।
आफ्नो नेपाल भ्रमण तीन ‘एजेण्डा’मा केन्द्रित रहेको जानकारी दिँदै महासचिव गुटरेसले नेपालको सफल शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र विश्व अस्थिरताको कारक बनेको असमानताको न्यूनीकरणका लागि विश्वलाई सन्देश दिन नेपाल उपयुक्त ठाउँ भएकाले यहाँ आएको बताए ।
राष्ट्रपति पौडेलले शान्ति सम्झौताको मस्यौदा तयार गरेको स्मरण गर्दै महासचिवले राष्ट्रपति पौडेलकै कार्यकालमा त्यसका बाँकी काम पूरा हुने विश्वास व्यक्त गरे ।
त्यस अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, राष्ट्रपति कार्यालयका सल्लाहकार तथा पदाधिकारी तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।














